सुबिनको आफ्नै सुर

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली गीत–संगीत यतिवेला ‘भाइरल’को भिडमा हराएको छ । सामाजिक सञ्जालको ‘रिल्स’ हेरेर गीत संगीत सिर्जना गरिरहेको पाइन्छ । तर, यही भिडबाट केही पर उभिएका छन्, गायक, संगीतकार, गीतकार, एरेन्जर र अभिनेता सुबिन सेन्चुरी । उनी चर्चाभन्दा सिर्जनामा विश्वास गर्छन् । उनका लागि संगीत क्षणिक लोकप्रियताको माध्यम होइन, जीवनभरको साधना हो । यही विश्वासको पछिल्लो अभिव्यक्ति हो, हालै सार्वजनिक भएको सांगीतिक चलचित्र ‘निरमाया’ । यस चलचित्रले अधुरो प्रेम, सम्झना, त्याग र मनभित्र लुकेका भावनालाई संगीतको माध्यमबाट प्रस्तुत गर्छ ।

स्याङ्जाको गाउँमा हुर्किएका सुबिनका लागि संगीत कुनै पाठ्यपुस्तकबाट सिकेको ज्ञान थिएन । गाउँको सामाजिक जीवन नै संगीतले भरिएको थियो । विवाहमा गीत, मेलापातमा दोहोरी, मृत्यु संस्कारमा समेत लोकभाका गुञ्जिने संस्कृतिले उनलाई सानैदेखि संगीतसँग जोड्यो । गाउँको त्यो सामूहिक सांगीतिक वातावरणले उनको मनमा सिर्जनाको पहिलो बिउ रोपिदियो ।

बाल्यकालका ती स्मृति आज पनि उनको मनमा ताजा छन् । बुबाले घरमा ल्याएको क्यासेट प्लेयर, बजिरहने लोकगीत, दाजुभाइसँग नाच्ने रमाइलो, पानी लिन जाँदा गाग्रीलाई तालवाद्य बनाएर बजाउने बानी यिनै अनुभवले उनीभित्र संगीतप्रतिको मोह गहिरिँदै गयो । ‘संगीतको एउटा बिउ त्यसरी नै मेरो मनभित्र उम्रिएको रहेछ,’ उनी सम्झिन्छन् ।

सुरुमा उनी दोहोरी गीतकै संसारमा रमाए । राजु परियारका गीत सुन्दै हुर्किएका उनी पछि अध्ययनका क्रममा बुटवल पुगे । त्यहाँ आधुनिक गीत, चलचित्र संगीत र विभिन्न शैलीका सिर्जनासँग परिचित भए । त्यसपछि नारायण गोपाल, रामकृष्ण ढकाल, भक्तराज आचार्यलगायत गायकका गीत सुन्दै संगीतलाई केवल मनोरञ्जन नभई साधनाका रूपमा बुझ्न थाले । यही बुझाइले उनलाई क्लासिकल (शास्त्रीय) संगीततर्फ डोर्यायो ।

पोखरामा गुरुकुलमा संगीत सिक्दै उनले शास्त्रीय गायनमा तीन वर्ष अभ्यास गरे । झन्डै १२ वर्षअघिको कुरा हो । उनले पोखरामा अग्रज संगीतकारको सहयोगमा ‘रहर होइन’ भन्ने बोलको गीत रेकर्ड गराए । त्यो गीतमा आफैँले अभिनय गरे, पोखरामै छायांकन भयो । गीत बजारमा आएपछि धेरैले मन पराए । उनीलाई संगीतकर्ममा लागिरहन प्रेरणा मिल्यो । त्यसअघि संगीत उनको रहर थियो, त्यसपछि जीवनको बाटो बन्यो ।

त्यसपछि काठमाडौं आएर नेपाल म्युजिक स्कुलमा भर्ना भए । उनले त्यहाँ गायन, संगीत सिद्धान्त, गिटार, पियानो, कम्पोजिसन र एरेन्ज सिके । नेपाल म्युजिक स्कुलमा अध्ययनसँगै उनले संगीतलाई व्यावसायिक रूपमा मात्र होइन, प्राविधिक र सिर्जनात्मक रूपमा पनि आत्मसात् गरे ।

उनको सांगीतिक यात्राको अर्को महत्वपूर्ण मोड थियो– आफ्नो सिर्जना आफैँ निर्माण गर्ने निर्णय । पहिलो गीतमा अरूले शब्द, संगीत र एरेन्ज गरिदिएका थिए । तर, दोस्रो गीतदेखि उनले आफैँ शब्द लेख्ने र त्यसमा सुर भर्ने गर्न थाले । ‘चैत्र मास’ म्युजिक फिल्म र ‘गुरुमन्त्र’जस्ता गीत त्यसैको परिणाम बने । बिस्तारै गायनसँगै शब्द, संगीत र एरेन्जमेन्टमा पनि आफ्नो छुट्टै पहिचान बनाउन थाले । उनले ‘समय र उमेर’, ‘यात्रा’ जस्ता डेढ दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । 

सुबिनका लागि कलाकार हुनु भनेको एउटा मात्रै विधामा सीमित हुनु होइन । उनी गायक हुन्, गीत पनि लेख्छन् । संगीत रचना गर्छन्, एरेन्ज गर्छन्, म्युजिक भिडियोमा अभिनय पनि गर्छन् । उनी भन्छन्, ‘एउटा गीतलाई पूर्ण रूपमा बुझ्न त्यसका सबै पक्षको ज्ञान आवश्यक हुन्छ । यही सोचले सबैतिर सिक्ने कोसिस गरेँ ।’

मिहिनेतले उनलाई नेपाली चलचित्र क्षेत्रमा पनि पुर्यायो । चलचित्र ‘बुलाकी’मा संगीत संयोजनदेखि एरेन्ज, मिक्सिङ र मास्टरिङसम्मको जिम्मेवारी सम्हाले । त्यस्तै ‘ज्वाइँ साब’लगायतका चलचित्रमा पनि काम गरे । अहिले ‘महाराजधिराज’ जस्ता ठुला परियोजनामा उनी सक्रिय छन् ।

झन्डै १५ वर्ष लामो यात्रापछि 
संगीतलाई हेर्ने उनको दृष्टि पनि फेरिएको छ । उनको बुझाइमा संगीत जति सिक्दै गयो, उति विद्यार्थीजस्तो अनुभूति हुने रहेछ । उनी स्विकार्छन्, ‘सुरुमा गीत सुन्दा भावुक हुन्थे, आफ्नै स्वर सुनेर दंग पर्थे । अहिले चाहिँ गीत सुन्दा त्यसको संरचना, धुन, संयोजन र निर्माण प्रक्रियातर्फ ध्यान जान्छ । पहिलेको जस्तो शुद्ध श्रोता भएर संगीतको आनन्द लिन अहिले गाह्रो हुने रहेछ ।’

आजको संगीत उद्योगप्रति भने उनी चिन्तित देखिन्छन् । उनका अनुसार अहिले धेरै सिर्जना भाइरलको पछि लागेका छन् । छिटो चर्चामा आउने हतारले मिहिनेत, साधना र समयको मूल्य घटाएको छ । एउटा गीतमा महिनौँ वा वर्षौं लगाउनुपर्ने ठाउँमा अहिले छिटो परिणाम खोज्ने प्रवृत्ति बढेको उनको अनुभव छ । 

कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई पनि उनी यही सन्दर्भमा गम्भीर रूपमा लिन्छन् । प्रविधि आफैँमा समस्या नभए पनि मिहिनेत नगरी छोटो बाटो खोज्ने प्रवृत्ति बढेकोमा उनी चिन्ता व्यक्त गर्छन् । उनका अनुसार राम्रो गीत सिर्जना हुन समय, अध्ययन, अनुभव र संवेदनशीलता चाहिन्छ । यी कुरा कुनै पनि प्रविधिले पूर्ण रूपमा प्रतिस्थापन गर्न नसक्ने उनको तर्क छ । गुणस्तरीय सिर्जनाले आफ्नो ठाउँ बनाउने विश्वास उनी गर्छन् । यही विश्वासले उनी अझै पनि नयाँ गीत, नयाँ चलचित्र र नयाँ सांगीतिक यात्रामा व्यस्त छन् । शिव परियार, राजेश पायल राई, बादल थापा, अञ्जु पन्तलगायतको गीतमा उनले संगीत एरेन्ज गरिसकेका छन् । 

संगीतलाई लोकप्रियताभन्दा बढी इमानदार सिर्जनाको रूपमा लिन्छन् । त्यसैले, उनी भाइरल संस्कृतिको भिडमा आफ्नै लयमा बिस्तारै हिँडिरहेका छन् । उनी विश्वास गर्छन्, ‘साँचो संगीतको मूल्य ‘भ्युज’ले होइन, समयले तय गर्छ ।’
 

सुझावित समाचार