टप एन्ड टी–२० सिरिज : अस्ट्रेलियामा पहिलो खेलमै नेपाल पराजित

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण
  • टप एन्ड टी–२० सिरिजका लागि अस्ट्रेलियामा रहेको नेपाल ‘ए’ टिमको बलिङ तथा ब्याटिङ दुवैमा कमजोर प्रदर्शन

ब्याटिङ र बलिङमा कमजोर प्रदर्शनपछि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजको आफ्नो पहिलो खेलमै नेपाल पराजित भएको छ । शुक्रबार डार्विनमा भएको खेलमा नेपाल ‘ए’ टिम एनटी स्ट्राइकसँग आठ विकेटले पराजित भएको हो ।

कप्तान अनिलकुमार साहले टस हारेपछि नेपालले सुरुमा ब्याटिङको निम्तो पायो । २० ओभर नै खेले पनि नेपालले आठ विकेट गुमाएर मात्र एक सय २३ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा सामान्य लक्ष्य पाएको एनटीले १५ ओभरमा दुई विकेटको क्षतिमा जित निकाल्यो ।

अब, दोस्रो खेल शनिबार बंगलादेश ‘ए’ टिमसँग खेल्नेछ । तेस्रो खेल अगस्ट २४ (सोमबार)मा होबर्ट हुरिकान्सविरुद्ध हुनेछ । चौथो खेल अगस्ट २६ (बुधबार)मा एसिटी कोमेट्सविरुद्ध हुने तालिका छ । पाँचौँ खेल अगस्ट २७ (बिहीबार)मा किङ्सम्यानविरुद्ध हुनेछ भने अगस्ट २९ (शनिबार)मा नै भिक्टोरियाविरुद्ध हुने कार्यक्रम छ ।

गत संस्करण नेपालले रोहितकुमार पौडेलको कप्तानीमा प्रतियोगिता खेलेको थियो । आठौँ स्थान हासिल गर्ने क्रममा नेपालले ६ मध्ये दुई खेल मात्रै जितेको थियो । यसपटक सिनियर टिमले एसिसी प्रिमियर कप खेल्ने भएपछि नेपाल ‘ए’ टिम यो प्रतियोगितामा पुगेको हो । सन्दीप लामिछानेको कप्तानीमा सिनियर टिमले एसिया कप छनोट खेल्न लागेको हो ।

दोत्जीको अर्धशतक
एनटीको जितमा दोत्जी होगनबोजमले अविजित अर्धशतक बनाए । उनले ३७ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५० रन बनाए । जोर्डन सिल्क ४२ रनमा अविजित रहे । उनले २८ बलमा समान दुई चौका र छक्का हिर्काएका थिए । यसअघि नेपाल प्रिमियर लिग खेलिसकेका डार्सी सर्टले १८ बलमा २३ रन बनाएका थिए । ३६ वर्षीय ओपनरले पछिल्लोपटक लुम्बिनी लायन्सबाट एनपिएल खेलेका थिए । जागा कोदुरुले आठ रन जोडे । नेपालका लागि दुवै विकेट पवन सर्राफले लिएका थिए । पवनले तीन ओभरमा १३ रन खर्चिएका हुन् । यस्तै, तीन ओभर नै गरेका आकाश चन्द र कुशल भुर्तेलसँगै समान दुई ओभर बलिङ गरेका रिजन ढकाल, साहाव आलम र कुशल मल्ल विकेटविहीन भएका थिए ।

चल्न सकेन नेपालको ब्याटिङ
टस हारेर ब्याटिङ गरेको नेपालका लागि पवन सर्राफले ४९ बलमा सर्वाधिक ४१ रन बनाउनुबाहेक अन्य खेलाडीले ठुलो स्कोर बनाउनै सकेनन् । पाँचौँ नम्बर क्रिजमा आएका पवनले तीन चौका र एक छक्का हिर्काएका थिए । लोकेश बमले १६ तथा नारायण जोशीले १५ तथा कप्तान अनिलले १४ रनको योगदान गरे । यसअघि सिनियर टिमबाट ‘ए’ टिममा घटुवा भएका कुशल भुर्तेल यहाँ पनि चल्न सकेनन् । उनी पाँच बल खेलेपछि डक भए । प्रशिक्षक स्टुआर्ट लले सिनियर टिममा सोचेजस्तो नतिजा दिन नसकेपछि भुर्तेललाई घटुवा गराएका हुन् । 

तृतराज दासले पनि मात्र १३ रन बनाए । आशा गरिएका हिटर कुशल मल्ल पनि १५ बलमा नौ रन बनाउँदा रनआउट भएका थिए । ८.३ ओभरमा चार विकेट गुमाएर ४६ रन जोडेपछि नेपाल दबाबमा आएको थियो । यसपछि लोकेश र पवनले नेपालको सुधार गर्दै खेलेका थिए । तर, यो जोडी पनि जम्न नसकेपछि नेपालले लगातार विकेट गुमाएको थियो । 

रसिद खानले मात्र १० रन बनाए । नारायणले अन्तिममा पनि आठ बलमा १५ रनको योगदान गरेका थिए । एनटीका लागि हामिस मार्टिनले चार ओभरमा १९ रन दिएर तीन विकेट लिए । टम मेन्जिस, साम बार्कर, विलियम ब्लयेर र डार्सी सर्टले १–१ विकेट लिए ।

सुझावित समाचार