सिँचाइका राष्ट्रिय गौरवका आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

सरकारले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको कार्यान्वयनमा नयाँ गति दिने गरी समयसीमा पुनरवलोकन गर्दै पाँच वर्षभित्र सबै आयोजना सम्पन्न गर्ने लक्ष्य अघि सारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार समयसीमा पुनरवलोकन गरी स्पष्ट कार्ययोजनाका साथ अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गौरवका आयोजनालाई निर्धारित समयभित्र सम्पन्न गर्न नतिजामुखी अनुगमन, अन्तरनिकाय समन्वय र जिम्मेवारी स्पष्ट गर्ने प्रणाली विकास गरिने मन्त्री श्रेष्ठले बताए । भेरी–बबई बहुउद्देश्यीय, बबई र सिक्टा सिँचाइ आयोजनालाई भने आगामी तीन सुक्खा मौसमभित्र सम्पन्न गर्ने गरी काम अघि बढाउन उनले निर्देशन दिए । सिँचाइ आयोजनालाई कृषि उत्पादन र औद्योगिक विकाससँग जोडेर आर्थिक वृद्धिको आधार बनाउने नीति मन्त्रालयले अघि सारेको छ ।

मन्त्रालयका योजना महाशाखा प्रमुख तथा सहसचिव मोहनकुमार शाक्यका अनुसार राष्ट्रिय गौरवका ६ वटा सिँचाइ तथा जलस्रोत आयोजनामध्ये अधिकांशलाई आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी कार्ययोजना तयार गरिएको छ । मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन ‘सेतु’ (सिँचाइ कार्यान्वयन तथा अनुगमन इकाइ) स्थापना गर्ने भएको छ । आयोजनास्थल र मन्त्रालयबिच समन्वयको पुलका रूपमा काम गर्ने उक्त इकाइले आयोजनाको प्रगति, समस्या र समाधानका विषयमा नियमित अनुगमन गर्नेछ ।

प्रमुख निर्माणस्थलमा सिसिटिभी जडान गरी मन्त्रालयबाटै प्रत्यक्ष दृश्य हेर्न सकिने व्यवस्था मिलाइनेछ । आयोजनाको भौतिक तथा वित्तीय प्रगति, ठेक्का प्याकेज, जग्गा प्राप्ति, वन स्वीकृति र भुक्तानीलगायत विवरणलाई एकीकृत ड्यासबोर्डमा राखिनेछ । प्रगति निर्धारित सीमाभन्दा तल गएमा तत्काल समीक्षा गर्ने पूर्वसूचना प्रणालीसमेत विकास गरिने मन्त्रालयले जनाएको छ ।

कुन आयोजनाको प्रगति कति ?

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको लागत अनुमान ६१ अर्ब ६५ करोड रुपैयाँ रहेकोमा हालसम्म करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ । आयोजनाको वित्तीय प्रगति २७.३ र भौतिक प्रगति ३२ प्रतिशत छ । हालै करिब २४ अर्ब रुपैयाँको ठेक्का पुनः बोलपत्रमा गएको छ । आयोजनाबाट करिब एक लाख २२ हजार हेक्टर कमान्ड क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।

त्यस्तै, भेरी–बबई बहुउद्देश्यीय आयोजनाको लागत करिब ३३ अर्ब २० करोड रुपैयाँ छ । हालसम्म १९ अर्ब ३० करोड रुपैयाँ खर्च भइसकेको छ । वित्तीय प्रगति ५८.६ र भौतिक प्रगति ६६.४ प्रतिशत पुगेको छ । निर्माणको गति बढाएर दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सिक्टा सिँचाइ आयोजनाबाट ४२ हजार सात सय हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेकामा हाल करिब २५ हजार हेक्टरमा सुविधा पुगेको छ । करिब ५२ अर्ब ८९ करोड रुपैयाँ लागत रहेको आयोजनाको वित्तीय प्रगति ४४ र भौतिक प्रगति ५१ प्रतिशत छ । ‘डिस्पर्सिभ स्वाइल’का कारण देखिएको प्राविधिक समस्या समाधान गरी पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।

यसैगरी, रानी जमरा–कुलरिया सिँचाइ आयोजनाबाट ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । हाल १३ हजार दुई सय हेक्टरमा सिँचाइ पुगेको छ भने ४.७ मेगावाट विद्युत्समेत उत्पादन भइरहेको छ । करिब ३० अर्ब रुपैयाँ लागतको आयोजनाको वित्तीय प्रगति ७३ र भौतिक प्रगति ७५ प्रतिशत छ । साथै, विश्व बैंकको सहयोगमा थप १३७ मिलियन डलरबराबरको नहर विस्तार गरी १८ हजार हेक्टर सिञ्चित क्षेत्र विकासको कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी अगाडि बढेको छ । 

बबई सिँचाइ आयोजनाबाट ३६ हजार हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य रहेकामा हाल २८ हजार आठ सय हेक्टरमा सुविधा पुगेको छ । २६ अर्ब ६९ करोड रुपैयाँ लागत रहेको आयोजनामा १८ अर्ब २१ करोड रुपैयाँ खर्च भइसकेको छ । वित्तीय प्रगति ६८.२३ र भौतिक प्रगति ८१.९७ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

महाकाली सिँचाइ आयोजनाबाट ३३ हजार पाँच सय हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य रहे पनि हाल करिब पाँच हजार एक सय ५५ हेक्टरमा मात्र सुविधा पुगेको छ । करिब ३७ अर्ब रुपैयाँ लागत अनुमान रहेको आयोजनामा हालसम्म १० अर्ब ७४ करोड रुपैयाँ खर्च भएको छ । वित्तीय प्रगति ३०.६८ र भौतिक प्रगति करिब ३१ प्रतिशत छ । जग्गा प्राप्ति तथा महाकाली सन्धिअनुसार भारतबाट प्राप्त हुने पानीको अनिश्चितता प्रमुख चुनौती रहेको छ । आयोजना आर्थिक वर्ष ०९१/९२ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

See More On

सुझावित समाचार