कांग्रेस सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई निकटस्थहरूबाट सतर्क रहन आग्रह गरेका छन् । देउवालाई सही सल्लाह दिनुभन्दा आफ्नै स्वार्थअनुसार प्रभावित गर्नेहरू हाबी भएको उनको आरोप छ । ‘देउवा दाइ सभापतिको नेमप्लेट राखिदिएका छन्, त्यसमा मेरो केही गुनासो छ । जसले वरिपरि बसेर धूप बाले, ती तपाईंलाई आफ्ना लागे । ती आफ्नैले तपाईंलाई डुबाए दाइ, फेरि डुबाउँछन् । मेरो चिन्ता यही हो,’ थापाले भने ।
१५औँ महाधिवेशनमा देउवालाई सम्मानका साथ बिदाइ गर्न चाहेको उनले बताए । कार्यकारी भूमिकाभन्दा माथि उठेर देउवालाई अभिभावकीय भूमिकामा देख्न चाहेको थापाको भनाइ छ । ‘हामी चाहन्छौँ– १५औँ महाधिवेशनमा शेरबहादुर देउवालाई निवर्तमान सभापतिका रूपमा विशेष अतिथिका रूपमा सम्मान गर्न पाइयोस्,’ उनले भने ।
विशेष महाधिवेशनकै दिन बिहान आफू र महामन्त्री विश्वप्रकाश शर्मा देउवालाई भेट्न गएको स्मरण गर्दै थापाले त्यसवेला पनि देउवालाई गलत सूचना दिइएको दाबी गरे । ‘त्यस दिन बिहानै म र विश्वप्रकाश शर्मा पुगेका थियौँ । हामी केही कुरा भन्न चाहन्थ्यौँ । तर, त्यो दिन पनि ‘सबै मिलिसक्यो दाइ, यी दुई केटालाई ठोके हुन्छ’ भनिदिए । भएन, फेरि ढाँटे,’ थापाले भने, ‘दाइ, तपाईंलाई टिकट नदिए म चुनाव लड्दिनँ’ भनेर कोही आएन । मेरो दाइलाई टिकट नदिए म लड्दिनँ भन्न कोही आएन । धमाधम टिकट लिएर जानुभयो, लड्नुभयो अनि ‘दाइ तपाईं नहुनाले’ भन्दै छन् । ढाँटे दाइ ।’
अहिले पनि केही नेताले देउवालाई ढाँटिरहेको भन्दै थापाले सचेत रहन आग्रह गरे । देउवालाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न खोजिएको उनको आरोप छ । ‘अहिले जसले नेमप्लेट टाँसिरहेका छन्, उनीहरू कसैले पनि देउवाका लागि केही गर्नुपर्छ भनेर मलाई भनेनन् । हामीलाई मिलाए पुग्छ,’ भने । अहिले ‘तपाईं सभापति नभईकन हुँदैन’ भनेछन्, फेरि ढाँटे दाइ,’ थापाले भने, ‘एक–दुई कुरा तपाईंले बोलिदिनुभयो भने सबै कुरा मिल्छ, अदालत पनि मिलाइसक्यौँ, एक–दुई विषय एकचोटि होइन, तीनचोटि बोलेपछि मिल्छ भनेर तपाईंलाई भनिदिए । दाइ, ढाँटे दाइ । तपाईंप्रति मेरो सम्मान छ, पूर्वसभापति हुनुहुन्छ ।’