अस्ट्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित

२३ वर्षपछि अस्ट्रेलियन भूमिमा टेस्ट खेलेको बंगलादेश नौ विकेटले विजयी

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

पाहुना टोली बंगलादेशले अस्ट्रेलियालाई पहिलोपटक टेस्ट क्रिकेटमा नौ विकेटले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको छ । २३ वर्षपछि अस्ट्रेलियन भूमिमा टेस्ट खेलेको बंगलादेशले दोस्रो इनिङ्समा सामान्य ५७ रनको लक्ष्य पाएको थियो । बंगलादेशले १४.२ ओभरमा एक विकेट गुमाएर ऐतिहासिक जित हात पारेको हो । हकले विजयी रन बटुलेपछि बंगलादेशी खेलाडी, समर्थक र अफिसियलले खुसी मनाए । 

बंगलादेशको जितमा मेहदी हसन मिराजले दोस्रो इनिङमा पाँच विकेट लिँदै निर्णायक भूमिका निर्वाह गरेका थिए । बंगलादेशले अस्ट्रेलियामा आफ्नो पहिलो टेस्ट जित मात्र निकाले, शीर्ष वरीयताको टोलीविरुद्ध घरेलु मैदानबाहिर स्मरणीय जितसमेत दर्ता गर्यो । बंगलादेशका लागि अस्ट्रेलियाविरुद्ध टेस्ट क्रिकेटमा विशेष उपलब्धि बनेको छ । यसअघि अस्ट्रेलियासँग खेलेका टेस्टमध्ये बंगलादेशले घरेलु मैदानमा मात्र जित निकालेको थियो ।

पहिलोपटक अस्ट्रेलियन मैदानमा जित निकाल्न सफल भएको हो । दुई टोलीबिचको यो शृंखला विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गतको हो । पहिलो टेस्टमा ऐतिहासिक जित निकालेसँगै बंगलादेशले दोस्रो टेस्टअघि आत्मविश्वाससमेत बलियो बनाएको छ । दोस्रो टेस्ट २२ अगस्टदेखि म्याकेमा सुरु हुनेछ ।

५७ रनको लक्ष्य
अस्ट्रेलियाले दोस्रो इनिङ्समा ९५.१ ओभरमा सबै विकेट गुमाएर २८४ रनको योगफल खडा गरेको थियो । पाहुना टोलीले ऐतिहासिक सफलता चुम्न स्कोर बोर्डमा ५७ रनको लक्ष्य पायो । ओपनर सदमान इस्लामले ४२ बलमा चार चौकाको सहयोगमा २५ रन बनाए । मोमिनुल हकले ३९ बल खेलेर ३० रनको योगदान दिए । ओपनर तान्जिद हसन शून्यमा आउट भए । अस्ट्रेलियाका लागि जोस हेजलउडले एक विकेट लिए । 

अस्ट्रेलियाको दोस्रो इनिङ्स धराशयी बनाउन बंगलादेशका स्पिनर मेहदी हसनले ३३.१ ओभरमा ६६ रन खर्चेका थिए । उनले आफ्नो स्पेलमा ६ मेडन ओभरसमेत फ्याँकेका थिए । यसैगरी हसन महमुदले १९ ओभरमा तीन मेडन राखी ५६ रन खर्चेर तीन विकेट हात पारे । अस्ट्रेलियाले पहिलो इनिङमा १९८ रन बनाएको थियो ।

बंगलादेशले प्रत्युत्तरमा ४२६ रन जोड्दै २२८ रनको अग्रता लिएको थियो । पहिलो इनिङमा बंगलादेशका तान्जिद हसनले १०१ रनको शतकीय इनिङ्स खेलेका थिए । उनी अस्ट्रेलियाको भूमिमा टेस्ट शतक बनाउने पहिलो बंगलादेशी ब्याट्सम्यान बने । नजमुल हुसैन सान्तोले ८४ तथा मेहदीले ६५ रन बनाएपछि बंगलादेशले पहिलो इनिङ्समा बलियो स्कोर खडा गरेको थियो ।

क्यामरुनको शतकीय इनिङ्स
डार्बिनमा पहिलो टेस्ट सुरु हुनुअघि अभ्यास खेलमा बंगलादेश ५४ रनमा अलआउट भएको थियो । अस्ट्रेलियाले घरेलु टेस्ट सिरिजमा सहजै पाहुना टोलीलाई हराउने अनुमान थियो । तर, टेस्टको पहिलो दिनदेखि नै बंगलादेशले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्यो । बंगलादेशी बलरले विश्वकै शक्तिशाली मानिएको अस्ट्रेलियालीको ब्याटिङमा दुवै इनिङ्समा तीन सय रनभन्दा कम योगफलमा रोक्न रोक्न सफल भए । दोस्रो इनिङ्समा अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले शतकीय योगदान दिएका थिए । उनले २०१ बल खेलेर १०४ रन बनाए । 

यसक्रममा उनले चार चौका र एक छक्का प्रहार गरे । दोस्रो इनिङ्समा पूर्वकप्तान स्टेभन स्मिथले ४४ र एलेक्स क्यारीले ३० रन जोडेका थिए । बंगलादेशका हसन महमुदले दुवै इनिङ्समा गरी नौ विकेट लिए । उनले पहिलो इनिङ्समा ६ र दोस्रोमा तीन विकेट लिँदा अस्ट्रेलिया कमजोर देखियो ।

सुझावित समाचार