जेन–जी आन्दोलनबाट सत्ताच्युत, चुनावी धक्का र पार्टीभित्रैबाट उठेका प्रश्नसँगै केही समय रक्षात्मक देखिएका एमाले अध्यक्ष केपी ओली फेरि आफ्नो पुरानै शैलीमा फर्किएका छन् । नेतृत्वविरुद्ध उठिरहेका आवाजलाई सम्बोधन गर्नुको साटो ओली आक्रामक ढंगले प्रतिवादमा उत्रन थालेका छन् । ओलीको बदलिएको शैलीले एमालेमा दबिएको असन्तुष्टि फेरि सतहमा मात्र आएको छैन, नयाँ तरंग पनि पैदा गरेको छ ।
नेतृत्वको राजीनामा तथा पार्टी पुनर्गठनको माग गर्नेहरूलाई ओलीले शनिबार ‘आवारा’को संज्ञा दिएपछि त्यसले थप भाँडभैलो मच्चाउने संकेत दिएको छ । ओलीको अभिव्यक्तिको विरोध गर्दै इतरपक्षका कतिपय नेता–कार्यकर्ताले ओलीको अभिव्यक्तिको खण्डन गर्दै चुनौती दिएका छन् । पार्टीमा लामो समयदेखि अवसर र भूमिका लिएकाहरूले नै संस्थागत विधि र पद्धतिबाहिर गएर सामाजिक सञ्जाल र कमिटीबाहिर अध्यक्ष हटाउन हस्ताक्षर अभियानसम्म चलाउन खोजेकोमा ओली आक्रोशित छन् । ओलीले शनिबार गृहजिल्ला झापाबाट त्यस्ता नेता–कार्यकर्तालाई आवाराको संज्ञा दिएका थिए ।
पार्टी पुनर्जागरण र पुनर्गठन अभियानका लागि हिँडिरहेका रमेश पौडेल, गजेन्द्र थपलिया, केही नेता–कार्यकर्ताले पार्टी कार्यालय च्यासलस्थित क्यान्टिनमा चिया खाइरहेकै फोटो पनि सामाजिक सञ्जालमा सेयर गरी व्यंग्य गरेका छन् । पहिले सामाजिक सञ्जालमा ‘१२ बजे आवाराहरू चिया खान क्यान्टिनमा भेटौँ’ भन्दै निमन्त्रणापत्र सेयर गरेका थपलियाले नौजनाले चिया खाँदै गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर सांकेतिक रूपमा विरोध जनाए । दुई दशकदेखि ओलीसँग निकट रहेका थपलिया नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष पनि हुन् । उनी ओली प्रधानमन्त्री रहँदा विकास उनकै सल्लाहकार टिममा दुईपटकसम्म सदस्यका रूपमा सल्लाहकार बनेका थिए ।
‘पार्टीमा अनुशासनहीनता र अराजकता बढेको छ । पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा गर्छन् । अध्यक्ष हटाउने कुरा ठट्टा हो ?’ प्रश्न गर्दै ओलीले भनेका थिए, ‘पार्टी सदस्य छ कि छैन ? उरन्ठेउलाहरू भेला भएका छन् । चिया खाएको छ, अध्यक्ष हटाउने हो, कहिले हटाउने हो, छिटो हटाउन भनेका छन् ।’
अखिलकी पूर्वअध्यक्ष नवीना लामाले ओलीले बोलेका शब्दले कार्यकर्ताको अपमान भएको भन्दै आपत्ति जनाएकी छन् । ’पार्टीमा बसेका कार्यकर्तालाई ‘आवारा’ जस्ता अपमानजनक शब्द प्रयोग गर्नु उचित होइन । अध्यक्षज्यू, बोल्ने अधिकार सबैलाई छ, तर जिम्मेवार पदमा बसेका व्यक्तिको बोली पनि त्यत्तिकै मर्यादित, संयमित र सम्मानजनक हुनुपर्छ’, उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘असहमति हुन सक्छ, तर अपमान गरेर होइन, सम्मानपूर्वक बहस गरेर समाधान खोज्नु नै लोकतान्त्रिक संस्कार हो ।’
ओलीले शनिबार आफूलाई हटाएर पार्टी पुनर्गठन गर्ने भन्दै दबाब सिर्जना गर्न खोजेका थपलियालगायत अभियानमा सामेल केही नेता–कार्यकर्ता लाई लक्षित गर्दै भनेका थिए । केही दिनअघि मात्र उनै थपलियासहित केही नेता–कार्यकर्ताले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीलाई भेटेर केन्द्रीय कमिटी बैठक बोलाउन ध्यानाकर्षणपत्र बुझाएका थिए । उनले ती सबै गतिविधि सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका थिए । तिनै गतिविधिलक्षित ओलीको पछिल्लो टिप्पणी आएको थियो ।
भर्खरै महाधिवेशन भएको र सबै कुरा पार्टीभित्र, कमिटीभित्र मात्र हुने भन्दै ओलीले चेतावनीयुक्त भाषामा भनेका थिए, ‘कति वेला के गर्ने भन्ने पार्टीको विधि, प्रक्रिया र समय हुन्छ । अस्ति भर्खर पार्टीको महाधिवेशन भएको छ । केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासन र एकताका साथ अघि बढाइनेछ । पार्टीमा बस्ने हो भने पार्टीको नीति, विधि र अनुशासन पालना गर्नुपर्छ ।’
ओलीको पछिल्लो अभिव्यक्तिको नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, पूर्वकेन्द्रीय सदस्य झपट रावललगायतले विरोध गरेका छन् । ‘पार्टीभित्र आलोचना गर्ने सबैलाई ‘आवारा’, ‘हल्ला गर्ने समूह’ वा अवसरवादी र पार्टीविरोधी रूपमा चित्रित गर्ने प्रवृत्तिले समस्या समाधान गर्दैन,’ पोखरेलले भने, ‘यसले संगठनभित्र बढिरहेको निराशा र आलोचनात्मक चेतनालाई बुझ्न अस्वीकार गरेको सन्देश दिन्छ । लोकतान्त्रिक पार्टीको शक्ति आलोचनालाई दबाउनुमा होइन, आलोचनाको कारण पहिचान गरेर त्यसबाट सुधारको बाटो खोज्नुमा हुन्छ ।’
उनले पुनर्गठनको माग केन्द्रीय सचिवालयमै भएको र संस्थागत निर्णयको आधारमा कार्यदल बनाएर प्रतिवेदन नै तयार हुने क्रममा रहेको अवस्थामा पुनर्गठन माग गर्ने, कार्यदल प्रतिवेदन सार्वजनिक गर्न माग गर्नेहरू कसरी आवारा हुन्छन् भन्दै प्रतिप्रश्नसमेत गरे । ‘पुनर्गठनको प्रक्रिया पार्टीले आफैँ सुरु गरेको हो । पुनर्गठनको माग गर्ने र कार्यदलको प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने पार्टी–नेता तथा सदस्यलाई पार्टीविरोधी वा ‘आवारा’ स्वयं अध्यक्षले कसरी भन्न सक्नुहुन्छ ?’ पोखरेलको प्रश्न छ ।
त्यस्तै, पूर्वकेन्द्रीय सदस्य झपट रावलले विचार र नीतिको बहस गर्ने कार्यकर्ता आवारा हुन् भने तिनलाई नेतृत्व दिने संस्था र चौतारीलाई के भन्ने भन्दै प्रश्न गरेका छन् । नेतृत्व परिवर्तनको माग पनि आफूले उठाउँदा ठिक र अरूले उठाउँदा अराजकता ठहर्याउनु दोहोरो मापदण्ड भएको पनि उनको टिप्पणी छ । ‘पार्टीमा नेतृत्व रूपान्तरण र हस्तान्तरणको माग गर्नेहरूलाई सोझै ‘अराजक’ देख्नु कुन माक्र्सवादी सिद्धान्तभित्र पर्छ ? हिजो आफूभन्दा अगाडिको नेतृत्व परिवर्तनको माग र संघर्ष नगरीकन तपाईं आजको सर्वोच्च ठाउँमा पुग्नुभएको हो र ? हिजो आफूले गर्दा ‘न्यायोचित क्रान्ति’ हुने, तर आज अरूले उही माग दोहोर्याउँदा ‘अराजकता’ ठहरिने यो कस्तो दोहोरो मापदण्ड हो ?’ रावलले भनेका छन् ।
यसैबिच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको शक्ति आफ्ना कुरा स्थापित गर्ने मात्र नभएर फरक विचारलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्ने संस्कारमा हुने बताएकी छिन् ।
शंकर पोखरेल भन्छन्– नेताहरूको छुद्र भाषाले वामपन्थी जनमत भड्कायो नेकपा कालभित्रको अन्तर्संघर्ष र त्यसक्रममा नेताहरूले एकले अर्कालाई आलोचना गर्न प्रयोग गरेका छुद्र भाषाहरू नै वामपन्थी जनमतलाई भड्काउने विषय बन्यो । मिल्दा अत्यन्त मित्रताको भाषा बोल्ने र विवाद हुन थालेपछि हदैसम्मको शत्रुतापूर्ण भाषा प्रयोग गर्ने समस्या छ । भाषा यस्तो चिज हो जसलाई तपाईंले सही ढंगले प्रयोग गर्न सक्नुहुन्न भने तपाईंले गरेको विरोध र असहमति पनि रचनात्मक हुन सक्दैन ।
(समाजवाद अध्ययन केन्द्रले आइतबार आयोजना गरेको कार्यक्रममा)