- सर्पदंश यति भयावह छ कि गत वैशाखयता ९२४ जनालाई टोकेको सरकारी तथ्यांक छ, तर अस्पतालहरूमा एन्टिभेनम अभाव र उपचारमा ढिलाइले अकालमै ज्यान गुमाउँदै बिरामी
सर्पले डस्दा जतिसक्दो छिटो दिनुपर्ने एन्टिभेनम (प्रतिविष)को अस्पतालहरूमा चरम अभाव र उपचार प्रक्रियामा ढिलाइले अकालमै ज्यान गुमाउनेको तथ्यांक कहालीलाग्दो छ । गत वैशाखयता मात्रै ६५ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ९२४ जनालाई सर्पले डसेकोमा ६५ को मृत्यु भएको हो ।
सर्पदंशको मुख्य जोखिमको समय बर्खाभर एन्टिभेनमको हाहाकार भयो । बुधबारसम्म आइपुग्दा त देशभर दुई हजार एक सय भायल मात्रै थियो । बिहीबार आठ हजार दुई सय भायल ल्याएर स्वास्थ्य सेवा विभाग टेकुबाट प्रदेश स्वास्थ्य आपूर्ति निर्देशनालयमार्फत देशभर वितरण थालिएको छ । यो पनि पर्याप्त होइन । दिनमा तीन सय भायल खपत हुँदा पनि ३४ दिनलाई मात्रै पुग्छ । एन्टिभेनम अवस्थाअनुसार एउटै बिरामीलाई १० देखि २५ भायलसम्म दिनुपर्छ ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीले सरकारी तथ्यांकमा नअटेका सर्पदंशका घटना पनि धेरै हुन सक्ने बताए । ‘हामीले राखेको तथ्यांक सूचीकृत गरिएका अस्पतालहरूको मात्रै हो । त्यसैले बिरामी र मृतकको संख्या अझ धेरै हुन सक्छ,’ उनले भने, ‘यस वर्ष मात्रै होइन, पछिल्ला वर्षहरूमा सर्पदंश र त्यसबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । मृत्युवरण गर्नेहरू तराईमा बढी छन् । अस्पताल नजिक नहुनु, प्रतिविष (एन्टिभेनम) पर्याप्त नहुनु, अस्पतालबाहेकको उपचारमा लाग्नु र हेलचेक्र्याइँका कारणले मृत्यु हुने गरेको छ ।’
सर्पले डसेर सबैभन्दा बढी मृत्यु मधेशमा भएको तथ्यांकले देखाउँछ । मधेशमा चार महिनामा १२२ लाई टोक्दा २६ जनाको मृत्यु भएको छ । लुम्बिनीमा २४६ लाई टोक्दा १६ जनाको मृत्यु भयो । त्यस्तै, कोशीमा १०९ लाई टोक्दा ११ जनाको मृत्यु र सुदूरपश्चिममा १६७ लाई टोक्दा आठजनाको मृत्यु भएको छ । कर्णालीमा ४४ लाई टेक्दा ३ र बागमतीमा ३२ लाई टोक्दा एकजनाको ज्यान गएको छ । गण्डकीमा पनि ३७ जनालाई सर्पले टोकेको ताथ्यांक छ । मृतकमा धेरै बालबालिका रहेको प्राधिकरणले जनाएको छ ।
बर्सेनि बढ्दै छ सर्पदंशका घटना
सरकारी उपचार प्रणाली प्रभावकारी देखिएको छैन । तर, प्रत्येक वर्ष सर्पदंशका घटना भने बढिरहेको सरकारी तथ्यांकले नै देखाएको छ । अघिल्लो वर्ष १ वैशाख ०८२ देखि ३० चैतसम्म सर्पदंशबाट १०१ जनाको मृत्यु भएको छ । उक्त अवधिमा ६२९ जनालाई टोकेको थियो । त्यस्तै, १ वैशाख ०८१ देखि ३१ चैतसम्म ८४ जनालाई सर्पले टोक्दा १९ जनाको मृत्यु भएको थियो । त्यसअघि १ वैशाख ०८० देखि ३० चैतसम्म ३५ जनालाई टोकेकोमा २० जनाको ज्यान गएको सरकारी तथ्यांक छ । ०७९ मा १ वैशाखदेखि ३० चैतसम्म २४ जनालाई टोकेकोमा १९ जनाको ज्यान गएको थियो ।
१२ जिल्ला बढी जोखिममा
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १२ जिल्ला सर्पदंशको बढी जोखिममा छन् । कञ्चनपुर, पाल्पा, कैलाली, कपिलवस्तु, सिराहा, बाँके, मोरङ, नवलपरासी पूर्व, बर्दिया, अछाम, सुनसरी र सप्तरीमा सर्पदंशका घटना सबैभन्दा बढी हुने गरेका छन् । यी जिल्लामा सर्पदंशको एन्टिभेनम सहज गराउन प्राधिकरणले स्वास्थ्य मन्त्रालयलाई दुई महिनाअघि नै जानकारी गराएको थियो । तर, खोप अभावका गुनासा आइरहेका छन् ।
घटना बढ्न थालेपछि प्राधिकरणले सर्पदंश रोकथाम र नियन्त्रणसम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८३ तयार पारेको छ । उक्त कार्ययोजना स्वीकृत हुने चरणमा छ । जसमा सर्पदंशको पूर्वतयारी, जनशक्ति, उपचार प्रक्रियादेखि अस्पताल व्यवस्थापनको विषयलाई सूक्ष्म ढंगले राखिएको छ । उक्त कार्ययोजना कार्यान्वयनमा आए सर्पदंशका घटना कम हुने उपसचिव केसीको दाबी छ ।
एन्टिभेनमको अभाव मात्रै होइन, वितरण पनि अव्यवस्थित
सरकारी तथ्यांकअनुसार देशभर सर्पदंशविरुद्धको एन्टिभेनम दैनिक तीन भायल चाहिन्छ । शुक्रबारसम्मको तथ्यांकअनुसार सरकारी प्रणालीमा १० हजार ३०० भायल छ । दुई हजार १०० स्टक रहेकामा आठ हजार २०० भायल बिहीबार आएको हो । स्वास्थ्य मन्त्रालयले गत असारमा १३ हजार २०० भायल खरिदका लागि ठेक्का लगाएकोमा आठ हजार २०० भायल आएको हो ।
टेकुस्थित स्वास्थ्य सेवा विभागमा आपूर्ति भएको एन्टिभेनम प्रदेश स्वास्थ्य आपूर्ति निर्देशनालयमार्फत देशभर वितरण थालिएको छ । शर्पदंश केन्द्र र ठुला अस्पतालमा पठाइँदै छ भने दिनमा ३०० भायल खपत हुँदा उक्त मौज्दात ३४ दिनलाई मात्रै पुग्छ ।
यसअघि चैतमा ६ हजार भायल वितरण भएकोमा कतै सकिएर हाहाकार भएको छ भने कतै मौज्दात छ । तर, सरकारसँग यकिन तथ्यांक छैन । कतिपय स्वास्थ्य संस्थाले पालिका र दातृ निकायसँग मागेरसमेत जोहो गरेका छन् ।
‘अहिले सर्पदंशको घटना भइरहेका छन्, तर अस्पतालमा जाँदा एन्टिभेनम छैन भन्ने जवाफ आउँछ,’ कपिलवस्तु इमिलियाका वेदान्तमणि पोखरेलले भने, ‘दुई दिनअघि सर्पले डसेका बिरामीलाई एक चिकित्सकले एन्टिभेनम आफैँ ल्याएर सडकमै लगाइदिनुभयो । गोरुसिंगे सर्पदंश उपचार केन्द्रमा पनि खोप सकिएको रहेछ ।’
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा पनि एन्टिभेनम अभाव छ । अस्पताल आउने बिरामीलाई अन्यत्र जान भनेर पठाउने गरिएको छ । ‘केन्द्रबाट खोप आएन, त्यसैले यहाँ आउनुभएका बिरामीलाई अन्त पठाउँछौँ, जटिल अवस्था भएकालाई निजी अस्पतालबाट किनेर भए पनि खोप लगाउँछौँ,’ एक चिकित्सकले भने, ‘अलि–अलि खोप प्रदेश सरकारबाट आएको थियो, सकिएपछि बिरामी फर्काउनुपर्ने अवस्था छ ।’
हाल देशभर सीमित सरकारी अस्पतालमा मात्रै एन्टिभेनम पाइन्छ । प्रादेशिक अस्पतालहरूमा पनि सकिएपछि बिरामी निजी अस्पताल र टाढा–टाढासम्मका अस्पताल पुग्न बाध्य छन् । टाढाको अस्पताल धाउँदा उपचारमा हुने ढिलाइले बिरामीको ज्यानसमेत जाने गरेको छ । खासगरी पूर्वी र पश्चिम तराईका जिल्लाहरूमा सर्पदंशका घटना बढी हुन्छन् । तर, ती क्षेत्रका अधिकांश अस्पतालमै एन्टिभेनमको हाहाकार छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी अभाव भएको ठाउँमा वितरण थालिएको बताउँछन् । ‘यो सर्पदंशको सिजन हो । अहिले एन्टिभेनम ठ्याक्कै अभाव भएको त होइन, तर केही ठाउँमा कम भएको हुन सक्छ । बिहीबार आठ हजार दुई सय भायल आइसकेको छ, जहाँ–जहाँ अभाव छ, त्यहाँ–त्यहाँ वितरण थालेका छौँ,’ उनले भने ।
गत वैशाखमै खरिद गर्नुपर्नेमा असारमा मात्रै अघि बढाउँदा यसपालि समस्या देखिएको अधिकारी स्विकार्छन् । ‘खोप खरिदका लागि तीनपटकसम्म टेन्डर खोलेका थियौँ, तर आवेदन नै परेन । त्यसपछि असारको पहिलो साता मात्रै आवेदन परेपछि खरिदका लागि प्रक्रिया अघि बढाएका थियौँ,’ उनले भने, ‘त्यसमा पनि तोकिएको मितिमा आएन ।’ उनका अनुसार मुख्यतः एक सिजनमा मात्रै एन्टिभेनम चाहिने भएकाले वार्षिक १५–१६ हजार भायल एन्टिभेनम भए सरकारी प्रणालीमा पुग्छ ।
स्वास्थ्य सेवा विभाग खरिद शाखा प्रमुख चेतननिधि वाग्लेले पनि हाल सबै सरकारी सिस्टममा एन्टिभेनम केही अभाव रहेको बताए । बिहीबार प्राप्त आठ हजार दुई सय भायलले राहत मिलेको उनको भनाइ छ । ‘यस वर्ष खरिद ढिला भयो, जेठमै आएको भए समस्या हुँदैनथ्यो । अर्कोतर्फ भएको पनि कुनै अस्पतालमा आवश्यक नभएर थन्किएको र कतै अभाव भएको छ । एक ठाउँमा थन्किएकोलाई अर्को ठाउँमा दिन समन्वय नभएको भन्ने लाग्छ,’ उनले भने, ‘अहिलेको अवस्थालाई हेर्दा दैनिक सर्पले टोक्ने अनुपातमा अझै पनि खोप पर्याप्त छ । बाँकी पाँच हजार पनि छिटो आयो भने अब एक साताभित्र पर्याप्त मात्रामा वितरण गर्छौँ ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का डा. अमृत पोखरेल भने खोप अभावभन्दा पनि बिरामीले उपचारका अन्य विकल्प अपनाउँदा ज्यान जोखिममा पर्ने गरेको दाबी गर्छन् । ‘एन्टिभेनम अपर्याप्त होइन, सबैतिर वितरण समान नहुँदा समस्या भएको चाहिँ हुन सक्छ,’ उनले भने, ‘सर्पले टोकेपछि मानिसहरू धामीझाँक्रीकहाँ जाने, घाउ चुस्ने, काट्ने र बाध्ने गर्दा विष सबैतिर फैलिएर ज्यान जोखिममा पर्ने गरेको छ ।’
वर्षामा बढ्दै सर्पदंशका बिरामी, अस्पतालहरूमा एन्टिभेनम अभाव
सिमराका शेरबहादुर : सर्पले टोकेपछि नारायणी अस्पताल पुगे, तर एन्टी स्नेक भेनम पाएनन् हेटौँडा गएर उपचार गराए
जीतपुरसिमरा उपमहानगरपालिका– ४, औराहाका ३५ वर्षीय शेरबहादुर श्रेष्ठलाई गत २६ साउनको बिहान करिब ९ बजे सर्पले टोकेपछि उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पुर्याइयो । तर, अस्पतालमा सर्पदंशविरुद्ध प्रयोग हुने एन्टी स्नेक भेनम औषधि अभाव रहेको भन्दै चिकित्सकले भारतको रक्सौलस्थित अस्पताल जान सुझाव दिएको श्रेष्ठले बताए । ‘भारत जानू भनेर नारायणी अस्पतालका चिकित्सकले भन्नुभयो । मैले रिफर कागज दिनुस् भनेँ । तर, लिखित रूपमा रिफर दिन मिल्दैन भन्नुभयो,’ श्रेष्ठले भने, ‘हेटौँडा जाने निर्णय गरे । हेटौँडा प्रादेशिक अस्पतालमा उपचार गराए ।’ श्रेष्ठ हेटौँडा अस्पताल पुग्दा साढे १२ बजिसकेको थियो ।
श्रेष्ठका अनुसार आफूलाई विषालु सर्पले टोकेको भए समयमै उपचार नपाउँदा अवस्था गम्भीर बन्न सक्थ्यो । तर, उनलाई पानी सर्पले टोकेका कारण विषको असर नदेखिएको र ठुलो स्वास्थ्य समस्या नभएको बताए । ‘मलाई विषालु सर्पले टोकेको भए अवस्था सामान्य हुने थिएन होला । धन्न पानी सर्पले टोकेको रहेछ । त्यसैले ठुलो समस्या भएन,’ उनले भने । उनी गत बिहीबार घर फर्किसकेका छन् ।
नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन शाहले भने अस्पतालमा एन्टी स्नेक भेनम लामो समय अभाव नभएको दाबी गरेका छन् । उनका अनुसार सोमबार रातिदेखि मंगलबार बिहान ११ बजेसम्म मात्रै औषधि अभाव भएको थियो । ‘सोमबार सर्पदंशका बिरामीको उपचार गर्दागर्दै औषधि सकिएको थियो । मंगलबार बिहान ११ बजेदेखि पुनः एन्टी स्नेक भेनम उपलब्ध छ,’ डा. शाहले भने । उनका अनुसार अहिले अस्पतालमा १२० भायल एन्टी स्नेक भेनम मौज्दात छ ।
चौरजहारी र सुर्खेतमा एन्टी स्नेक भेनम पाइँदैन, भेरीमा हुँदै छ उपचार
सल्यान कुमाख गाउँपालिका– ५, खोरेखोलाकी ३१ वर्षीया गौरी बुढाथोकीलाई सर्पले टोकेपछि दुईवटा अस्पताल धाइन् । अहिले नेपालगन्जमा रहेको भेरी अस्पतालमा उपचार भइरहेको छ । २७ साउनको बिहान सर्पले टोकेपछि उनलाई सुरुमा रुकुमको चौरजहारीस्थित जिल्ला अस्पतालमा लगियो । तर, खोप नभएपछि सुर्खेतमा रहेको कर्णाली प्रादेशिक अस्पताल पुर्याइयो । त्यहाँ पनि पनि औषधि र बेड नपाएपछि मंगलबार २७ साउन राति १ बजे मात्र नेपालगन्ज पुर्याइएको थियो । ‘बिहान करिब ११ बजेतिर घरनजिकैको बारीमा घाँस काट्दै थिएँ । एक्कासि देब्रे हातको पन्जाको माथिल्लो भागमा टोकेपछि हात झट्कार्दा सर्प उछिट्टिएर टाढा गयो,’ उनले भनिन्, ‘सुरुमा त झारफुकतिर लाग्यौँ । झारफुक गरेपछि केही राहत भएको महसुस भयो, तर एक्कासि टाउकोमा असर गर्यो । रिँगटा लाग्यो । आँखा तिरमिराउन थालेपछि घरकाले चौरजहारी अस्पताल पुर्याए ।’ उनलाई चौरजहारी पुर्याउँदा अपराह्न ४ बजिसकेको थियो ।
‘चौरजहारी अस्पताल नपुग्दै म अर्धबेहोस भइसकेकी रहेछु । त्यहाँ औषधि नभएको भन्दै जिल्ला अस्पतालले सुर्खेत रेफर गर्यो । कर्णाली अस्पतालले पनि औषधि र बेड नभएको भन्दै नेपालगन्जस्थित भेरी अस्पतालमा लैजान सुझाव दिएको रहेछ,’ हाल भेरी अस्पतालमा उपचाररत बुढाथोकीले भनिन्, ‘त्यसपछि बुवाले मलाई यहाँ लिएर आउनुभयो । भेरी अस्पताल पुग्दा रातको १ बजेको थियो । यहाँ आउनेबित्तिकै उपचार सुरु भयो ।’
सर्पको पहिचान गरी भेरी अस्पतालका चिकित्सकले औषधि चलाएपछि आफू होसमा आएको उनले सुनाइन् । उनलाई भाइपर जातको हरियो सर्पले टोकेको रहेछ । ‘बाँच्दिनँ जस्तो लागेको थियो । अहिले हिँडडुल गर्ने, खाना खाने र कुरा गर्न सक्ने भएको छु । आशा पलाएको छ,’ बुढाथोकीले भनिन् ।
मधेशमा पनि सर्पदंशको चरम अभाव, मागेर काम चलाउँदै छन् अस्पताल
सिराहाको सुखीपुर नगरपालिका– २ का १६ वर्षीय ललतुनकुमार यादवलाई एक साताअघि घरमै विषालु सर्पले डसेपछि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याइयो । भेन्टिलेटरमा राखेर उपचार भए पनि एन्टी स्नेक भेनम नहुँदा अस्पताल प्रशासनले लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालबाट १५ भायल मगाएर उपचार गरेको थियो । यादव उपचारपछि घर फर्किसकेका छन् । त्यस्तै, कर्जन्हाको फूलकुमारी अस्पतालमै उपचारका लागि गत मंगलबार पुगेका दुईजना सर्पदंशका बिरामीका लागि भेनम नभएपछि चोहर्वाबाट २० भायल मगाएर उपचार गर्नुपरेको थियो ।
सिराहाको लहानसहित सिराहा प्रादेशिक अस्पताल, नेपाली सेनाको नन्दा बक्स गणमातहत रहेको चोहर्वा र बन्दीपुरस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा भेनमको अभाव छ । सर्पदंशको एउटा बिरामीलाई १० देखि २०–२५ वटा भायलसम्म औषधि चाहिन्छ ।
रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानकी मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा प्रकाशका अनुसार दैनिक सर्पदंशका औसत चारजना बिरामी आउने गरेका छन् । तर, एक महिनादेखि काठमाडौं, राजविराज तथा, प्रदेश आपूर्ति केन्द्रबाट मगाएर भए पनि उपचार अवरुद्ध हुन नदिएको उनले सुनाइन् । ‘तत्कालका लागि अस्पतालको आफ्नै स्रोतले भेनम खरिद गर्न खोजिएको भए पनि सप्लायर्स नै भेटिएनन्,’ उनले भनिन्, ‘संघीय मन्त्रालयको आग्रहमा गण्डकीबाट मधेश प्रदेशमा प्राप्त भएकामध्ये ३० भायल गत मंगलबार प्राप्त भएको छ । अहिले पनि ५० भायल स्टकमा छ, अन्यत्र पनि खोजिरहेका छौँ ।’
सिराहा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनील कुसवाहले सिराहा नगरपालिकासहित अर्नमा, औरहीसम्मका बिरामी आउने अस्पतालमा उपचार गर्न आउने सर्पदंशका बिरामीलाई चाहिने भेनमा करिब तीन महिनादेखि अभाव रहेको बताए । ‘अस्पतालसँग रहेको स्टकबाट इमर्जेन्सीका लागि लहान, चोहर्वा, कलैया र बर्दिबासलाई ५८० भायल भेनम दियौँ,’ उनले भने, ‘हाम्रो अस्पतालमा आउने बिरामीका लागि ४० भायलजति स्टकमा छ, त्यसैले काम चलाउँछौँ ।’
चोहर्वा गणका प्रमुख सेनानी समीर श्रेष्ठले चोहर्वा र बन्दीपुर केन्द्रमा आउने औसत पाँच–पाँच सर्पदंशका बिरामीको उपचारमा प्रयोग गरिनु पर्ने एन्टी स्नेक भेनमको स्टक रित्तिन लागेको बताए । ‘विषालु सर्पले डसेर गम्भीर अवस्थामा ल्याइएका बिरामीका लागि भेनम नभएकाले उपचार गर्न सक्दैनौँ भन्ने स्थिति सिर्जना भएको छ,’ उनले भने, ‘त्यस्तो वेला बिरामीको मृत्यु पनि हुन सक्छ ।’
मधेश प्रदेशभरका स्वास्थ्य संस्थामा औषधि आपूर्ति गर्दै आएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार स्टोरमा २० भायल मात्र एन्टी स्नेक भेनम स्टक छ । यद्यपि, १० लाख रुपैयाँको भेनम खरिदका लागि प्रक्रिया थालिएको र कम्तीमा एक साता लाग्न केन्द्रका निर्देशक डा. नागेन्द्रप्रसाद यादवले बताए ।
हेटौँडामा तराईबाट पनि आउँछन् सर्पदंशका बिरामी
बर्खायाम सुरु भएसँगै सर्पदंशका घटना बढ्न थालेपछि मकवानपुरको हेटौँडा अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप पनि बढेको छ । मकवानपुरसँगै मधेश प्रदेशका विभिन्न जिल्लाबाट समेत सर्पदंशका बिरामी उपचारका लागि हेटौँडा अस्पताल आउने गरेका छन् । हेटौँडा अस्पतालका अनुसार असार र साउनमा मात्रै २८ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । असारमा १४ र साउनमा हालसम्म थप १४ गरी २८ जना सर्पदंशका बिरामीले अस्पतालमा भर्ना भएर उपचार गराएका छन् ।
विशेषगरी बर्खायाममा खेतबारी, घाँसपात र झाडीमा काम गर्ने क्रममा सर्पदंशका घटना बढ्ने भएकाले अस्पतालमा आउने बिरामीको संख्या पनि बढ्ने गरेको चिकित्सक बताउँछन् । हेटौँडा अस्पतालकी आईसीयू इन्चार्ज प्रतिभा सुवेदीका अनुसार उपचारका लागि मकवानपुर मात्र नभई सर्लाही, रौतहट, बारा, पर्सालगायत मधेश प्रदेशका जिल्लाबाट पनि बिरामी आउने गरेका छन् ।
उनका अनुसार तराईका जिल्लामा विषालु सर्पको टोकाइका घटना बढी हुने भएकाले उपचारका लागि हेटौँडा अस्पताल आउने बिरामीको संख्या पनि छ । मकवानपुरमै पनि सर्पदंशका घटना धेरै हुने गरेको उनले बताइन् । तर, मकवानपुरमा हुने सर्पदंशका घटनामा भने एन्टी स्नेक भेनम नै दिनुपर्ने केस एकदमै थोरै हुने गरेको उनको भनाइ छ । ‘हामीकहाँ मकवानपुरसँगै मधेश प्रदेशका विभिन्न जिल्लाबाट पनि सर्पदंशका बिरामी आउने गरेका छन् । मकवानपुरमा पनि सर्पदंशका घटना थुप्रै हुने हुन्छन् । तर, यता त्यति धेरै विषालु सर्प नपाइने भएकाले एन्टी स्नेक भेनम दिइहाल्नुपर्ने केस कमै मात्र आउने गरेको छ,’ उनले भनिन् । उनका अनुसार हाल अस्पतालमा ५० भायल एन्टी स्नेक भेनम मौज्दात रहेको छ ।
भेरी अस्पताल : पश्चिम नेपालका लागि भरथेग
पश्चिम नेपालका अस्पताल तथा स्वास्थ्य संस्थामा एन्टी स्नेक भेनम अभाव छ । तर, त्यसको भरथेग नेपालगन्जको भेरी अस्पतालले गरिरहेको छ । अहिले पनि १५० भायल मौज्दात रहेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बताए । ‘गत वर्षको सय भायल बाँकी थियो । यस वर्ष ४५० भायल आएको थियो । अहिले धेरै भायल खपत भइसकेको छ । अब १५० बाँकी छ,’ उनले भने, ‘अहिलेलाई पर्याप्त छ । सकिन लाग्यो भने माग गरौँला ।’
भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सर्पदंशका बिरामी आउने गरेको उनले बताए । ‘सर्पले टोकेका बिरामी धेरै आए पनि सबै बिरामीलाई एन्टी स्नेक भेनम दिनुपर्दैन,’ डा. दर्नालले भने, ‘बिरामीको लक्षण हेरेर एन्टी स्नेक भेनम दिइन्छ ।’ अस्पतालमा ढिलो आउने गरेका कारण सर्पदंशका बिरामीलाई आइसियूमा राखेर उपचार गर्नुपरेको सर्पदंश उपचार फोकलपर्सनसमेत रहेका एनेस्थेसियोलोजिस्ट डा. पारस पाण्डेले बताए ।
बर्दिबासमा पनि पर्याप्त छैन भेनम
प्रादेशिक अस्पताल जलेश्वर र सर्पदंश उपचार केन्द्र बर्दिबासमा पनि एन्टी स्नेक भेनम पर्याप्त छैन । बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा ८५ भायल र प्रादेशिक अस्पताल जलेश्वरमा १४० भायल मौज्दात छ ।
विषालु सर्पले टोकेर विष शरीरमा प्रवेश गरेका बिरामीलाई १० देखि १५ भायलसम्म लाग्न सक्ने प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा. रवि श्रीवास्तव बताउँछन् । उनले तत्काल समस्या नभए पनि सर्पदंशका बिरामी बढ्दै गए उपचारमा कठिनाइ हुने बताए । साउनमा मात्र प्रादेशिक अस्पताल जलेश्वरमा मात्र ३३ जना सर्पदंशको उपचारका लागि आएकामा चारजनालाई विषालु सर्पले टोकेको पाइएको थियो । उनीहरूको उपचारमा ४९ भायल खपत भएको छ । बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा महिनामा ८४ जना बिरामी भर्ना भएकामा नौजना बिरामीका लागि २४५ भायल खपत भएको छ ।
सर्पदंशका बिरामीको चाप बढ्दै, छैन पर्याप्त औषधि
कैलाली र कञ्चनपुरमा सर्पदंशका बिरामी बढेका छन् । बिरामीको संख्या बढिरहे पनि सर्पदंशको उपचारमा प्रयोग गरिने औषधि एन्टी स्नेक भेनम भने पर्याप्त मात्रामा छैन ।
सर्पदंशको उपचार हुने प्रमुख केन्द्र सेती प्रादेशिक अस्पतालमा गत वैशाखदेखि हालसम्म सर्पले टोकेका १३९ जना उपचारका लागि भर्ना भएका छन् । अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठका अनुसार त्यसमध्ये एक बालकसहित तीनजनाको मृत्यु भएको छ । असारसम्म १०९ जना भर्ना भएकामा अहिले त्यो संख्या बढेर १३९ पुगेको उनले बताए ।
बिरामी संख्या बढ्दै गए पनि सेतीमा पर्याप्त मात्रामा एन्टी स्नेक भेनम छैन । अहिले ६० भायल औषधि मात्र मौज्दात रहेको अस्पतालले जनाएको छ । बिरामीलाई फर्काउनुपर्ने अथवा भर्ना भएका बिरामीलाई औषधि दिन नसकिने स्थिति नरहे पनि मौज्दात पर्याप्त नरहेको सर्पदंशका बिरामीको उपचारमा संलग्न डा. अनिरुद्र थपलियाले बताए ।
एन्टी स्नेक भेनमको मौज्दात थोरै रहेकाले एकैपटक धेरै बिरामी आए समस्या हुने उनले बताए । ‘मौज्दात थोरै भएकाले कुनै पनि वेला अभाव हुन सक्छ,’ उनले भने, ‘एकैपटक धेरै बिरामी आए यो औषधिले पुग्दैन, समस्या हुन्छ ।’ डा. थपलियाका अनुसार सर्पदंशको एउटा बिरामीलाई १० देखि २०–२५ वटा भायलसम्म औषधि चाहिन्छ ।
कैलालीमा सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र मसुरियामा नेपाली सेनाअन्तर्गत सर्पदंश उपचार केन्द्र छन् । ती केन्द्रमा पनि एन्टी स्नेक भेनम पर्याप्त छैन । टीकापुर अस्पतालले ६० भायल औषधि मौज्दात रहेको जनाएको छ । बिरामीको चाप बढे यो औषधि पर्याप्त नहुने अस्पतालका सूचना अधिकारी पदमराज भट्टले बताए । यो अस्पतालमा गत वैशाखयता करिब सयजना सर्पदंशका बिरामी भर्ना भएका अस्पतालका हेल्थ असिस्टेन्ट आशिक चौधरीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पनि एन्टी स्नेक भेनमको आवश्यकताअनुसार मौज्दात छैन । केन्द्रका सूचना अधिकारी जयन्द्र बोगटीले केन्द्रको स्टोरमा अहिले ८० भायल औषधि मात्र मौज्दात रहेको बताए । तराईमा सर्पदंशका बिरामी बढी हुने भएकाले पहाडी जिल्लामा पठाएको औषधि मगाएर काम चलाइरहेको उनले बताए ।
आपूर्ति केन्द्रका अनुसार संघीय सरकारले आपूर्ति गर्दै आएको यो औषधि गत माघयता यहाँ आएको छैन । ‘मौज्दात थोरै छ, यहाँका पहाडी जिल्लामा सर्पदंशका बिरामी कम हुने भएकाले त्यहाँ पठाएको औषधि मगाएर पनि काम चलायौँ,’ बोगटीले भने । डा. थपलियाका अनुसार उपचारका लागि आउने सर्पदंशका बिरामीमध्ये धेरैजसो करेत, गोमन, भाइपर जातका विषालु सर्पले टोकेका हुन्छन् । लक्षण देखिएका बिरामीलाई आइसियूमा राखेर उपचार गर्ने गरिएको उनले बताए ।
सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा मृत्यु
झापा अर्जुनधारा नगरपालिका– ८ का २० वर्षीय विनोद लिम्बूलाई बिहीबार राति करिब १२ बजे सुतेकै ठाउँमा विषालु सर्पले डस्यो । रातको समयमा कुन सर्पले डसेका कारण कुन सर्प थियो पत्ता लागेन । सर्पले डसेपछि उनलाई चारआलीस्थित नेपाली सेनाले समुदायसँगको सहकार्यमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र लगियो । त्यहाँ पुर्याउँदा उनको अवस्था गम्भीर बनेको थियो । उनलाई तत्कालै एन्टी स्नेक भेनम दिइयो । तर, निरन्तर अक्सिजन घट्न थाल्यो । चारआलीसहित रेडक्रस र नेपाली सेनाले सञ्चालन गरेका सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरसहितको सेवा छैन । उनलाई भेन्टिलेटरमा राख्नुपर्ने भएपछि उपचार केन्द्रले बी एन्ड सी अस्पताल बिर्तामोड रेफर गर्यो । तर, उनले अस्पताल नपुग्दै ज्यान गुमाए । ‘चारआलीको सर्पदंश उपचार केन्द्रले आइसियूमा राख्नुपर्छ भनेर बिर्तामोड पठायो । बी एन्डसी पुग्नेबित्तिकै डाक्टरले मृत घोषणा गरे,’ उनका भाइ मनिराज भन्छन्, ‘उपचारमा त समयमै लगेको हो । चारआलीकै सर्पदंश उपचार केन्द्रमा आइसियू भएको भए त दाइलाई बचाउन सकिन्थ्यो ।’
सर्पदंश उपचार केन्द्र चारआलीका अनुसार विनोदलाई उपचारका लागि ल्याउँदा ढिला भइसकेको थियो । एन्टी स्नेक भेनम दिइसकेपछि पनि उपचार केन्द्रमा भेन्टिलेटर भएको भए उनलाई बचाउन सकिने सर्पदंश उपचार केन्द्र स्रोतले जनाएको छ । ‘सर्पले डसेपछि मान्छे बोलाउन आफैँ हिँड्नुभएछ । उहाँलाई यहाँ ल्याउन ढिला भएको थियो । यहाँ आइपुग्दा स्वर नै बसिसकेको थियो । एन्टी स्नेक भेनम दिँदै गर्दा उहाँको अक्सिजन लेबल घटेपछि रेफर गर्यौँ । आइसियू चाहिने भएकाले रेफर गरेका हौँ,’ उपचार केन्द्र स्रोतले भन्यो, ‘यहीँ भेन्टिलेटर भएको भए बाँच्ने सम्भावना थियो । बिर्तामोड पुर्याउँदा ढिला भयो ।’ झापामा चालू आर्थिक वर्षको २९ साउनसम्म सर्पदंशमा परी दुईजनाले ज्यान गुमाइसकेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष ०८२/८३ मा सर्पदंशबाट पाँचजनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष ०८०/८१ मा दुई तथा ०८१/८२ मा एकजनाले ज्यान गुमाएको प्रहरी तथ्यांकमा उल्लेख छ ।