मिटरब्याजी साहसहित तीनजना पुर्पक्षका लागि थुनामा

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

धनुषा जिल्ला अदालतले मिटरब्याज (अनुचित लेनदेन) मुद्दामा एकै परिवारका तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश हिरामाया अवालको एक इजलासले जनकपुरधाम उपमहानगरपालिका– १६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी भाइबुहारी ४८ वर्षीया रेखा साह र रेखाका ३२ वर्षीय छोरा हरेराम साहलाई पुर्पक्षका लागि थुनामा पठाउन भनेको हो । 

शनिबार गोपाल र हरेरामलाई जलेश्वर कारागार तथा रेखालाई सिन्धुली कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । तीनैजना १ साउनदेखि प्रहरी हिरासतमा थिए । यही मुद्दामा रेखाका श्रीमान् बलराम साह भने फरार छन् । साह परिवारविरुद्ध अनुचित लेनदेन, ठगी, विश्वासघातसम्बन्धी छुट्टाछुट्टै नौ मुद्दा परेका थिए । तीमध्ये एउटा मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइए पनि अन्य मुद्दामा भने धरौटी माग भएको छ ।

अदालतका शाखा अधिकृत हेमकुमार महतोका अनुसार पूर्वप्रहरी वरिष्ठ उपरीक्षक गोविन्द साहको मुद्दामा बिहीबार भएको थुकछेकमा तीनैजनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो । बिहीबार नै बाँकी पाँचजनाको मुद्दामा भने जनही एक लाख २० हजारको दरले धरौटी माग गरिएको छ ।

सुझावित समाचार