साउदी प्रो लिग : लगानी अर्बौँ डलर, तर प्रतिफल शून्य

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण
  • तीन वर्षभित्र साउदी प्रो लिगले विश्वचर्चित खेलाडी भित्र्याउन र ब्रान्डिङमा २६.७ बिलियन अमेरिकन डलर खर्चियो, तर फिफा विश्वकपमा कमजोर प्रदर्शन भएको फुटबल संघको भनाइ

साउदी अरेबियाले आफ्नो घरेलु फुटबल लिग बलियो बनाउन अर्बौँ डलर खर्चिरहेको छ । यो तीन वर्षभित्र उनीहरूको साउदी प्रो लिगलाई चर्चित बनाउन कुनै कसरत बाँकी राखेनन् । साउदी क्लबहरूले विश्व फुटबलका नाम चलेका खेलाडीलाई भित्र्याउन मन लाग्ने गरी रकम दिइरहेका छन् । आफ्नो ब्रान्ड भ्यालुभन्दा दोब्बर र तेब्बर रकम पाउने भएपछि विश्वप्रसिद्ध खेलाडीको आगमन सहजै प्रो लिगमा भइरहेको छ । तर, साउदी अरेबियाले सोचेजस्तो सफलता भने हात पार्न नसकेको एक प्रतिवेदनमा उल्लेख छ ।

स्टार खेलाडीको आगमनले साउदी अरेबियाका राष्ट्रिय खेलाडीले एक्सपोजर पाउने आशा गरिएको थियो । गत महिना अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकप फुटबल प्रतियोगितामा साउदी अरेबिया पहिलो चरणबाटै बाहिरिएको थियो । ‘साउदी प्रो लिगमा जति लगानी भएको छ, त्यसअनुरूप विश्वकपमा नतिजा आएन,’ प्रतिवेदनमा भनिएको छ, ‘हामीले युरोपियन फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीसँग हाम्रा खेलाडीलाई एक्सपोज दिने प्रयास गरेका थियौँ, तर सोचेको जस्तो नतिजा आएन ।’ 

हालै मात्र साउदी अरेबियामा इजिप्टका स्टार खेलाडी मोहमद सलाहको आगमन भएको थियो । यसले पनि के देखाउँछ भने करिअरको उत्तरार्द्धमा त्यस्ता खेलाडी साउदी अरेबियामा आएर खेल जीवन समाप्त गर्न चाहन्छन् । तीन वर्षअघि अल नासरले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउँदै सनसनी मच्चाएको थियो । उनीसँगै करिम बेन्जिमा र नेमार जुनियरजस्ता विश्वचर्चित खेलाडीको आगमन भयो । अहिले साउदी प्रो लिगमा ३० वर्ष कटेका खेलाडीको बाहुल्यता रहेको छ ।

तीन वर्षभित्र २६.७ बिलियन अमेरिकन डलर खर्च
साउदी प्रो लिगमा यो तीन वर्षको अवधिमा २६.७ बिलियन अमेरिकन डलर खर्च भएको प्रतिवेदनमा उल्लेख भएको छ । यो रकम धेरैजसो स्टार खेलाडीलाई आबद्ध गर्नमा क्लबहरूले खर्चिए । साउदी प्रो लिगमा आबद्ध फ्रेन्चाइज क्लबमध्ये अल नासर सबैभन्दा खर्चिलो देखिएको छ । उसले वार्षिक बजेटमध्ये २५ प्रतिशत हिस्सा रोनाल्डोमाथि खर्चिएको अवस्था छ । यसैकारण नै रोनाल्डोले युरोपियन फुटबल छाडेपछि विश्वकै महँगा खेलाडीका रूपमा स्थापित छन् । रोनाल्डोले पनि साउदीबाट आफ्नो करिअर समाप्त गर्ने योजना बनाएका छन् । साउदी अरेबियाले रोनाल्डोको सहयोगमा सन् २०३४ को फिफा विश्वकप फुटबल प्रतियोतिगाको क्याम्पेनिङ गर्ने योजना छ । स्वयं रोनाल्डो पनि साउदी अरेबियालाई विश्वकपसम्म प्रोमोसनमा लाग्ने जनाइसकेका छन् । अहिले साउदीका उनी अघोषित रूपमा ब्रान्ड एम्बासडर हुन् ।

रोनाल्डोको एक हजार गोल लक्ष्य
४१ वर्षीय रोनाल्डो फुटबल इतिहासमा आधिकारिक रूपमा एक हजार गोलनजिक पुगेका छन् । यो उपलब्धि हात पार्न उनलाई केवल २४ गोल आवश्यक छ । अल नासरबाट तीन सिजन बिताउँदा उनले एक सय सात खेलमा एक सय दुई गोल गरेका छन् । पाँचपटकको बालोन डी अर विजेता रोनाल्डोले एकपटक अल नासरलाई उपाधि दिलाएका छन् ।

यसैबिच उनले साउदी प्रो लिगको गुणस्तरतर्फ ध्यान दिनुपर्ने प्रतिक्रिया दिएका छन् । ‘लिगमा अहिले क्लबहरूले खेलाडी भित्र्याउन करोडौँ अमेरिकन डलर खर्चिरहेका छन् । हामीले अब लिगको गुणस्तर पनि हेर्नुपर्ने वेला भइसकेको छ,’ रोनाल्डोले भने, ‘पछिल्लो केही वर्षमा यहाँ विश्वचर्चित ब्रान्डहरू आए । यसले लिगको विश्वभरि ब्रान्डिङ भयो, तर यहाँको फुटबल लेभल माथि उठ्न कसरत गरिरहेको छ ।’ 

युवालक्षित योजना
साउदी अरेबियन फुटबल महासंघका अध्यक्ष यासिर अल मिसेहालले गत साता पदबाट राजीनामा दिएका थिए । फिफा विश्वकप २०२६ सकिएको एक महिनापछि उनले राजीनामा दिएका हुन् । उनले टोलीलाई विश्वकपमा सोचेजस्तो सफलता दिलाउन नसकेको जनाएका छन् । ‘हामीले जुन लक्ष्यका साथ प्रो लिगलाई आक्रामक रूपमा अगाडि बढाएका थियौँ, त्यसको प्रतिफल विश्वकपमा भएन,’ यासिरले भने, ‘लगानीले मात्र केही हुँदो रहेनछ । अब हामीले साउदी अरेबियाको फुटबल विकासमा युवालक्षित योजना बनाउनुपर्छ ।’

उनले आठ वर्षभित्र साउदी अरेबियामा नयाँ योजना लागू हुने जनाए । ‘फुटबल संघले अब कुशल नेतृत्व चयन गर्नुपर्छ । साथै, आठ वर्षभित्र टोलीलाई बलियो बनाउनुपर्छ । यसमा सबैभन्दा ठुलो योगदान युवाहरूको हुनेछ,’ उनले भने, ‘यसैकारण साउदी अरेबियाले युवालक्षित विभिन्न योजना सार्वजनिक गर्नुपर्छ ।’

सुझावित समाचार