- छनोट समितिका पदाधिकारीले आफूलाई नै पदकका लागि सिफारिस गरेपछि उत्पन्न विवादबारे छानबिन गरी तीन सदस्यीय समितिले २९ साउनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ
गण्डकी प्रदेश खेलकुद परिषद्ले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन गरिएको छ । गत असार ३० गते विवरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेकी हुन् । मन्त्री गुरुङका अनुसार समितिमा मन्त्रालयका प्रवक्तासमेत रहेका शैक्षिक योजना तथा विद्यालय प्रशासन महाशाखा प्रमुख उपसचिव घनश्याम पौडेल सदस्य र मन्त्रालयअन्तर्गतको युवा शाखा प्रमुख अधिकृत आठौँ नारायणप्रसाद बास्तोला सदस्यसचिव रहेका छन् ।
समितिलाई आगामि २९ साउनभित्र प्रतिवेदन पेस गर्न भनिएको संयोजक पौडेलले जानकारी दिएका छन् । ‘मन्त्रालयबाट मेरो संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ,’ उनले भने, ‘पदक वितरणको ऐन, कानुनीको प्रावधानअनुसार छ कि छैन भन्नेबारे छानबिन गरेर प्रतिवेदन बुझाउँछौँ ।’
प्रदेशका खेलाडी, प्रशिक्षक, खेल क्षेत्रमा लागेका व्यक्ति, संघ–संस्थाहरूलाई प्रोत्साहन, उनीहरूले गरेको योगदानको सम्मान गर्ने उद्देश्यसहित स्थापना गरिएको पदक वितरण प्रक्रियाका बेथिति, मनोमानीसँगै अपारदर्शी अनियमितता भएपछि पहिलोपटकमै विवादमा परेको थियो । पदक वितरणका लागि मन्त्रालयले ‘गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०८१’ जारी गरेको छ । यसै कार्यविधिअनुसार आर्थिक वर्ष ०८१/८२ को पदक गत ३० असारमा वितरण गरिएको थियो ।
कार्यविधिविपरीत परिषद्का सदस्यसचिव श्रीधर शर्माले मनपरि र सेटिङ गरेर पदक वितरण गरेपछि विवादमा परेको हो । पदकका लागि दाबी गर्न निकालिने सार्वजनिक सूचना, पर्याप्त आवेदन नपरेको, पदक सञ्चालक समितिको निर्णय, पदकका लागि पेस भएको निवेदनको मूल्यांकन तथा पदक वितरणको व्यवस्था मिलाउने समिति, छनोट प्रक्रिया, आफैँ समितिमा बसेर आफू स्वयंले पदक लिने र आफू अध्यक्ष रहेको खेल संघलाई पुरस्कार दिएकोजस्ता विषयका कारण पदक वितरणपछि चरम विवादमा परेको हो ।
२९ साउनभित्र प्रतिवेदन बुझाउनुपर्ने
संयोजक पौडेललाई मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन भएको बताए । ‘हाम्रो समितिले मंगलबारबाट काम सुरु गर्नेछ,’ उनले भने, ‘अहिले तत्काल समितिले काम गर्ने तरिकाबारे पछि जानकारी गराइनेछ ।’ उनले आफ्नो संयोजकत्वमा समिति गठन भएको र पदक वितरणका लागि तयार भएको कार्यविधिअनुसार काम भए नभएको हेर्ने बताए । ‘अनुसन्धानको क्रममा आवश्यक अन्य विषयसमेत हेर्छौँ । हाम्रो लक्ष्य छिटो काम सकाएर २९ साउनमा प्रतिवेदन बुझाउने हो,’ उनले भने । गण्डकी प्रदेश खेलकुद परिषद्ले पोखरा रंगशालामा विशेष समारोह आयोजना गरी ‘गण्डकी प्रदेश खेलकुद पदक’बाट ६ जना खेलाडी तथा प्रशिक्षक र चारजना खेल संघलाई सम्मान गरेको थियो ।
खेलाडीतर्फ भलिबलकी अरुणा शाही, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर, आर्चरीका योगेन्द्र शेरचन र असिम शेरचन हुँदा क्रिकेट प्रशिक्षकतर्फ रिजन प्रजु सम्मानित भएका थिए । खेलकुद पत्रकारितातर्फ केशव पाठक र संघ–संस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चलाई पदक प्रदान गरिएको थियो । प्रदेश ह्यान्डबल संघ र गण्डकी प्रदेश फेन्सिङ संघ उत्कृष्ट खेल संघ तथा गण्डकी प्रदेश टेनिस संघ सर्वोत्कृष्ट प्रदेश खेल संघको रूपमा नगदसहित सम्मानित भएका थिए ।
तर, छनोट समितिमै रहेको व्यक्तिलाई पदक दिएपछि विवाद सिर्जना भएको थियो । खेलकुद पत्रकारिता विधामा पदक पाएका पाठक पदक सिफारिस समितिका सदस्य हुन् ।
सदस्यसचिव शर्मा काठमाडौंमा
पदका वितरणमा अनियमितता र विवादपछि मन्त्रालयले सदस्यसचिव शर्मालाई पत्र काटेको थियो । मन्त्रालयको पत्रसँगै छानबिन गर्ने भएपछि शर्मा आइतबार काठमाडौं गएका थिए । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्बन्धमा आगामी २८ साउनमा राखेपले बोलाएको बैठकमा सहभागी हुन भन्दै उनी पाँच दिनअघि नै काठमाडौं गएका हुन् । मन्त्री गुरुङले सोमबार सदस्यसचिव शर्मालाई काठमाडौंबाट फर्कन निर्देशन दिएका छन् । पदक वितरणका विषयमा विवाद बढिरहेको काठमाडौं किन गएको भनी सोध्दा सदस्यसचिवले केही प्रतिक्रिया नदिई फोन राखिदिएकोसमेत मन्त्री गुरुङले बताइन् । यसअघि सदस्यसचिव शर्माले विधि–पद्धतिमै रहेर पदक वितरण गरिएको बताएका थिए ।