तीन सातादेखि ग्यास अभाव कायमै

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण
  • पूर्ण तौलको सिलिन्डर बजारमा आएयता ग्यास पाउन उपभोक्तालाई सास्ती, भारतबाट आयात बढाइरहेको आयल निगमको दाबीविपरीत ग्यास उद्योग र डिलरअगाडि घटेको छैन उपभोक्ताको लाइन

साउन लागेयता सुरु भएको ग्यास आपूर्ति असहजता अझै हट्न सकेको छैन । सुरुमा काठमाडौं उपत्यकामा मात्रै देखिएको असजहता देशभर फैलिएको छ, जसकारण उपभोक्ताहरू एक थान ग्यास सिलिन्डर लिन घण्टौँ कुरेर लामो लाइनमा बस्न बाध्य छन् ।

आयल निगमले चार महिनासम्म ७.१ किलो (आधा) ग्यास भएको सिलिन्डर प्रचलनमा ल्याएर गत ३१ असारदेखि भने पूर्ण तौल (१४.२ किलो) भएको ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्थापन मिलाएपछि बजारमा असहजता बढेको हो । दोब्बर ग्यास बजारमा पठाउने निर्णय गर्नुअघि नियमितभन्दा बढी आयातको प्रबन्ध मिलाउने र वितरण प्रणाली चुस्त पार्ने काममा आयल निगमको व्यवस्थापकीय अक्षमता देखिँदा आपूर्ति सहज हुन नसकेको हो । आयल निगमले भने सामान्य अवस्थाको खपतभन्दा बढी आयात गरेको दाबी गर्दै आएको छ, तर अहिलेका आयात परिमाणले माग धान्न सकिरहेको छैन ।

निगमको तथ्यांकअनुसार दैनिक एक लाख ५० हजार थान सिलिन्डर भर्न पुग्ने ग्यास आयात भइरहेको छ, तर अहिलेको माग भने दैनिक दुई लाख सिलिन्डर हाराहारी पुगेको छ । त्यसैले, अहिलेको मागलाई ध्यान दिएर आयात परिमाण बढाउनुपर्ने उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउँछन् । उपभोक्ताले तुलनात्मक रूपमा बढी ग्यास सञ्चय गरेको कारण देखाएर सरकारी अधिकारीहरू पन्छिन नमिल्ने उनको भनाइ छ । उनले ग्यास सिलिन्डरको वितरण प्रणाली सुधार गर्नुपर्ने बताए । ‘साना डिलरहरूले सर्वसाधारणलाई ग्यास नदिएको र कतिपय डिलरमा अहिले पनि आधा परिमाणको सिलिन्डर मौज्दात रहेको अवस्था छ,’ महर्जनले भने, ‘त्यसलाई व्यवस्थापन गर्न ध्यान दिइएको छैन ।’

आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले भने आपूर्ति सहजताका लागि सबै संयन्त्रलाई परिचालन गरिएको दाबी गरे । ‘आयात बढाउनेदेखि आन्तरिक वितरण प्रणाली प्रभावकारी बनाउने, उपभोक्ताको गुनासो सुनेर तत्काल सम्बोधन गर्ने र सबै उद्योगमा निरीक्षण गर्ने काम निरन्तर भइरहेको छ,’ उनले भने, ‘यही साउन महिनाभित्रै ग्यासको आपूर्ति सहज गर्ने गरी काम गरिरहेका छौँ ।’

अभावको मौका छोपेर बढी मूल्यमा ग्यास बिक्री : प्रशासनको हस्तक्षेपपछि निर्धारित मूल्यमा बिक्री सुरु

लहानमा मणिलाल विश्वकर्मा
आयल निगमले देशभर प्रतिसिलिन्डर ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ तोकेको छ । यो मूल्य तिरेर ग्यास किन्न खाली सिलिन्डर लिएर भौँतारिएका उपभोक्तालाई ग्यास विक्रेता संघ, सिराहाले भने थप २० रुपैयाँ असुलेको छ । संघको अगुवाइमा जिल्लाभरका ग्यास विक्रेताले १७ देखि २२ साउनसम्म प्रतिसिलिन्डर दुई हजार ८० रुपैयाँका दरले उपभोक्ताबाट रकम असुलेका हुन् । तर, उपभोक्ताको उजुरीपछि जिल्ला प्रशासनले हस्तक्षेप गरी शनिबारबाट तोकिएकै मूल्यमा ग्यास बिक्री हुन थालेको छ ।

ग्यास विक्रेता संघ, सिराहाले निर्धारित मूल्यमा थप २० रुपैयाँ सेवा शुल्क लिएर दुई हजार ८० रुपैयाँमा बेच्न संघमा आबद्ध व्यवसायीलाई निर्देशन जारी गरेको थियो । तर, उपभोक्ताको गुनासोलगत्तै जिल्ला प्रशासन कार्यालयको तोकिएभन्दा बढी मूल्यमा बिक्री नगर्न चेतावनी दिएको थियो । त्यसपछि भने संघले शनिबार विज्ञप्ति निकालेर प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमै उपभोक्तालाई बिक्री गर्न सर्कुलर जारी गरेको छ । १७ देखि २२ साउनसम्म असुलेको बढी मूल्य फिर्ता हुन्छ कि हुँदैन भन्ने विषयमा अध्यक्ष श्यामनारायण सिंह र महासचिव रामप्रसाद साहसँग फोनमा पटक–पटक सम्पर्क गर्दा उनीहरूले कुरा गर्न चाहेनन् ।

सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रतिसिलिन्डर २० रुपैयाँ बढी लिएको प्रमाणसहित उपभोक्ताहरू गुनासो गर्न आए सम्बन्धित विक्रेतालाई कारबाही गरिने बताए ।लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले बिहीबार एक सूचना जारी गर्दै उपभोक्ताबाट अतिरिक्त रूपमा लिइएको रकम सात दिनभित्रमा फिर्ता गर्न भनेका छन् ।

देशभारका ५८ उद्योगमै खटिए आयल निगमका प्रतिनिधि
आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले देशभरका ५८ उद्योगमै आयल निगमका प्रतिनिधि खटाएको बताए । ‘आयात भएको ग्यास तुरुन्तै बजारमा पठाउन सहजीकरण गर्ने उद्देश्यले सबै ग्यास उद्योगमा आयल निगमका प्रतिनिधि खटाइएको छ,’ साहले भने, ‘यसबाट उद्योगमा आउने ग्यास र उद्योगबाट बाहिरिने सिलिन्डरको व्यवस्थापनमा निगरानी गर्न सहज हुन्छ ।’

उनले सातै प्रदेशमा रहेका आयल निगमका कार्यालय प्रमुखहरूलाई समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बजार अनुगमन तीव्र पार्न लगाएको र शनिबारबाटै विभिन्न जिल्लामा अनुगमन थालिएको बताए । आयात बढाउन पनि इन्डियन आयल कर्पोरेसनलाई आग्रह गरेको उनले बताए ।

उद्योगमन्त्री र आयल निगम अधिकारी बल्ल निस्किए फिल्डमा
शनिबार ग्यास उद्योगदेखि डिलरसम्मको निरीक्षणमा पुगेर उद्योगमन्त्री गौरीकुमारी यादवले ग्यास नपाएर हटलाइनमा फोन गर्ने उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद पनि गरिन् । ग्यास आपूर्ति असहज हुन थालेको तीन सातापछि उद्योगमन्त्री गौरीकुमारी यादव शनिबार दिउँसो बालाजुस्थित नेपाल ग्यास उद्योग, कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको एसटिसी ग्यासको डिपो र टेकुस्थित अस्थायी बिक्री डिपो निरीक्षणमा पुगिन् । उनले महिला र विद्यार्थीलाई लाइनमा नलागी ग्यास पाउने वातावरण सिजना गर्न निर्देशन दिइन् । 

See More On

सुझावित समाचार