विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार जन्मेको एक घण्टाभित्र स्तनपान गराउँदा करिब ३३ प्रतिशत नवजात शिशुको मृत्यु रोक्न सकिन्छ । यसले नवजातलाई संक्रमणजन्य रोगबाट समेत जोगाउँछ । नेपाल सरकारको अध्ययनले समेत यस्तै निष्कर्ष निकालेको छ । तर, पछिल्लो समय नेपालमा ठुलो संख्यामा शिशुहरूले आमाको दुध खान पाउँदैनन् । जसका कारण बालबालिकामा कुपोषणसमेत बढ्दो अवस्थामा छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस), २०२२ अनुसार नेपालमा पूर्ण स्तनपानको दर जम्मा ५६ प्रतिशत छ । जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गराउने दर ५५ प्रतिशत छ । दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिने दर ७४ प्रतिशत छ । प्रदेशगत रूपमा हेर्दा कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण स्तनपानको दर सबैभन्दा बढी ७४ प्रतिशत छ । लुम्बिनी प्रदेशमा सबैभन्दा कम ३६ प्रतिशत छ ।
नेपाल बहुसूचक सर्वेक्षण (एनएमआइसिएस) २०२४/२५ ले पूर्ण स्तनपानको दर ६९.७ प्रतिशत पुगेको देखाएको छ । तर, जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गराउने दर ३८.४ प्रतिशत मात्र रहेको तथ्यांकले जन्मलगत्तै स्तनपान सुरु गराउने अभ्यासमा अझै सुधार आवश्यक रहेको देखाएको छ । सोही कारण नेपालले हरेक वर्ष १६ साउनदेखि एक साता स्तनपान सप्ताह सञ्चालन गर्छ । यस वर्ष नेपालले ‘प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने राष्ट्रिय नारासहित १६ साउनदेखि विश्व स्तनपान सप्ताह थालेको थियो ।
परिवार कल्याण महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्यायले आमाको दुधबाट जति फाइदा अन्य कुनै खानेकुरामा नहुने बताए । ‘बच्चामा हुने पोषणको कमीको कम गर्न र कुपोषणजन्य रोग लाग्न नदिन ठुलो भूमिका हुन्छ, शरीरमा रोग लाग्न नदिन आमाको दुध निकै आवश्यक मानिन्छ,’ उनले भने, ‘हाम्रो नेपालमा स्तनपान गराउने आमाको संख्या घटेको पाएका छौँ, खोपको कभरेज बढेपछि स्तनपान गराउने चलन घटेको छ, तर स्तनपान गराउने चलन घटाउन हुन्न ।’ उनका अनुसार गत वर्ष असारमा ६ महिनादेखि ५९ महिनासम्मका ११ लाख बालबालिकामा कुपोषण लेखाजोखा गर्दा त्यसमा पाँच लाख बालिकामा कुपोषण देखिएको छ । उक्त लेखाजोखा मधेश प्रदेश, कर्णाली, लुम्बिनी, सुदूरपश्चिमका २० जिल्लामा पुगेर गरिएको थियो । उनका अनुसार ११ लाखमा पोषण लेखाजोखा गर्दा २८.५ प्रतिशतमा पुड्कोपना देखिएको छ । १७.४ मा तौल नपुगेको देखिएको छ ।
सन् २०१४ मा गरिएको सर्वेक्षणअनुसार दुई वर्षभन्दा मुनिका बालबालिकालाई आमाले दुध खुवाउने दर ६५ प्रतिशत थियो । तर, पछिल्ला वर्षहरूमा झन्झन् घट्दै गइरहेको छ । कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले आमाको दुधसँग ‘फर्मुला फिड’को तुलना गर्नै नमिल्ने बताए । ‘आमाको दुधमा जे–जे तत्व पाइन्छ, त्यसको तुलना अरू केहीसँग पनि हुँदैन, आमाका दुधजति पोषिलो अरू केही हुँदैन, फर्मुला फिडमा त के पशुपक्षीको दुधमा पनि आमाको दुधमा जति पोषिलो तत्व हुँदैन,’ उनले भने, ‘कुनै–कुनै अवस्थामा आमाले स्तनपान गराउन नसक्ने अवस्था फरक होला, कतिलाई बाध्यता पनि होला, तर आमाको दुधमा बच्चालाई जोड गर्नैपर्छ ।’
बाल कुपोषण सार्वजनिक स्वास्थ्यको प्रमुख चुनौती
नेपालमा बाल कुपोषण अझै सार्वजनिक स्वास्थ्यको प्रमुख चुनौतीका रूपमा रहेको छ । एनडिएचएस, २०२२ अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये २५ प्रतिशत पुड्कोपन, आठ प्रतिशत ख्याउटेपन, १९ प्रतिशत कम तौल तथा ४३ प्रतिशत रक्तअल्पताबाट प्रभावित छन् । त्यस्तै, एनएमआइसिएस २०२४÷२५ अनुसार २६.२ प्रतिशत बालबालिकामा पुड्कोपना, ६.६ प्रतिशतमा ख्याउटेपन तथा १६.९ प्रतिशतमा कम तौल रहेको पाइएको छ । विश्वभर पाँच वर्षमुनिका बालबालिकाको करिब ४५ प्रतिशत मृत्यु कुपोषणसँग सम्बन्धित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
पछिल्लो समय आमाको दुधभन्दा पनि प्रतिस्थापन गर्ने वस्तुहरू बालबालिकालाई खुवाउने प्रचलन बढेको छ । तर, त्यसलाई रोक्न आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु –बिक्री–वितरण नियन्त्रण) ऐन, २०४८ तथा नियमावली, २०५१ कार्यान्वयनमा सरकारले चासो देखाएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले कुनै पनि कार्यालयमा कार्यरत महिलाका लागि कम्तीमा ९८ दिन तलबसहित प्रसूति बिदा तथा आवश्यक अवस्थामा थप बेतलबी बिदाको व्यवस्था गरेको छ । कामकाजी महिलाले सहज रूपमा स्तनपान गराउन सकुन् भन्ने उद्देश्यले सरकारी, निजी तथा गैरसरकारी क्षेत्रमा स्तनपानमैत्री कार्यस्थल निर्माणलाई पनि प्राथमिकता दिइएको छ । तैपनि स्तनपान गराउने आमाको संख्या कम हुँदै गइरहेकोमा पोषणविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।
हाल स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि, २०८० राम्ररी कार्यान्वयन हुन सकेको छैन । जसकारण सरकारी कार्यालय, स्वास्थ्य संस्था, सार्वजनिक स्थल तथा निजी क्षेत्रमा स्तनपान कक्ष विस्तार हुन सकेको छैन । सेवाग्राहीको भिड हुने सरकारी कार्यालयमा समेत स्तनपान कक्ष बनाइएको छैन । जसकारण स्तनपान गराउन कठिन हुने गरेको शिशु बोकेर कार्यालयमा पुग्ने आमाहरूको गुनासो छ । मातृ–शिशुमैत्री सेवा अभियान हाल ६५ भन्दा बढी अस्पतालमा सञ्चालनमा छ भने चालू आर्थिक वर्षमा थप संघीय, प्रादेशिक तथा निजी अस्पतालमा विस्तार गर्ने योजना बनाइएको छ । हाल आमाको दुध खुवाउने प्रचलन बढाउन परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा स्तनपान व्यवस्थापन केन्द्र सञ्चालनमा छन् ।
नेपाल नर्सिङ संघकी महासचिव देवकाकुमारी आचार्यले पछिल्लो समय स्तनपान गराउने आमाको संख्या कम हुँदै गएकाले यसबारे चिन्ता गर्नुपर्ने अवस्था आएको बताइन् । ‘अहिलेका आमाहरू व्यस्त पनि छन्, उनीहरू कार्यालयमा काम गर्न जाँदा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र छैन, सोही कारण पनि स्तनपान गराउन क्रम कम हुँदै गइरहेको छ,’ उनले भनिन्, ‘धेरै महिला नियमित उपस्थित हुने ठाउँमा शिशु स्याहार केन्द्र नै राख्नुपर्छ । अन्यमा स्तनपान कक्ष राख्नुपर्छ , स्तनपान गर्ने चलन बढाउनुपर्छ, यो शिशुको स्वास्थ्यका लागि निकै पोषिलो मानिन्छ ।’
डा. मदनकुमार उपाध्याय, निर्देशक, परिवार कल्याण महाशाखा
बच्चामा हुने पोषणको कमीको कम गर्न र कुपोषणजन्य रोग लाग्न नदिन ठुलो भूमिका हुन्छ, शरीरमा रोग लाग्न नदिन आमाको दुध निकै आवश्यक मानिन्छ । नेपालमा स्तनपान गराउने आमाको संख्या घटेको पाएका छौँ, खोपको कभरेज बढेपछि स्तनपान गराउने चलन घटेको छ, तर स्तनपान गराउने चलन घटाउन हुन्न ।