कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्व परिवर्तन गर्ने तयारीमा रहेका एमाले अध्यक्ष केपी ओली तत्काल निर्णयबाट केही दिनका लागि पछि हटेका छन् । मुख्यमन्त्री कार्कीले केन्द्रीय सचिवालयबाट संस्थागत निर्णय भएर निर्देशन नआएसम्म आफूले राजीनामा दिएर नेतृत्व हस्तान्तरणको बाटो नखोल्ने अडान दोहोर्याएपछि ओली तत्काल निर्देशन दिने योजनाबाट पछि हटेका हुन् ।
बुधबार अध्यक्ष ओलीले मुख्यमन्त्री कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश सचिव राजकुमार भण्डारीसँग सामूहिक तथा कार्कीसँग छुट्टाछुट्टै छलफल गरेका थिए । छलफलमा कोशीको राजनीतिक अवस्था, सरकारको स्थायित्व र नयाँ सरकार गठनको सम्भावनाबारे विस्तृत ब्रिफिङ भए पनि ओलीले कुनै ठोस निर्णय सुनाएनन् । बरु उनले पार्टीको हितलाई केन्द्रमा राखेर निर्णय गरिने भन्दै केही दिनभित्र उपयुक्त निर्देशन आउने संकेत दिएका थिए ।
छलफलपछि प्रदेश अध्यक्ष खतिवडाले अध्यक्ष ओलीले तत्काल निर्णय नगरी केही समय पर्खिन आग्रह गरेको बताए । ‘छलफलमा आ–आफ्ना तर्क र धारणा राख्यौँ । अध्यक्षले पार्टीको हित हुने गरी उपयुक्त समयमा निर्णय गर्छु, केही दिन पर्खनुस् भन्नुभएको छ । हामी पनि उहाँको निर्देशनअनुसार अघि बढ्छौँ,’ खतिवडाले भने ।
मुख्यमन्त्री कार्की बाहिरिएपछि ओलीले खतिवडा र सचिव भण्डारीसँग छुट्टै छलफल गरेका थिए । काठमाडौंबाट विराटनगर फर्किने क्रममा खतिवडाले एक–दुई दिनभित्र संसदीय दलको बैठक बस्ने र त्यसपछि आवश्यक निर्णय हुन सक्ने बताए । ‘हामी तल पनि छलफल गर्छौँ, उपयुक्त समयमा बसेर निर्णय लिन सक्छौँ,’ उनले भने ।
छलफलमा कार्कीले अहिले नेतृत्व परिवर्तन गर्दा जनतामा नकारात्मक सन्देश जाने र पार्टीको संस्थागत निर्णयविना आफूलाई हटाउने प्रयास भए वैकल्पिक राजनीतिक कदम चाल्नुपर्ने अवस्था आउन सक्ने धारणा राखेका थिए । यही अडानले ओलीलाई पूर्वतयारीअनुसार अघि बढ्ने वा पुनर्विचार गर्ने भन्ने द्विविधामा पारेको एक पदाधिकारीले बताए ।
कार्कीनिकट एक सांसदका अनुसार अध्यक्ष ओलीसँगको छलफल सकारात्मक भएको छ र संसदीय दलको बैठकबाट पार्टीको हितअनुकूल निष्कर्ष निकाल्ने वातावरण बनेको छ । ‘अध्यक्षसँगको भेट पहिलेको भन्दा सकारात्मक रूपमा सम्पन्न भएको छ, संसदीय दलको बैठक बसेरै केही न केही छिट्टै एउटा निष्कर्षमा पुग्न सक्ने गरी विकासक्रम अघि बढ्न सक्छ,’ कार्कीको भनाइ उद्धृत गर्दै उनीनिकट एक सांसदले भने ।