सडकमा उत्रिन कार्यकर्तालाई तयारी रहन भनेका छौँ : महासचिव पोखरेल

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार जनअपेक्षाविपरीत स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै त्यसलाई रोक्न जनता पुनः सडकमा आउनुपर्ने स्थिति सिर्जना हुन सक्ने चेतावनी दिएका छन् । प्रेस चौतारी दाङले बुधबार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासिचव पोखरेलले मुलुकको लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एमाले जुनसुकै वेला सडक संघर्षमा जान तयार रहेको स्पष्ट पारे ।

सरकार गठन भएको चार महिनामा नै यसको कार्यशैली असफल देखिएको टिप्पणी गर्दै महासचिव पोखरेलले भने, ‘अहिले नै सरकार परिवर्तनको एजेन्डा बनाउनु उचित नभए पनि स्वेच्छाचारी ढंगले यस्तै काम गर्दै जाने हो भने रोक्नका लागि जनता फेरि सडकमा आउनुपर्ने हुन सक्दछ।’

उनले स्वेच्छाचारितालाई चुपचाप सहेर नबस्ने संकेत गर्दै थपे, ‘हाम्रो पार्टी मुलुकको लोकतन्त्रको रक्षाका लागि, मुलुकको सोभरेन्टी (सार्वभौमसत्ता)को रक्षाका लागि र जनताको हितका लागि आवश्यकता पर्याे भने सडकमा आउन तयार छ ।’ 

महासचिव पोखरेलले पार्टीको सम्पूर्ण पंक्तिलाई सम्भावित सडक आन्दोलनका लागि तयार रहन निर्देशन दिइसकेको खुलासा गरे । उनले भने, ‘हामीले हाम्रो कार्यकर्ता पंक्तिलाई पनि भनेका छौँ– तपाईंहरू कुनै पनि वेला सडकमा आउनुपर्ने हुन सक्छ, तयार भएर बस्नुस्।’ सरकारको कार्यशैलीमा सुधार नआए र प्रतिपक्षी दलहरूले विकल्पबारे छलफल नगरे सडकबाटै सरकार परिवर्तनको आवाज बलियो हुने उनकाे विश्लेषण छ । महासचिव पोखरेलले लोकतन्त्र र संविधानको रक्षाका लागि हिजो संविधान निर्माणमा सहभागी भएका सबै प्रमुख दलहरू एक ठाउँमा उभिएर सरकारलाई गलत दिशामा जानबाट रोक्न दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।

सरकारले डेलिभरीमा भन्दा पनि प्रतिशोधको राजनीतिमा समय खर्चिएको पोखरेलको आरोप छ। १३ दिनसम्म हिरासतमा राखेर पनि मुद्दा दर्ता गर्न नसक्नुले सरकार कति कमजोर र प्रतिशोधी छ भन्ने पुष्टि हुने उनले बताए । ‘विगतका सरकारहरूभन्दा डेलिभरीका प्रश्नमा यो सरकार अत्यन्तै असफल छ,’ उनले भने, ‘मलखादको अभाव, चरम मूल्यवृद्धि र उल्टो आर्थिक नीतिका कारण जनता आक्रान्त छन् ।’

महासचिव पोखरेलले सडकबाट सरकार बदल्ने परम्परा लोकतन्त्रका लागि सुखद नभए पनि सरकारको व्यवहारले त्यस्तो परिस्थिति निम्त्याउन लागेको उल्लेख गरे । उनले भने, ‘सडकबाट सरकार बदल्ने परम्परा राम्रो होइन, हिजो पनि गलत भयो, अब पनि त्यो स्थिति आउन दिनुहुँदैन । यद्यपि, सरकारले संसद्को अवज्ञा गर्ने र स्वेच्छाचारी बाटो नछोड्ने हो भने सडक संघर्ष निर्विकल्प हुने उनकाे तर्क छ ।’

का‌ंग्रेसकै कारण प्रदेश सरकार टुट्यो

महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँगको सहकार्य एमालेका कारण नभई कांग्रेसकै नेतृत्वका कारण टुटेको स्पष्ट पारेका छन् । प्रदेश सरकारहरूमा सहकार्यमा रहेका एमालेका मन्त्रीहरूलाई पार्टीको जानकारी र सल्लाहविना नै बर्खास्त गरिएपछि समीकरणमा दरार आएको उनले बताए ।

‘सहकार्यमा रहेका मन्त्रीहरूलाई हाम्रो पार्टीको जानकारीविना बर्खास्त गरेपछि सहकार्य टुट्छ भन्ने कुरा त नेतृत्वले बुझ्नुपर्छ नि !’ महासचिव पोखरेलले भने, ‘कांग्रेसको सहकार्य हाम्रा कारणले टुट्या होइन, कांग्रेसका मुख्यमन्त्रीहरू वा संसदीय दलका नेताका कारणले टुटेको हो।’

पोखरेलले कर्णाली र सुदूरपश्चिम प्रदेशको उदाहरण दिँदै त्यहाँ मन्त्रीहरूलाई हटाउने र सल्लाह नै नगरी राजीनामा दिन लगाउने काम भएकोसमेत बताए । कांग्रेसले तीन दल मिलेर जाने प्रस्तावमा असहमति जनाएको र एमालेसँग सहकार्य गर्न नमान्ने अवस्था सिर्जना गरेपछि मात्र एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच नयाँ सहमति भएको उनले बताए । । ‘कांग्रेसले हामीसँग सहकार्य गर्न नमान्ने अवस्थामा नेपाली कम्युनिस्ट पार्टी र एमालेबिच सहमति भएको हो,’ उनले भने ।

सुझावित समाचार