पछिल्ला दिन ग्यास आपूर्ति असहजता झन् बढेको छ । साउन लागेयता नै ग्यास आपूर्ति सहज छैन । आयल निगमले टेकुस्थित पुरानो कार्यालयमा नेपाल, एभरेस्ट, सुगम, श्रीराम र एचपी ब्रान्डको ग्यास उपलब्ध गराउने गरी व्यवस्थापन गरे पनि असहजता घटेको छैन । टेकुमा पनि दिनहुँ ग्यास लिन पुग्ने उपभोक्ताको भिड बढेको छ । मंगलबार दिउँसो टेकुमा भेटिएका प्रह्लाद चौरासियाले घरनजिकैको डिपोमा नपाएपछि आएको बताए ।
‘घरमा भएको एउटा सिलिन्डर सकिन लागेको छ । अर्को रित्तै भएपछि तनाव भयो,’ उनले भने, ‘यहाँ (टेकु) ११ बजे लाइनमा बसेर ३ घण्टापछि पालो आएपछि एउटा सिलिन्डर लिएर जाँदै छु ।’ उनले आयल निगमको व्यवस्थापकीय कमजोरीले सास्ती खेप्नुपरेको बताए । ‘अहिले अफिस लागेको छ, आफू यता ग्यासको लाइनमा बस्नुपरेको छ,’ उनको गुनासो थियो । नक्खुदेखि टेकु पुगेका भरत मगरले स्थानीय डिलरकहाँ एक–डेढ सातादेखि धाउँदा पनि ग्यास नपाएको बताए । ‘अझै कति दिनपछि ग्यास पाइन्छ भन्ने ग्यारेन्टी पनि भएन अनि यता आइयो,’ राजधानी ग्यासको खाली सिलिन्डर लिएर लाइन लागेका उनले भने ।
मंगलबार दिउँसो बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास उद्योगको गेटमा पनि उपभोक्ताको लाइन उस्तै थियो । गेटबाट एक थान सिलिन्डर लिएर निस्कँदै गरेकी चन्दा महर्जनले सास्ती खेपेको बताइन् । ‘लाइन बस्नुपर्यो, लाइन सर्दैपिच्छे सिलिन्डर पनि घिसार्दै सार्नुपर्दा कति दुःख हुन्छ !’ उनले भनिन्, ‘ग्यासको साह्रै दुःख भयो यसपालि ।’ निगमको पहलमा टेकुबाट गत शनिबारदेखि विभिन्न पाँच ब्रान्डका ग्यास कम्पनीले बिक्री थालेका छन् ।