- ओलीको ‘मानसिक दबाब’ थेग्न नसकेपछि बैठकमै बेहोस भए थपलिया
अध्यक्ष केपी ओलीले पूर्वप्रतिबद्धता र आन्तरिक सहमतिविपरीत बागमती र कोशीमा दलको नेता र मुख्यमन्त्री फेर्ने ‘अस्वस्थ चलखेल’ गरेपछि एमालेभित्र विवाद चर्किएको छ । ओलीले नेकपासँग प्रदेश सरकारका लागि गरेको तीनबुँदे सहमतिलाई आफूविरुद्ध लागेका नेता–कार्यकर्तासँग बदला लिने ‘मोर्चा’ बनाउन खोजेपछि विवाद बढेको हो ।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँगको छलफलमा ओली कोशीमा हिक्मत कार्की र लुम्बिनीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने तथा बागमतीमा संसदीय दलका नेता जगन्नाथ थपलियालाई नै मुख्यमन्त्रीको उम्मेदवार बनाउन सहमत भएका थिए । तर, पौडेल–पोखरेलसँगको सहमतिविपरीत ओलीले कार्की र थपलियालाई रोक्ने चलखेल गरेपछि विवाद सतहमा आएको हो ।
ओलीले भने पार्टीको केन्द्रीय सचिवालय बैठक नराखी कोशीमा उपनेता तिलकुमार मेन्याङ्बो र बागमतीमा किरण थापालाई बनाउन जोडबल गरिरहेका छन् ।
आफ्नो योजनाअनुसार प्रदेशहरूमा मुख्यमन्त्री र मन्त्रीहरू बनाएर पार्टीभित्र बलियो बन्ने रणनीतिमा ओली देखिएका छन् । एमाले नै प्रदेशहरूको स्थिरताविरुद्ध लागेको नकारात्मक सन्देश जान सक्ने भन्दै पार्टीभित्रै ओलीको आलोचना सुरु भएको छ ।
एमालेका एक पदाधिकारीका अनुसार ‘बागमतीमा जसले बहुमत जुटाउँछ उही दलको नेता र मुख्यमन्त्री बन्छ’ भन्दै थापालाई सहयोग हुने गरी ओली प्रस्तुत भएका थिए । थापालाई नै सहयोग गर्ने उद्देश्यले सोमबार राति डाकिएको बैठकमा तनाव भएको थियो । संसदीय दलका नेता थपलियालाई पछि हट्न मानसिक दबाब सिर्जना गरेपछि छलफलकै बिचमा उनी बेहोस भएका थिए ।
गत शुक्रबार ओलीले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलसँगको सहमतिअनुसार प्रदेश इन्चार्ज महेश बस्नेत, अध्यक्ष कैलाश ढुंगेल र संसदीय दलका नेता थपलियालाई बोलाएर छलफल गरेका थिए । त्यसक्रममा उनले दलको नेता थपलिया नै मुख्यमन्त्रीको उम्मेदवार बन्ने भन्दै त्यसअनुसार राप्रपासहितका दलसँग छलफल गरेर बहुमतका लागि आवश्यक संख्या जुटाउन निर्देशन दिएका थिए ।
त्यसपछि थपलियाले यसबिचमै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रदेश संसदीय दलका नेता उद्धव थापालाई भेटेर सहयोग मागे । उनीहरूले केन्द्रीय तहमै सैद्धान्तिक सहमति बनेको अवस्थामा मात्र राप्रपा सरकारमा जान सक्ने ‘बटमलाइन’ सुनाए । तर, त्यहीबिचमै प्रदेश इन्चार्ज बस्नेतले आफूनिकट थापालाई भित्री सहयोग गरेका कारण एमालेका २५ मध्ये बहुमत सांसद उनलाई नै मुख्यमन्त्री बनाउन तयार भए । १४ जना सांसदले त गोप्य रूपमा हस्ताक्षरसमेत गरे ।
त्यति मात्र होइन, आइतबार बस्नेतकै तयारीमा राप्रपाका १२ मध्ये ७ सांसदलाई गुन्डुमै बोलाएर ओलीकै उपस्थितिमा बैठक बस्यो । जहाँ राप्रपाबाट थापालाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउन लगाएर एमालेको सरकार बन्ने अवस्था सिर्जना गरियो ।
सोमबार बेलुकी ७ बजेबाट थपलियासहितको उपस्थितिमा पार्टी र संसदीय दलको बैठक गुन्डुमै राखियो । बैठकमा २५ मध्ये १७ सांसद सहभागी भए । सहभागी प्रदेश सांसदहरूले थपलियाले एक हप्तासम्म अरू दलको सहमति जुटाउन नसकेको भन्दै उनको आलोचना गरे ।
सांसदहरू विष्णु सिलवाल, ज्ञानबहादुर तामाङ, डा. दिनेशचन्द्र देवकोटा र भारती पाठकसहित किरणको पक्षमा चर्को स्वरसहित बोले । बहुमत जुटाउन नसक्ने असक्षम व्यक्तिलाई बोक्न नसकिने भन्दै उनीहरूले थपलियाको अपमान नै गरेको बैठकमा सहभागी एक प्रदेश सांसदले बताए । मन्त्री भरत केसीले पनि थपलियाकै विपक्षमा बोले ।
थपलियाको पक्षमा भने प्रमुख सचेतक एकलाल श्रेष्ठ, सांसद केशव पोखरेल र उर्मिला सुनुवारबाहेक अरू खुलेनन् । थपलियाको पक्षमा खुलेका श्रेष्ठले पार्टीमा सबैको योगदानको मूल्यांकन हुनुपर्ने बताउँदै कसैको अपमान गर्न नहुनेमा जोड दिएका थिए ।
प्रदेश इन्चार्ज बस्नेतमार्फत ०७३ सालमा राप्रपाबाट एमाले प्रवेश गरेका भक्तपुरका किरण थापालाई संसदीय दलको नेता बनाउन जोडतोडका साथ पहल भइरहेको थियो । राप्रपाबाट वडाध्यक्ष जितेका थापा एमाले प्रवेश गरेलगत्तै प्रदेश सांसद बनेका थिए ।
सांसद थापाले आफूलाई दलको नेता बनाए राप्रपाका १२ मध्ये सात सांसदको समर्थन जुटाउन सकिने दाबी गर्दै आफ्नो हिसाब प्रस्तुत गरेपछि ओलीले थपलियालाई मंगलबार बिहान १० बजेसम्म अन्य दलसँग छलफल गरी जसरी पनि सहमति जुटाउन निर्देशन दिएका थिए । उनले भनेका थिए, ‘मंगलबार बिहान १० बजेसम्म जसरी पनि राप्रपालाई सहमतिमा ल्याएर बहुमत पुर्याउनुस् । नभए पार्टीले सरकार गठनका लागि नयाँ ढंगले सोच्नुपर्ने हुन्छ ।’
ओलीको उक्त अल्टिमेटमपछि थपलियाले इमानदार राजनीतिको पक्षमा रहेको, अनैतिक काम नगर्ने र आवश्यक परे पद नै छोड्न तयार रहेको जवाफ दिएका थिए ।
बैठकमा ओलीले दलको नेता भएर पनि राजनीतिक संवादमार्फत कुनै सहमति जुटाउन नसकेको आरोप लगाएपछि थपलियाले त्यसको प्रतिवाद गरेका थिए । थपलियाले जवाफमा भनेका थिए, ‘मैले राजनीतिक रूपमा गर्नुपर्ने वार्ता र छलफल निरन्तर गरिरहेको छु । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि भेटेको छु । प्रदेश तहका नेताहरूसँग पनि आफ्नो तर्फबाट संवाद गरेको छु । तर, जसरी पनि सहमति जुटाएर बहुमत पुर्याउने जिम्मेवारी मेरो मात्र होइन । माथिल्लो तहको नेतृत्वसँग कुरा गरेर अन्तिम सहमति गर्ने दायित्व पार्टी नेतृत्वकै हो ।’
पार्टीमा लागेदेखि कहिल्यै अनैतिक काम नगरेको भन्दै थपलियाले बरु पार्टी दलको नेता र केन्द्रीय सदस्य छोड्ने, तर जसरी पनि बहुमत जुटाउने काम गर्न नसक्ने जवाफ दिएका थिए । ‘चालिस–पचास वर्षदेखि यही आन्दोलनमा छु । अहिलेसम्म अनैतिक राजनीति गरेको छैन । इमानपूर्वक पार्टी र आन्दोलनमा समर्पित भएर लागेको छु । अब पनि जसरी पनि सहमति गर्ने नाममा मबाट अनैतिक काम हुन्न,’ थपलियाको भनाइ उद्धृत गर्दै अर्का एक सांसदले भने, ‘पार्टी अध्यक्षले नै मेराविरुद्ध हस्ताक्षर चलाउँदै हिँडेपछि राम्रो हुँदैन । बरु त्यही नाममा संसदीय दलको नेता, पार्टी केन्द्रीय सदस्यबाट राजीनामै दिनुपर्ने भए छोडिदिन्छु ।’
केहीबेर दुवै पक्षबिच सवाल–जवाफ चलिरहेकै क्रममा विगतका घटनाक्रम सम्झँदै थपलिया भावुक बनेका र त्यसपछि बेहोस भएको प्रदेश सांसद केशव पोखरेलले बताए ।
सवाल–जवाफकै बिच भावुक भएका थपलियाको बोली एक्कासि बन्द भएको थियो । लगत्तै, उनी बसेको ठाउँमै लडेका थिए । त्यसपछि ओलीले ‘बैठकको प्रेसर त थेग्न नसक्ने मान्छेले मुख्यमन्त्री कसरी चलाउँछ ?’ भन्दै अस्पताल लैजान निर्देशन दिएका थिए ।
ओलीको निर्देशनपछि थपलियाका सम्धीसमेत रहेका दलका उपनेता दावा दोर्जे लामा र अर्का सांसद केशव पोखरेलले उठाएर अस्पताल लगेका थिए । सांसद पोखरेलले पनि आफू र लामाले नै थपलियालाई मध्यपुर थिमी अस्पताल भर्ना गराएको जानकारी दिए । राति नै डिस्चार्ज भएका उनी थप उपचारका लागि अहिले वीर अस्पतालमा छन् । थपलिया पहिलेदेखि सुगर र प्रेसरका बिरामी छन् ।
थपलियालाई अस्पताल लगिएपछि प्रदेश इन्चार्ज बस्नेतले दलको नेताको विषय टुंग्याएर निष्कर्षमा पुग्नुपर्ने भन्दै जोड गरेका थिए । तर, बुधबार राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने भएकाले त्यति वेलासम्म कुर्ने सहमतिसहित बैठक टुंगिएको थियो ।
बस्नेतले भने थपलियाको स्वास्थ्यबारे सञ्चारमाध्यमले तोडमोड गरेको दाबी गरे । ‘आफ्नो धारणा राख्ने क्रममा उहाँ भावुक हुँदा गला अवरुद्ध भएको र स्वास्थ्यमा सामान्य असहजता देखिएको हो । यसलाई तोडमोड गरेर प्रचार गरिएको छ,’ उनले सार्वजनिक प्रतिक्रिया दिँदै भनेका छन् ।
बस्नेतले लोकतान्त्रिक मूल्य–मान्यता र आवश्यक परे संसदीय प्रक्रियाअनुसार नै बागमती सरकारको नेतृत्व टुंगो लाग्ने दाबी गरे । ‘एमाले र नेकपा मिल्दा पनि प्रदेश सभामा बहुमतका लागि अझै ३ सिट आवश्यक छ । त्यसैले सबै पक्ष समेटेर सरकार बनाउन शीर्ष नेतृत्वले आवश्यक पहल गर्न निर्देशन गरेको छ,’ उनले भने ।
गुन्डु बैठकको तस्बिर
सोमबार बेलुकी ७ बजेबाट जगन्नाथ थपलियासहितको उपस्थितिमा पार्टी र संसदीय दलको बैठक गुन्डुमा बसेको थियो । जहाँ किरण थापाले आफूलाई दलको नेता बनाए राप्रपाका १२ मध्ये सात सांसदको समर्थन जुटाउन सकिने दाबी गर्दै आफ्नो हिसाब प्रस्तुत गरे । त्यसपछि ओलीले थपलियालाई मंगलबार बिहान १० बजेसम्म अन्य दलसँग छलफल गरी जसरी पनि सहमति जुटाउन निर्देशन दिए ।
तर, पार्टीमा लागेदेखि कहिल्यै अनैतिक काम नगरेको भन्दै थपलियाले बरु पार्टी दलको नेता र केन्द्रीय सदस्य छोड्ने, तर ‘जसरी पनि’ बहुमत जुटाउने काम गर्न नसक्ने जवाफ फर्काए ।
यही विषयमा दुवै पक्षबिच सवाल–जवाफ चलिरहेकै क्रममा विगतका घटनाक्रम सम्झँदै थपलिया भावुक बनेका र त्यसपछि बेहोस भएको प्रदेश सांसद केशव पोखरेलले बताए । ‘उहाँको मानमर्दन भएजस्तो वातावरण बन्यो । उहाँलाई असक्षम भन्दै निकै दबाब दिइयो,’ प्रत्यक्षदर्शी पोखरेलले भने, ‘त्यसपछि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा विगतका घटनाक्रम सम्झेर उहाँ भावुक हुनुभयो । त्यही क्रममा उहाँलाई असहज महसुस भयो र ढल्नुभयो ।’
थपलिया ढलेपछि ओलीले त्यसलाई समेत गम्भीरतापूर्वक लिएनन् । र, भने, ‘बैठकको यति प्रेसर त थेग्न नसक्नेले कसरी मुख्यमन्त्री भएर सरकार चलाउँछ, यिनलाई उठाएर अस्पताल लैजानुस् ।’
त्यसपछि थपलियाका सम्धीसमेत रहेका दलका उपनेता दावा दोर्जे लामा र अर्का सांसद केशव पोखरेलले उठाएर मध्यपुर थिमी अस्पताल पुर्याएका थिए ।
कार्कीको अडानले दबाबमा ओली
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पार्टीको संस्थागत निर्णयविना पछि नहट्ने अडान दोहोर्याएका छन् । अध्यक्ष केपी ओलीसँग मंगलबार भएको भेटवार्तामा कार्कीले पुरानै अडान दोहोर्याएका हुन् । ओलीले पटक–पटक अवसर पाएको र प्रदेशको राजनीतिक सन्तुलन मिलाउन जनजाति पृष्ठभूमिको व्यक्तित्व अगाडि सार्न खोजिएकाले सहयोग गर्न कार्कीलाई आग्रह गरेका थिए । तर, कार्की त्यसमा सहमत भएनन् ।
स्रोतका अनुसार कार्कीले ओलीसँग भनेका थिए, ‘सरकारको तर्फबाट काममा कमजोरी भएको छैन । सरकारको नेतृत्व फेरिरहँदा अस्थिरताको सन्देश जान्छ । तैपनि पार्टीले स्पष्ट निर्णय गरेर फिर्ता बोलाए दलको नेता र मुख्यमन्त्रीबाट हट्छु । होइन, प्रक्रियाबाटै टुंगो लगाउने हो भने पनि म तयार छु । लोकतान्त्रिक प्रक्रिया आत्मसात् गर्न मलाई आपत्ति छैन ।’
कोशीमा ओलीले उपनेता तिलकुमार मेन्याङ्बोलाई अगाडि सारेका छन् । ओलीले प्रदेश इन्चार्ज शेरधन राईमार्पmत कार्कीको राजीनामा गराउन कोसिस गरे पनि सफल भएनन् । त्यसपछि उनीसहित प्रदेश पदाधिकारीहरूलाई छलफलका लागि काठमाडौं बोलाएका थिए ।
छलफलमा प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतका पदाधिकारीले प्रदेशको पछिल्लो अवस्थाबारे रिपोर्टिङ गरेका थिए । त्यसलगत्तै कार्कीले ओलीसँग अलग्गै भेटवार्ता गरेका थिए ।
महासचिव शंकर पोखरेल गृहजिल्ला दाङमा रहेका कारण उनी फर्किएलगत्तै प्रदेशका मुख्यमन्त्रीहरूको विषय टुंगोमा पुर्याउने योजनामा ओली छन् । सोही कारण बुधबार पुनः गुन्डुमा छलफल राखिएको छ ।