यो वर्षको जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । जुलाई २०२६ मा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको जुलाईको तुलनामा ६१.०९ प्रतिशतले बढी हो । २०२५ को जुलाईमा नेपाल घुम्न चीनबाट ६ हजार आठ सय ९० पर्यटक आएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । त्यस्तै, सन् २०१९ को जुलाईमा चीनबाट १० हजार दुई सय १५ जना पर्यटक आएका थिए । यसरी हेर्दा चिनियाँ पर्यटक आगमन कोभिडपूर्वको अवस्थाभन्दा ८.६५ प्रतिशतले माथि पुगेको देखिएको छ ।
यो वर्षको जुलाईमा कुल ७१ हजार सात सय ७५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशतले बढी हो । गत जुलाईमा ७० हजार एक सय ९३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट २३ हजार चार सय ९० जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ३२.७३ प्रतिशत हो । त्यसैगरी, तेस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट जुलाईमा सात हजार सात सय ५४ जना पर्यटक आएका छन् । यस्तै, बंगलादेशबाट चार हजार एक सय ७९, बेलायतबाट तीन हजार सात सय ७३ र अस्ट्रेलियाबाट दुई हजार चार सय २८ जना पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी छ । जुलाईमा सार्क मुलुकबाट २९ हजार सात सय ५५ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ४१.४६ प्रतिशत हो । तर, यो संख्या अघिल्लो वर्षको ३३ हजार सात सय ८७ को तुलनामा ११.९३ प्रतिशतले कम छ । भुटानबाट आउने पर्यटकको संख्या नौ सय ९१ जना रहेको छ । पाकिस्तानबाट आउने पर्यटक ३.९४ प्रतिशतले बढेर चार सय ७५ पुगेका छन् । यस्तै, श्रीलंकाबाट पाँच सय ८१ पर्यटक आएका छन्, जुन अघिल्लो वर्ष पाँच सय ९८ थिए, माल्दिभ्सबाट ३९ जना पर्यटक आएका छन्, जुन २.८४ प्रतिशत कम हो ।
दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट जुलाईमा १७ हजार चार सय २४ जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको २४.२८ प्रतिशत हो । अघिल्लो वर्षको जुलाईमा १३ हजार ५२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस आधारमा हेर्दा अन्य एसियाली बजारमा पर्यटकको संख्या ३३.०५ प्रतिशतले वृद्धि भएको छ ।
यस समूहमा चीनपछि दक्षिण कोरियाबाट एक हजार तीन सय ९४, मलेसियाबाट एक हजार तीन सय ८०, जापानबाट एक हजार एक सय ११, भियतनामबाट पाँच सय ७४, सिंगापुर र म्यानमारबाट समान चार सय ३७ तथा थाइल्यान्डबाट चार सय २८ जना पर्यटक आएका छन् । युरोपबाट जुलाईमा नौ हजार दुई सय ७९ जना पर्यटक नेपाल आएका छन् । कुल आगमनमा युरोपको हिस्सा १२.९३ प्रतिशत रहेको छ ।