एमाले–नेकपा गठबन्धनले बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि जोडबल गरिरहे पनि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अल्पमतको सरकार चलाइरहेका छन् । प्रदेशमा राजनीतिक गतिरोध रहेका वेला मुख्यमन्त्री बानियाँले सोमबार हेटौँडामा बोलाएको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरण र नयाँ सरकार गठनको विषयमा दलहरूबिच बहस भएको छ ।
एमाले–नेकपाले मुख्यमन्त्री बानियाँलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् भने बानियाँले स्पष्ट बहुमतको आधार प्रस्तुत गर्न चुनौती दिएका छन् ।
नेकपा बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले नयाँ सरकार गठनका लागि आवश्यक राजनीतिक प्रयास गरिरहेको जानकारी दिँदै केही समयमै सहज वातावरण बन्ने विश्वास व्यक्त गरे । राजनीतिक निकासका लागि मुख्यमन्त्रीले विश्वासको मत वा अन्य संवैधानिक प्रक्रियामा जानुपर्ने सुझाव दिए ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीका प्रस्तावित उम्मेदवार जगन्नाथ थपलियाले अल्पमतको सरकारको आयु कृत्रिम रूपमा लम्ब्याउनु उपयुक्त नहुने बताए । ‘सरकारमा सहभागी दलले समर्थन फिर्ता गरिसकेको अवस्था छ । त्यसैले नयाँ गठबन्धनलाई काम गर्न दिन पनि तपाईँले मार्गप्रशस्त गर्नुपर्छ । संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको वातावरण सहज बनाइदिनुस्,’ उनले बैठकमा भने ।
तर, मुख्यमन्त्री बानियाँले नयाँ गठबन्धनसँग स्पष्ट अंकगणितीय आधार नभएसम्म आफूले राजीनामा दिने वा मार्गप्रशस्त गर्ने निर्णय गर्न नसक्ने बताए । उनले प्रदेश सरकार लामो समय अलमलमा रहँदा प्रशासनिक कामकाज, नयाँ बजेट कार्यान्वयन तथा मन्त्रालय पुनर्संरचनामा प्रत्यक्ष असर परेको उल्लेख गरे । ‘तपाईँहरूमध्ये कसैले सरकार बनाउने हो भने चाँडै निर्णय ल्याउनुहोस् । तपाईंहरूको बहुमत पुग्छ भने म मार्गप्रशस्त गर्न तयार छु । होइन भने प्रदेशलाई अनिर्णयको बन्दी नबनाउनुहोस् । अल्पमतको सरकारमा रहनु मेरो रहर होइन,’ उनले भने, ‘मैले वातावरण बनाइदिएको छु । तपाईँहरू बहुमत प्रमाणित गरेर अगाडि बढ्न सक्नुहुन्छ वा मलाई नै विश्वासको मत दिएर सरकारलाई निरन्तरता दिन पनि सक्नुहुन्छ ।’
राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफ्नो पार्टी धेरै समयसम्म निर्णयविहीन अवस्थामा नरहने बताए । उनले राप्रपाले सरकार गठनबारे अन्तिम निर्णय भने अझै नगरेको स्पष्ट पारे । हाल प्रदेशको सत्तासमीकरणमा निर्णायक शक्ति बनेको राप्रपाले सरकारमा सहभागी हुने, बाहिरबाट समर्थन गर्ने वा प्रतिपक्षमै बस्ने विषयमा केन्द्रीय तहमा छलफल जारी रहेको जनाएको छ ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेता सुरेन्द्र गोसाईंले आफ्नो पार्टी सरकार बनाउने खेलमा नरहेको र संसद्मा हुने मतदानका आधारमा निर्णय गर्ने बताए ।