इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकासँग इजरायलको अपरिहार्य गठबन्धनलाई पुनः पुष्टि गर्न हालै वासिङटन डिसीकोे भ्रमण गरे । भ्रमणकै क्रममा सार्वजनिक भएको एक जनमत सर्वेक्षणले अमेरिका–इजरायल सम्बन्ध कति गहिरो रूपमा परिवर्तन भएको छ भन्ने खुलासा भयो । २८ जुलाईमा सार्वजनिक भएको युगोभ सर्वेक्षणअनुसार ४९ प्रतिशत अमेरिकी नेतन्याहुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गरेको वारेन्टअन्तर्गत पक्राउ गर्नुपर्छ भन्ने विश्वास गर्छन् ।
अझ उल्लेखनीय कुरा त नेतत्याहुले गाजामा युद्ध अपराध गरेको ४७ प्रतिशतको विश्वास छ । केवल एक दशकअघि, यस्ता निचोड राजनीतिक रूपमा अकल्पनीय थिए । अहिले यी निस्कर्ष नेतन्याहुले इजरायली नेताहरूको पुस्ताले बेवास्ता गरेको काम पूरा गरेको स्पष्ट प्रमाण हुन् : अमेरिकी विदेशी नीतिको मुद्दामा ध्र्रुवीकरण ल्याउनु ।
त्यो रूपान्तरण सन् २०२३ को अक्टोबर ७ को आक्रमण वा गाजामा भएको नरसंहार र विनाशबाट मात्र सुरु भएको होइन । ती घटनाले नेतन्याहुले वर्षौँअघि नै थालनी गरेको प्रक्रियालाई अझ तीव्र बनाए । पुस्ताौँदेखि इजरायली नेताहरूले यो बुझेका थिए कि इजरायल कहिल्यै पनि अमेरिकी दृष्टिमा दलीय राजनीतिक मुद्दा बन्नुहुँदैन । तर, अमेरिकासँग इजरायलको गठबन्धन यसकारण कायम रह्यो किनभने वासिङटनका दुवै दलले इजरायललाई एक रणनीतिक साझेदारका रूपमा हेर्छन् । त्यो सहमतिसैन्य सहायता प्याकेजजत्तिकै मूल्यवान् थियो । नेतन्याहुले त्यो पुँजी विरासतमा पाएका थिए । अहिले उनी त्यसलाई गुमाउने जोखिममा छन् ।
विडम्बनाको कुरा के छ भने थोरै इजरायली राजनीतिज्ञहरूले अमेरिकालाई राम्रोसँग चिनेका थिए । आंशिक रूपमा अमेरिकामा शिक्षित, त्यहाँको राजनीतिक भाषा बुझेका र वासिङटनको स्थापनासँग गहिरो रूपमा जोडिएका नेतन्याहुले शक्ति कसरी सञ्चालन हुन्छ भनेर बुझे । तैपनि त्यसले गलत गणनालाई जन्म दियो । वैचारिक परिवर्तनले स्थायी रूपमा रिपब्लिकन पार्टीलाई समर्थन गर्छ भन्ने कुरामा विश्वस्त नेतन्याहुले आफ्ना पूर्ववर्तीको सावधानीपूर्वक सन्तुलित कार्यलाई त्यागे र अमेरिकाको फराकिलो पक्षपाती विभाजनको एक पक्षमा ठुलो लगानी गरे ।
थोरै इजरायली राजनीतिज्ञहरूले मात्र अमेरिकालाई राम्रोसँग चिन्ने अवसर पाएका थिए । आंशिक रूपमा अमेरिकामा शिक्षित, त्यहाँको राजनीतिक भाषा बुझेका र वासिङटनसँग गहिरो रूपमा जोडिएका नेतन्याहुले शक्ति कसरी सञ्चालन हुन्छ भनेर बुझे ।
२०१५ मा निर्णायक विच्छेद भयो जतिवेला नेतन्याहुले राष्ट्रपति बाराक ओबामाको अवज्ञा गर्दै कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्न रिपब्लिकन पार्टीको निमन्त्रणा स्वीकार गरे । रूढीवादीहरूले भाषणलाई साहसको रूपमा लिए । रणनीतिक रूपमा यसले एक विभाजनको संकेत गर्यो । पहिले कहिल्यै इजरायली प्रधानमन्त्रीले बहालवाला राष्ट्रपतिविरुद्ध यति प्रत्यक्ष हस्तक्षेप गरेका थिएनन् । लाखौँ डेमोक्र्याट द्विविधामा परे ।
डोनाल्ड ट्रम्पको राष्ट्रपतिकालमा इजरायली रणनीतिलाई सहयोग गरेको देखिन्थ्यो । जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिए । अमेरिकी दूतावास सारियो । कब्जा गरिएको गोलान हाइट्समाथि इजरायली सार्वभौमिकतालाई मान्यता दिइयो र अमेरिका–इरान आणविक सम्झौताबाट पछि हट्यो । रिपब्लिकन वफादारीले स्थायी रूपमा डेमोक्र्याटिक सहमतिलाई प्रतिस्थापन गर्न सक्छ भन्ने नेतन्याहुले बुझे । त्यो विश्वास रणनीतिक रूपमा अदूरदर्शी थियो । गठबन्धन जीवित रहन्छन् किनभने तिनीहरू संस्था र साझा मूल्य–मान्यतानिहित हुन्छ । तिनीहरू एउटै प्रशासनमा निर्भर छैनन् । इजरायललाई रिपब्लिकन राजनीतिसँग पहिचान हुन दिएर नेतन्याहुले गठबन्धनलाई त्यतिवेला कमजोर बनाए जतिवेला यो बलियो रहनु आवश्यक थियो ।
गाजामा इजरायलको नरसंहारकारी युद्धले परिणाम उजागर गर्यो । राष्ट्रपति जो बाइडेनले आफ्नो डेमोक्रेटिक पार्टीको अभूतपूर्व दबाबका बाबजुद अक्टोबर ७, २०२३ को आक्रमणपछि इजरायललाई असाधारण सैन्य, कूटनीतिक र राजनीतिक समर्थन प्रदान गरे । उनले युद्धको समयमा इजरायलको भ्रमण गरे, सैन्य सहयोगलाई तीव्र बनाए, संयुक्त राष्ट्र संघमा यसको बचाउ गरे र कडा घरेलु आलोचनालाई आत्मसात् गरे ।
नेतन्याहुले बारम्बार सार्वजनिक टकरावको जवाफ दिए । उनले वासिङटनलाई हतियार रोकेको आरोप लगाए, युद्धपछिको शासनका लागि अमेरिकी प्रस्तावलाई अस्वीकार गरे, मानवीय पहुँचको प्रतिरोध गरे र रणनीतिक प्रश्नहरूमा ह्वाइट हाउसको विरोध गरे । बाइडेनले विशाल राजनीतिक पुँजी लगानी गरे पनि नेतन्याहु इजरायलको सबैभन्दा महत्वपूर्ण सहयोगीको विश्वास जोगाउनुभन्दा आफ्नो घरेलु आधारमा स्वतन्त्रता प्रदर्शन गर्न बढी इच्छुक देखिए ।
यसैबिच, युद्धको तौरतरिकाले विश्वव्यापी दृष्टिकोणलाई आमूल परिवर्तन गरिदियो । निरन्तरको बमबारीले गाजालाई तहसनहस बनायो । अस्पताल, विद्यालय, विश्वविद्यालय र पूरै बस्ती ध्वस्त भए भने मानवीय सहायतामा लगाइएका कडा प्रतिबन्धहरूले अनिकालको चेतावनी निम्त्याए ।
यस्ता कार्य युद्ध अपराधको कानुनी परिभाषाभित्र पर्छन् वा पर्दैनन् भन्ने कुरा अदालतले निर्धारण गर्नेछ । तर, राजनीतिक रूपमा भने यससम्बन्धी निष्कर्ष बनिसकेको छ र यो निष्कर्ष विश्वभर मात्र नभई बढ्दो रूपमा स्वयं अमेरिकाभित्र पनि बलियो हुँदै गएको छ । तटस्थ सर्वेक्षणको निष्कर्ष व्यक्तिगत रूपमा महत्वपूर्ण छ । लगभग आधा अमेरिकीले इजरायली प्रधानमन्त्रीलाई पक्राउ गर्नुपर्छ भन्ने विश्वास गर्छन् र लगभग आधाले उनले युद्ध अपराध गरेको विश्वास गर्छन् भन्ने तथ्यले उनको नेतृत्वमा इजरायललाई हेर्ने अमेरिकीहरूको दृष्टिकोणमा गहिरो परिवर्तनलाई प्रतिबिम्बित गर्दछ । सर्वेक्षणमा उतारचढाव आउँछ ।
राजनीतिक परिणाम देखिन थालेका छन् । युवा मतदाताले परम्परागत गठबन्धनको सट्टा कब्जा, रंगभेद र विश्वव्यापी मानव अधिकारको सन्दर्भमा द्वन्द्वको बारेमा छलफल गर्छन् । पहिले इजरायलको आलोचना गर्न अनिच्छुक कांग्रेसका सदस्यहरू अब खुलेआम क्रमिक सरकारहरूलाई चुनौती दिन्छन् । रिपब्लिकन समर्थनलाई पनि अब स्थायी मान्न सकिँदैन । युवा रूढीवादी लोकप्रियतावादीहरू विनासर्त विदेशी प्रतिबद्धतामा शंका व्यक्त गरेका छन् । एकपटक इजरायललाई सुरक्षित गर्ने द्विदलीय सहमतिले निरन्तर धेरै अस्थिर वातावरणलाई बाटो दिइरहेको छ ।
नेतन्याहुको सत्तारूढ गठबन्धनले त्यो संकटलाई अझ गहिरो बनाएको छ । खुलेआम विलयको वकालत गर्ने, प्यालेस्टिनी आत्मनिर्णयलाई अस्वीकार गर्ने र सामूहिक दण्डको रक्षा गर्ने अतिराष्ट्रवादी मन्त्रीहरूलाई सशक्त बनाएर, उनको सरकारले अतिवादी बयानबाजी र आधिकारिक राज्य नीतिबिचको रेखालाई धमिलो पारेको छ ।
नेतन्याहुले प्यालेस्टिनी राज्यको अर्थपूर्ण छलफललाई निरन्तर अस्वीकार गरेका छन् । गाजामा प्यालेस्टिनी प्राधिकरणको फिर्ताको विरोध गरेका छन् । र, पुनर्निर्माणका लागि कुनै विश्वसनीय रूपरेखा प्रस्ताव गरेका छैनन् । सैन्यशक्तिले पूर्वाधारलाई नष्ट गर्न र सशस्त्र समूहहरूलाई कमजोर बनाउन सक्छ । बल प्रयोगले भूमि, सार्वभौमिकता र आत्मनिर्णयको प्रतिस्पर्धात्मक दाबीमा आधारित राष्ट्रिय द्वन्द्वलाई आफैँ समाधान गर्न सक्दैन । व्यावहारिक राजनीतिक क्षितिजलाई अस्वीकार गरेर नेतान्याहुले स्थायी द्वन्द्वलाई अनपेक्षित परिणामको रूपमा होइन, बरु आधिकारिक नीतिको रूपमा देखापरेका छन् ।
अलजजिराबाट