- सुनसरीको कर्फ्यु हट्यो, जनकपुरधाम, लहान र सप्तरीको बोदेबरसाइनमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा, वीरगन्जमा हट्यो निषेधाज्ञा
सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा भएको झडप र त्यसपछि सिर्जित परिस्थितिबाट अशान्त तराई–मधेशको सुरक्षा अवस्था सामान्यउन्मुख बन्दै गएको छ ।
स्थानीय प्रशासनले देवानगन्जसहित सुनसरीका १० पालिकामा लगाउँदै आएको कर्फ्यु शनिबारबाट हटाएर निषेध आदेश कायम गरेको छ भने सिराहाको गोलबजारसहितका क्षेत्रमा गत बिहीबारबाट कायम भएको कर्फ्यु पनि शनिबार दुई घण्टा खुकुलो बनाएर सुरक्षा अवस्था विश्लेषण गरिएको छ । त्यस्तै, गत बिहीबारबाट कर्फ्यु लागू भएका धनुषाको जनकपुरधाम, सिराहाको लहान र सप्तरीको बोदेबरसाइनको पनि शनिबारबाट निषेधाज्ञा कायम गरिएको छ । पर्साको वीरगन्जमा निषेधाज्ञा हटेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले गत आइतबारको घटनामा ज्यान गुमाएका परिवारसँग सातबुँदे सहमति गरेपश्चात् सुरक्षा अवस्था सामान्यउन्मुख बन्दै गएको बताए । ‘तर पनि एक ठाउँमा भेला भएर कुनै योजना बनाउन नपाऊन् भनेर निषेध आदेश कायम गरेका छौँ,’ अर्यालले भने, ‘पाँचजनाभन्दा बढी भेला हुन पाइँदैन । हिँडडुल गर्न, बजार खोल्न, गाडी चलाउन रोक छैन । अहिले पनि फिल्डमा सेना, प्रहरी, सशस्त्र प्रहरी परिचालन छ ।’
सुनसरीको देवानगन्जसहित क्षेत्रमा सोमबार बिहानबाट कर्फ्यु आदेश जारी भएको थियो । तर, सोमबार राति ९ बजेदेखि कर्फ्यु क्षेत्र विस्तार गर्दै १० पालिकामा अनिश्चितकालीन कायम गरिएको थियो । अवस्था सुधार हुँदै गएपछि प्रशासनले शनिबार बिहान साढे ८ देखि साँझ ५ बजेसम्मको अवधिमा निषेध आदेश परीक्षण गरिएको थियो । त्यसपछि प्रशासनले फेरि शनिबार साँझ ५ देखि आइतबार बिहान ९ बजेसम्मका लागि निषेध आदेश कायम गरेको छ । कप्तानगन्जमा गत आइतबार राति भएको झडपका क्रममा ज्यान गुमाएका २४ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहताको शव आफन्तले बुझेर शुक्रबार दाहसंस्कार गरिसकेका छन् ।
त्यसैगरी, सिराहा प्रशासनले गत बिहीबार दिउँसो २ बजेदेखि सिराहाको गोलबजार क्षेत्रमा लगाएको कर्फ्यु शनिबार अपराह्न ३ देखि साँझ ५ बजेसम्मका लागि केही खुकुलो बनाएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सुरक्षा अवस्थाको विश्लेषण र आमसर्वसाधारणले दैनिक उपभोग्य सामाग्री व्यवस्थापन गर्न दुई घण्टाका लागि कर्फ्यु खुकुलो गरिएको बताए । उक्त अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधन सञ्चालन भएका थिए । कर्फ्यु खुकुलो पारिएको अवधिमा पाँचजनाभन्दा बढी समूह भेला जम्मा नहुनसमेत सूचित गरिएको थियो । तर, राति भने कर्फ्युमा कडाइ गरिएको छ । गत बिहीबार अपराह्न ४ बजेदेखि कायम भएको लहानको कर्फ्यु भने ४२ घण्टापछि शनिबार बिहान १० बजेदेखि हटाइएको छ । गोलबजार क्याम्पस चोकमा भएको झडपमा एकजनाको मृत्यु भएको थियो । गृहमन्त्री सुधन गुरुङ आफैँ देवानगन्ज पुगेर बिहीबार राति परिवारसँग सातबुँदे सम्झौता गरेपछि आफन्तले शव बुझेका थिए ।
सातबुँदे सहमतिपछि उठ्यो गणेशको शव
- परिवारका सदस्यलाई रोजगारी र निःशुल्क शिक्षा दिने सहमति
सिराहाको गोलबजार नगरपालिका– ४ क्याम्पस चोकमा बिहीबार दिउँसो गोली लागेर ज्यान गुमाएका औरही गाउँपालिका– २ तुलसीपुर गाउँका १७ वर्षीय गणेश यादवको शव शनिबार साँझ गाउँ लगेर गागनखोला किनारमा दाहसंस्कार गरिएको छ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टम गरी सेनाको हेलिकोप्टरमार्फत शव ल्याएर दाहसंस्कार गरिएको हो ।
सुनसरीको कप्तानगन्जमा गत आइतबार राति भएको झडपका क्रममा ज्यान गुमाएका २४ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहताको शव आफन्तले बुझेर शुक्रबार दाहसंस्कार गरेका छन् । गृहमन्त्री सुधन गुरुङ आफैँ देवानगन्ज पुगेर बिहीबार राति परिवारसँग सातबुँदे सम्झौता गरेपछि आफन्तले शव बुझेका थिए । गत बिहीबार गोलबजारको प्रदर्शनमा प्रहरीको गोली लागेर गणेशको मृत्यु भएको थियो । शुक्रबार मध्यरातमा सिराहाका सांसदहरू बब्लु गुप्ता, शिवशंकर यादवसहित तुलसीपुर गाउँ पुगेका गृहमन्त्री गुरुङ र मृतकका परिवारबिच सातबुँदे सम्झौता भएपछि शव उठेको हो । मृतकका बाबु रामवृक्ष यादव र गृहमन्त्री गुरुङले हस्ताक्षर गरेको सम्झौताअनुसार सरकार पक्षले सम्बन्धित परिवारले राखेका माग यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता गरिएको छ । सहमतिअनुसार सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, मृतकका परिवारलाई सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, गोलबजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अगाडि बढाइने उल्लेख छ ।
त्यस्तै, मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने, मृतकको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क तथा आवास निर्माणका लागि आवश्यक पहल गर्ने सहमति भएको छ । सहमतिअनुसार मृतकका भाइबहिनीको निःशुल्क शिक्षा र नेपाल सरकारका तर्फबाट बाबुआमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउनेसहितको सहमति भएको थियो । गणेशको घर रहेको औरही गाउँ कार्यपालिकाको निर्णयअनुसार उनको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिइने भएको छ ।
सरकार र हिन्दुवादी मोर्चाबिच ११ बुँदे सहमति, आन्दोलन फिर्ता लिने
मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्था समाधानका लागि गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत हिन्दुवादी संगठनका प्रतिनिधिबिच शनिबार राति ११ बुँदे सहमति भएको छ । शनिबार साँझ करिब ८ बजेदेखि सुरु भएको वार्तामा मधेश प्रदेश सरकार, सुरक्षा निकाय र आन्दोलनकारी पक्षका प्रतिनिधि सहभागी थिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले मोर्चासँग ११ बुँदे सहमति भएको बताए । उनका अनुसार हिन्दुवादी मोर्चाले बुझाएको १३ बुँदे मागको विषयमा गृह मन्त्रालयले गम्भीरतापूर्वक छलफल गर्ने सहमति भएको छ । आन्दोलनकारी पक्षले उठाउँदै आएको नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागको विषयमा तीन महिनाभित्र सर्वदलीय बैठकमा छलफल गर्ने सहमति भएको छ । मोर्चाले आइतबारदेखि सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिने छ ।