- कोशी प्रदेश सरकारले पनि मृतकको परिवारलाई दुई लाख रुपैयाँ र घाइते र प्रभावित परिवारलाई ५० हजार राहत दिने
गत साउन १० राति देवानगन्ज– ३, कप्तानगन्जको नयाँहाट बजारमा दुई समुदायबिच भएको झडपका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका मृतकलाई सहिद घोषणा गर्ने र परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने गृहमन्त्री सुदन गुरुङ र स्थानीयवासीबिच सहमति भएको छ ।
बिहीबार मध्यराति सुनसरीको देवानगन्ज पुगेका गृहमन्त्री सुधन गुरुङसँग स्थानीय र पीडित पक्षहरूबिच सहमति भएको हो । प्रहरीको गोली लागेर मृत्यु भएका २४ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहतालाई सरकारले सहिद घोषणा गर्ने र परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने सहमति भएको छ।
बिहीबार अबेर राति देवानगन्ज गाउँपालिकमा स्थानीयसँग भएको सहमतिअनुसार मृतकलाई सहिद घोषणा र १० लाख राहतसँगै परिवारका एकजना सदस्यलाई रोजगारी दिने, पालिकामा मृतकहरूको नाममा स्मृति पार्क निर्माण गर्ने, कप्तानगन्जमा रहेको मदरसाको कानुनी वैधता छानबिन गर्ने र छानबिन समितिको सिफारिस तुरुन्त कार्यान्वयन गरिने निर्णय भएको छ । सहमतिपछि आज बिहीबार नै दुईजना मृतक युवाहरूको दाहसंस्कार गरिने भएको छ ।
बिहीबार साँझ ९ बजे विराटनगर आइपुगेका गृहमन्त्री गुरुङले विराटनगरका विभिन्न अस्पतालमा उपचाररत देवानगन्ज घटनामा गोली लागेका घाइतेहरूको अवस्था बुझेका थिए । त्यसपछि सोझै राति १२ बजे सुनसरीको देवानगन्ज पुगेर स्थानीय पालिका अध्यक्ष, स्थानीयवासी र पीडित परिवारसँग लामो छलफल गरेर सहमति गरेका थिए ।
देवानगन्ज गाउँपालिकाले पनि मृतकका परिवारलाई १० लाख राहत दिने
बिहीबार देवानगन्ज गाउँपालिकाले पनि मृतक परिवारलाई जनही १० लाख र घाइतेहरूलाई अवस्था हेरेर ५० हजारदेखि दुई लाखसम्म क्षतिपूर्ति दिने र सहिदको मान्यता दिलाउन नेपाल सरकारसँग आग्रह गर्ने निर्णय गरेको थियो । कोशी प्रदेश सरकारले पनि मृतकको परिवारलाई दुई लाख रुपैयाँ र घाइते र प्रभावित परिवारलाई ५० हजार राहत दिने घोषणा गरिसकेको छ ।
सुनसरीको देवानगन्ज गाउँपालिका– ३ स्थित कप्तानगन्जमा आइतबार राति डिजे बजाएको विवादमा दुई समुदायका युवाहरूबिच भएको झडपपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर देवानगन्ज– ४ का २४ वर्षीय ओमप्रकाश मेहताको आइतबार र घाइते भएका देवानगन्ज– ३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको थियो ।
घटनामा गोली लागेर घाइते भएका सातजनामध्ये एकजनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् । घाइतेहरूको विराटनगरको न्युरो, विराट नर्सिङ र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।