जिल्ला प्रशासन कार्यालय सिराहाले जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणको आधारमा आन्दोलन वा हुलदंगा भई शान्तिसुरक्षा भंग हुने देखिएको भन्दै बिहीबार दिउँसो २ बजेदेखि गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पूर्व–पश्चिम लोकमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका– ३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोक, उत्तरतर्फ गोलबजार– ६ को सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार– ४ को रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसवरिपरिको क्षेत्रमा लागू हुने गरी दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेका हुन्।
कर्फ्यु आदेशको पालना गरी जिल्लाको समग्र शान्ति सुव्यवस्थालाई सामान्यीकरण गर्न सबैको सहयोगको अपेक्षा गर्दै कर्फ्यु आदेशको बर्खिलाप हुने गरी कुनै गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत जानकारी गराइएको छ।