चीन भ्रमणबाट फर्किए नेकपा वरिष्ठ नेता खनाल

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल मित्रराष्ट्र चीनको सप्ताहव्यापी भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएका छन्। उनी साउन ७ देखि १३ गतेसम्म चीनको भ्रमणमा थिए। भ्रमणका क्रममा नेता खनालले चिनियाँ समकक्षी तथा मित्रहरूसँग नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहयोग र साझा चासोका विषयमा विस्तृत विचार–विमर्श तथा अनुभव आदान–प्रदान गरेका थिए।

भेटवार्ताका क्रममा चिनियाँ पक्षले नेपालकाे राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर समर्थन रहेको दोहोर्याएको थियो। साथै, नेपालले आफ्नै विकास र रूपान्तरणको मार्ग तय गरेको हेर्न चाहेको तथा नेपालको विकास प्रयासमा आवश्यक सहयोग गर्न चीन सधैँ तयार रहेको धारणा व्यक्त गरेको थियो।

यस अवसरमा नेता खनालले नेपाल ‘एक चीन नीति’प्रति दृढ रहेको र नेपालको भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने नेपालको प्रतिबद्धता पुनः व्यक्त गरेका थिए।

चीन भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना शताब्दीका अवसरमा उद्घाटन गरिएको पार्टी संग्रहालय, सन् १९४९ मा जनवादी गणतन्त्र चीनको घोषणा गरिएको तियानमेन स्क्वायर, प्राचीन चिनियाँ वास्तुकला र दर्शनको उत्कृष्ट नमुनाका रूपमा परिचित ‘टेम्पल अफ हेभेन’ तथा विश्वप्रसिद्ध विद्युतीय सवारी उत्पादक बिवाइडी (BYD) र प्रविधि कम्पनी सियाओमी (Xiaomi) का उत्पादन तथा अनुसन्धान केन्द्रको अवलोकन गरेका थिए।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता खनालले नेपालले पनि विकास, निर्माण र समाजवादको यात्रामा विदेशी दबाब वा नक्कलभन्दा आफ्नै राष्ट्रिय आवश्यकता र परिस्थितिअनुसार स्वतन्त्र मार्ग अवलम्बन गर्नुपर्ने धारणा राखे।

उनले नेपालका सबै तहका सरकार, राजनीतिक दल, नेता तथा बौद्धिक समुदायले यस विषयलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै भविष्यमा नेपाल–चीन सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

सुझावित समाचार