प्रधानमन्त्री शाह रास्वपा वरिष्ठ नेतामा मनोनीत

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनीत गरेको छ । केन्द्रीय समितिको बुधबारको बैठकले शाहलाई सर्वसम्मत वरिष्ठ नेतामा अनुमोदन गरेको महामन्त्री विपिन आचार्यले बताए ।

‘पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) को बमोजिम पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको छ,’ आचार्यले भने ।

प्रधानमन्त्री शाह सातबुँदे सहमतिसहित १३ पुसमा रास्वपा वरिष्ठ नेता हुने गरी समाहित भएका थिए । सहमतिअनुसार विधान संशोधन गरी शाहलाई वरिष्ठ नेतामा मनोनीत गरिएको हो । बैठकको कार्यसूचीमा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन एजेन्डा भए पनि सभापति लामिछानेले वरिष्ठ नेताबाहेक कसैलाई पनि मनोनीतको प्रस्ताव गरेनन् । विधानअनुसार सभापतिले उपसभापति, महामन्त्री, सहमहामन्त्री दुई, कोषाध्यक्ष, सहकोषाध्यक्ष दुई, प्रवक्ता, सहप्रवक्ता तीन पद मनोनीत गर्नुपर्छ । यसैगरी, ५१ केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।

सात सदस्यीय सचिवालय 
बैठकले पार्टी विधानको भाग ६ को धारा २३ बमोजिम सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ । सचिवालयमा पार्टी सभापतिसहित निर्वाचित पदाधिकारी उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी छन् । विधानअनुसार पदाधिकारी स्वतः सचिवालय सदस्य हुने व्यवस्था छ । अन्यलाई सभापतिले आवश्यक ठानेमा मनोनीत गर्न सक्नेछन् ।

महिनाको एक दिन मन्त्रीसँग प्रत्यक्ष संवाद हुने
बैठकले मन्त्रीहरूसँग महिनाको एक दिन पार्टी कार्यालयमा प्रत्यक्ष संवाद गर्ने निर्णय गरेको छ । ‘सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन र पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन, महिनाको कम्तीमा एक दिन मन्त्रीहरूसँग पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा समसामयिक र बहुआयामिक विषयमा अनिवार्य छलफल गर्ने,’ महामन्त्री विपिनकुमार आचार्यले निर्णय सुनाए ।

तीन कार्यविधि पारित
बैठकले केन्द्रीय सदस्यहरूबाट प्राप्त सुझावसहित विभिन्न कार्यविधि र दस्ताबेजहरू पारित गरेको छ । जसमा बैठक सञ्चालन कार्यविधि, सदस्यतासम्बन्धी कार्यविधि, सदस्यता अद्यावधिक तथा जिम्मेवारी बाँडफाँट र विभागसम्बन्धी कार्यविधि, २०८३ रहेको छ ।

बैठकले विभागीय नेतृत्व छनोटमा कार्ययोजना माग गरेको छ । विभागको नेतृत्व गर्न इच्छुक केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबाट आफूले नेतृत्व गर्न चाहेको विभागको स्पष्ट लक्ष्य र रूपरेखासहितको ६ महिने कार्ययोजना माग गरिएको महामन्त्री आचार्यले बताए । बैठकले आगामी स्थानीय तह निर्वाचनमा योग्य, इमानदार र सक्षम उम्मेदवार छनोट गर्ने प्रक्रियाको पहिलो विन्दुका रूपमा आगामी १ भदौदेखि ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको वडा तहदेखि केन्द्रसम्म सम्पन्न प्रथम ऐतिहासिक महाधिवेशनका बहुआयामिक पक्षहरूमा विस्तृत र निर्मम समीक्षा गरेको छ । लोकतान्त्रिक अभ्यासका क्रममा हरेक तहमा भएका कमी कमजोरीलाई निसंकोच स्वीकार गर्दै ती अनुभवहरूबाट पाठ सिकेर सिंगो पार्टीपंक्तिलाई थप परिपक्व र सुदृढ बनाउन सम्पूर्ण प्रक्रियाको बृहत् अध्ययन गर्ने निर्णय गरिएको महामन्त्री आचार्यले बताए । 

सुझावित समाचार