राजनीतिक विश्लेषक रोशन जनकपुरीलाई ३ प्रश्न

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको वकालत गर्ने कम्युनिस्टहरू व्यवहारमा भने ठिक उल्टो बाटो किन हिँड्छन् ?
सैद्धान्तिक रूपमा विचलित भइसकेपछि हुने यस्तै हो । खासगरी कम्युनिस्ट पार्टीमा कुनै पनि मुद्दा या विषयमा निर्णय गर्नुपर्दा पार्टीका तल्ला कमिटीबाट छलफल र निर्णय गर्दै माथिल्ला कमिटीमा पठाउने र अन्त्यमा केन्द्रबाट हुने निर्णयलाई सबैले ‘ओनरसिप’ लिएर कार्यान्वयन गर्ने परम्परा हुन्छ । तर, जब सैद्धान्तिक रूपमा वर्ग छुट्छ, तब अवसरवादिताले प्रश्रय पाउँछ । र, यसले अन्ततः सैद्धान्तिक विचलन ल्याउँछ । त्यसैको प्रकटीकरण हो, कम्युनिस्ट पार्टीमा केन्द्रबाट बलात् निर्णय लादिने पछिल्ला परम्परा ।

एमाले र नेकपाभित्र पुनर्गठनको मुद्दा चर्किरहेका वेला ओली र प्रचण्डबिचको पछिल्लो सहमतिको भविष्य के होला ?
यो सहमतिमा नौलोपन केही छैन । विगतमा पनि दुई नेताबिच यस्ता सहमति पटकपटक भएकै हुन् । दुवै नेताले पछिल्ला राजनीतिक घटनाक्रमबाट शिक्षा लिन सकेको देखिएन । अझै पनि उनीहरूमा पुरानै धङधङी देखिन्छ । दलबिच यस्ता सहमति बन्छन्, टुट्छन् । कहिलेकाहीँ स्वार्थ मिलुन्जेल कायम रहन पनि सक्छन् । दुई नेताको प्रभाव बचाउन र वर्चस्व कायम राख्न गरिएको यो एकता सधैँका लागि कायम राख्न गरिएकै होइन । त्यसैले, यसको भविष्यबारे अहिल्यै ठोकुवा गर्न कठिन छ ।

दुवै पार्टीभित्र अहिलेको नेतृत्वको विकल्प खोजिने सम्भावना कति देख्नुहुन्छ ?
थलिँदै गएका पार्टीले पुनः उठ्ने र गति लिने हो भने नेतृत्वको विकल्प खोज्नुको विकल्प छैन । दुवै पार्टीको वर्तमान नेतृत्व सांगठनिक तथा वैचारिक रूपमा कमजोर हुँदै गएको अवस्था छ । उनीहरू राज्यसत्ताबाट मात्र पाखा लागेका होइनन्, पार्टी सत्तामाथिको पकडसमेत खुकुलो हुँदै गएको देखिन्छ । उनीहरूको कवचका रूपमा वरिपरि रहने नेता, कार्यकर्ताले नै अहिले उनीहरूको विकल्प खोज्नुपर्ने आवाज मुखरित गरिरहेका छन् । त्यसैले, ढिलोचाँडो भन्न नसकिए पनि नेतृत्वको विकल्प खोजिनु अवश्यंभावी छ । 

सुझावित समाचार