चिकित्सक तथा स्वास्थ्यकर्मीको माग सम्बोधन गरी सेवा नियमित गर्न गगन थापाको आग्रह

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति  गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा प्रवाह तत्काल नियमित गर्न सरकारसँग आग्रह गरेका छन्।

वीरगन्जस्थित नारायणी अस्पतालमा साउन ९ गते कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पताल तोडफोडको घटना निन्दनीय भएको भन्दै थापाले दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन्।

उनले नागरिकको जीवन रक्षाका लागि खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु गम्भीर विषय भएको उल्लेख गरेका छन्। उपचारका क्रममा वा उपचार गरेकै आधारमा स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार र आक्रमण कुनै पनि सभ्य समाजमा स्वीकार्य नहुने उनको भनाइ छ।

घटनापछि नेपाल चिकित्सक संघलगायतको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिँदा उपचारको प्रतीक्षामा रहेका हजारौँ बिरामी प्रभावित भएको भन्दै थापाले यस्तो अवस्था चिन्ताजनक रहेको बताएका छन्।

थापाले सरकारसमक्ष तीनबुँदे आग्रह गरेका छन्। पहिलो, विगतका आन्दोलन र पहलबाट बनेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन कार्यान्वयन गर्दै घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ। साथै वार्ताका क्रममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने अधिकारी र प्रहरीमाथि निष्पक्ष छानबिन गर्नुपर्ने उनले बताएका छन्।

दोस्रो, नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीहरूसँग तत्काल संवाद गरी उनीहरूको पेसागत सुरक्षाका माग सम्बोधन गर्दै ओपिडीलगायत अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।

तेस्रो, स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले हजारौँ नागरिक र बिरामीको अवस्थालाई ध्यानमा राख्दै सेवा अवरुद्ध नगर्न र वार्ता तथा संवादबाटै समस्या समाधान गर्न आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थापाले अपिल गरेका छन्।

सुझावित समाचार