स्वास्थ्य जाँचका लागि सिराहाको भगवानपुर गाउँपालिका– ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा करिब चार वर्षीय नाबालकको सर्पदंशको कारणले मृत्यु भएको घटनापछि पालिकाले दुई लाख ५१ हजार रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।
सर्पदंशका बिरामी नाबालकको उपचारमा ढिलाइ र समयमै एम्बुलेन्स उपलब्ध नगराइएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले शनिबार दिउँसो स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै पूर्व–पश्चिम हुलाकी सडकको भगवानपुर खण्डमा टायर बालेर अवरुद्ध गरेका थिए ।
त्यसपछि भएको छलफलमा पालिकाले खाता सुचारु भएलगत्तै दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नेसँगै सर्पदंशका बिरामीहरूलाई जिल्लाका कुनै पनि स्वास्थ्य संस्थामा पुर्याउन पालिकाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिने सहमति भएको छ ।
पालिकाको कारणले नाबालकको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएपछि गाउँपालिका अध्यक्ष उग्रनारायण यादव, पूवअध्यक्ष बेचनप्रसाद यादवसहित विभिन्न दलका स्थानीय प्रतिनिधि र मृतकका परिवारका प्रतिनिधिहरूको शनिबार दिउँसो द्विपक्षीय छलफल भएको थियो ।
छलफलले मृतकका परिवारलाई क्षतिपूर्तिसहित स्वास्थ्य केन्द्रपरिसरमा रहेका सवारीसाधनहरू तत्काल हटाउने, स्वास्थ्य केन्द्रको आकस्मिक, प्रशासनिकलगायत सम्पूर्ण सेवा चुस्त बनाउने र औषधिहरूको प्रबन्ध गर्ने, अस्पतालको सरसफाइलगायत भौतिक संरचनाको व्यवस्थापन गर्ने, स्वास्थ्य केन्द्रका भएको तोडफोडसम्बन्धी कतै पनि उजुरी नगरिनेलगायतका सहमति गरेको छ ।