किसानको जीवनसँग खेलबाड गर्ने कृषिमन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य उपलब्ध गराउन नसक्ने कृषि मन्त्री गीता चौधरीको राजीनामा माग गरेका छन्। आम किसान मोर्चाद्वारा आज (शुक्रबार) बाराको कलैयामा आयोजित ‘मलखाद्यको हाहाकार’ आपूर्तिमा असफल सरकार  कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिमन्त्री चौधरीको राजीनामा माग गरेका हुन् । 

‘यो सरकार किसानमारा सरकारजस्तो भयो। कृषिप्रधान देशको मुख्यवाली धान रोपाइँको समयमा अहिले किसानले मलखाद्य पाउन सकिरहेका छैनन् । किसानलाई मलखाद्य दिन नसक्ने मन्त्रीलाई कुर्सीमा बस्ने अधिकार छैन । किसानलाई मलखाद्य दिन नसक्ने असफल कृषिमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ,’ आजपा अध्यक्ष साहले भने । 

दुईतिहाइको शक्तिशाली सरकार भए पनि किसानले सरकार भएको अनुभूति गर्न नसकेको गुनासो सहभागीहरूले गरेपछि आजपा अध्यक्ष साहले यो सरकारलाई असफल हुने छुट नभएको बताउँदै किसानका समस्या समाधान गर्नुपर्ने बताए । 

नेपालमा सरकारले किसानलाई मलखाद्य उपलब्ध  गराउन नसकेको, किसानका समस्या समाधान गर्न नसकेको बताउँदै भारतबाट मलखाद्य ल्याउँदा किसानलाई  दुःख दिने काम आफूलाई स्वीकार्य नभएको बताए । 

तराई–मधेशका साथै देशैभरिका किसान अहिले पीडामा रहे पनि प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले किसानलाई केही पनि नदिने, तर छिमेकबाट किसानले मल ल्याउदा खोस्ने अधिकार कसले दियो भन्दै उनले प्रश्न गरे । चुनावका वेला ठुलो कुरा गर्ने तर कुर्सीमा पुगेपछि युवा, विद्यार्थी, किसानलगायतका समस्या समाधान गर्नुको साटो सरकार रमिते बनेको टिप्पणी आजपा अध्यक्ष साहले गरे ।   

आम किसान मोर्चा बाराका अध्यक्ष मदन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपा नेता अशोक लामा, संविधान सभाका सदस्य एवं आजपा नेता आत्माराम साह, सुभाष साह, उमेश कुशवाहा, विजय यादव, विश्वराज पटेल, राजकिशोर साहलगायतका नेताहरूको विशेष सहभागिता  थियो।
 

सुझावित समाचार