अमेरिकाको मेजर लिग सकर (एमएलएस)ले ब्राजिली मिडफिल्डर कासेमिरोको अनुबन्धलाई लिएर इन्टर मियामीमाथि नियम उल्लंघन गरेको आरोप लगाएको छ । एमएलएसले यस सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाएको छ । डेभिड बेकह्यामको लगानीमा रहेको मियामीले बुधबार म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी कासेमिरोलाई आगामी २०२७ सम्म सम्झौता गरेको हो । सो सम्झौतामा कासेमिरोलार्ई सन् २०२९ को जुनसम्म थप्ने विकल्प पनि समावेश गरिएको छ ।
मियामीले कासेमिरोलाई भित्र्याएको घोषणा गरेलगत्तै एमएलएसले विज्ञप्ति निकाली क्लबविरुद्ध नियम उल्लंघनको आरोपबारे समीक्षा भइरहेको जनाएको छ । ‘हामी सम्बन्धित सबै जानकारी संकलन गरिरहेका छौँ । छानबिन पूरा नभएसम्म कासेमिरो र मियामीको विषयमा थप टिप्पणी गरिनेछैन,’ विज्ञप्तिमा उल्लेख छ । मियामी र एलए ग्यालेक्सीबिच कासेमिरोलाई अनुबन्ध गर्ने प्राथमिक अधिकारसम्बन्धी सहमति भएको भए पनि छानबिन सकिएपछि मात्र त्यसका सर्त सार्वजनिक गरिने एमएलएसले जनाएको छ ।
कासेमिरो गत सिजनको अन्त्यमा म्यानचेस्टर युनाइटेडबाट बाहिरिएका थिए । कासेमिरोले मियामीसँगको सम्झौताबाट खुसी भएको बताए ।
‘वर्तमान समयकै उत्कृष्ट खेलाडी लियोनल मेसीसँगै खेल्न अवसर मिलेको छ । यसबाट निकै खुसी छु,’ उनले भने, ‘मलाई सबैभन्दा बढी प्रेरणा दिने पक्ष जित्नु र निरन्तर अघि बढिरहनु हो ।’ मियामीमा कासेमिरोले आफ्ना पूर्वटोलीका सहकर्मी सर्जियो रेगिलोनको पनि साथ पाउनेछन् । यसैगरी उनले रोड्रिगो डे पल पनि पार्टनरका रूपमा पाएका छन् ।
गत सिजन म्यानचेस्टर छाडेका कासेमिरो
कासेमिरोले गत सिजनको जनवरीमा म्यानचेस्टर युनाइटेडसँग आपसी सहमतिमा आफ्नो सम्झौता नवीकरण नगर्ने निर्णय गर्दै क्लब छाड्ने घोषणा गरेका थिए । सन् २०२२ मा उनी रियल म्याड्रिडबाट युनाइटेड आएका थिए । म्याड्रिडमा रहँदा उनले कीर्तिमानी रूपमा पाँचपटक युरोपियन च्याम्पियन्स लिग उपाधि जितेका थिए । जसमध्ये जिनेदिन जिदानको प्रशिक्षणमा उनले लगातार तीनपटक च्याम्पियन्स ट्रफी जितेका थिए । युनाइटेडबाट उनले १६० खेल खेल्दै २६ गोल गरेका थिए । यसैगरी उनले १४ असिस्ट निकालेका थिए । यसक्रममा उनले युनाइटेडलाई इएफएल कप र एफए कप उपाधि पनि जिताएका थिए । गत साता अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप फुटबल प्रतियोगिता, २०२६ मा पाँचपटकको विजेता ब्राजिललाई प्रिक्वार्टरफाइनलसम्म पुर्याउन कासेमिरोको भूमिका महत्वपूर्ण थियो । तर, क्वार्टरफाइनल खेलको प्रतिस्पर्धामा नर्वे २–० ले विजयी भयो । सो खेलमा अर्लिङ हाल्यान्डले दुई गोल गरेका थिए ।
डिस्कभरी राइट्सको चर्चा
ब्राजिलियन खेलाडी कासेमिरोलाई अनुबन्ध हुँदा डिस्कभरी राइट्सको चर्चा बाहिर आएको छ । एमएलएसमा लागू रहेको ‘डिस्कभरी राइट्स’ नियमअनुसार कुनै विदेशी खेलाडीलाई अनुबन्ध गर्न इच्छुक क्लबले पहिले आफ्नो सूचीमा राख्न सक्छ । यस अवस्थामा खेलाडीलाई अनुबन्ध गर्ने पहिलो अधिकार त्यही क्लबसँग हुन्छ । नयाँ सिजन सुरु हुनुअगाडि नै क्लबले एकैपटक पाँचजना खेलाडीलाई प्राथमिकतामा राखेर सूची बनाउनुपर्छ । कासेमिरोको डिस्कभरी राइट्स एलए ग्यालेक्सीसँग थियो । इन्टर मियामीले ग्यालेक्सीसँग सहमति गरी अधिकार प्राप्त गरेपछि मात्र उनलाई अनुबन्ध गरेको जनाएको छ । एलए ग्यालेक्सीले पनि मियामीसँगको सहमतिपछि कासेमिरो मियामीमा पुगेको जनाएको छ ।