सरकारले ०८५ भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा पूर्ण छुट दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले छुटको समय अवधि ०८५ भदौ मसान्तसम्म दिने निर्णय गरेको हो ।
ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । ‘०८५ भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने,’ मन्त्रिपरिषद्मा निर्णय भनिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ जेठ ०७९ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको १७ पुस ०७९ मा उद्घाटन गरिएको थियो । तर, सञ्चालनमा आएको लामो समयसम्म दुवै विमानस्थलबाट अपेक्षाअनुसार नियमित अन्तर्राष्ट्रिय उडान विस्तार हुन सकेको छैन । त्यसपछि सरकारले पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङमा छुट दिँदै आएको छ । यसअघि दिएको छुट अवधि आगामी भदौ मसान्तमा सकिँदैछ ।
तर, ग्राउन्ड ह्यान्डलिङमा दिने छुटको दर भने घटाइएको छ । यसअघि ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट दिइएको थियो । अब यसमा ५० प्रतिशत छुट दिइनेछ । पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा भने यसअघि नै शतप्रतिशत छुट नै दिने व्यवस्था थियो । यो निर्णयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको सञ्चालन लागत घटाउनेछ । त्यो अवस्थामा उनीहरूको आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।
यसअघि चाटर्ड उडानले पनि छुट पाउने व्यवस्था थियो । तर, नियमित उडानलाई मात्रै छुट दिने भनिएको छ । यसअघि इन्धनमा प्रतिएक हजार किलोलिटरमा एक हजार डलर छुट थियो । अहिले त्यसबारे उल्लेख गरिएको छैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहले नियमित उडान गर्ने एयरलाइन्सका लागि छुट घोषणा गरिएको बताए ।
पोखरा विमानस्थलको सटल बस सेवा क्षेत्र विस्तार
सञ्चालनमा आएको ४० महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा सञ्चालित सटल बसले आफ्नो सेवा क्षेत्र विस्तार गरेको छ । महानगर यातायात प्रालि काठमाडौं, कृषि विकास बैक र कामना सेवा विकास बैकसँगको सहकार्यमा पोखरा महानगरले १ वैशाखदेखि सेवा सुरु गरेको हो । विद्युतीय दुई बसबाट सुरु भएको सेवा विमानस्थलदेखि अमरसिंह चोकसम्म दुईतर्फी सञ्चालन गरिँदै आएको थियो । अब सेवाक्षेत्र बढाएर विमानस्थलबाट पृथ्वीचोक, नागढुंगा, मुस्ताङचोक, सहिदचोक, हल्लनचोकसम्म र पृथ्वीचोक, नागढुंगा, मुस्ताङचोक, विरौटा हुँदै लेकसाइटसम्म सञ्चालन गरिएको छ । दुई सिफ्टमा सञ्चालन गरिएका बस बिहान ६ बजेदेखि राति विमानस्थलमा जति समयसम्म उडान हुन्छ सोही समयसम्म सञ्चालन हुँदै आएका छन् ।
विमानस्थलमा झरेका यात्रीहरूलाई बाहिर जान ट्याक्सीहरूले धेरै शुल्क लिएको गुनासो आएपछि सटल बस सेवा सञ्चालन गरिएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए ।