अमेरिकाको आर्थिक दबाबले संकटमा परेको क्युबा

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण
  • अमेरिकाले क्युबामा ६ महिनादेखि तेल तथा अन्य इन्धन प्रवेशमा रोक लगाउँदा  देशको संकटग्रस्त आर्थिक क्षेत्र थप दबाबमा छ 

हिजोआज जब–जब क्युबामा देशव्यापी विद्युत् ग्रिड धराशयी हुन्छ, देशभरका सहरमा सामूहिक विलापको लहर फैलिन्छ । क्युबालीहरू फेरि सोच्न बाध्य हुन्छन्, के उनीहरूको देशको मक्किसकेको विद्युत् प्रणाली छिटै पुनर्स्थापित हुन सक्ला ? क्युबामा अमेरिकाले तेल प्रवेशमा नाकाबन्दी लगाएको ६ महिना नाघिसक्यो । अमेरिकाले क्युबाको कम्युनिस्ट सरकार ढाल्ने दबाब अभियानको रूपमा यस्तो नाकाबन्दी लगाइरहेको छ । तर, क्युबाको पूर्वाधारको कमजोरी भने त्यसअघिकै कथा हो ।

‘क्युबाको विद्युत् प्रणालीको मेरुदण्ड अझै पनि ठुला ऊर्जा संयन्त्र हुन् । तिनले ससना ऊर्जा पूर्वाधारमा लगानी नगर्दा अहिले समस्या झन् बढेको छ,’ टेक्सास विश्वविद्यालयका वरिष्ठ ऊर्जा अनुसन्धानकर्ता जर्ज पिननले भने । तिनीहरू पुराना, जीर्ण र भार थाम्न नसक्ने अवस्थामा पुगेका छन् । अहिले ग्रीष्ममा तापक्रम ३५ डिग्री र आर्द्रता ८० प्रतिशत भएको समयमा लामो समय बिजुली जान थालेपछि मानिसको आक्रोश सडकमा पोखिन थालेको छ ।

अहिले देशव्यापी बनेको लामो विद्युत् कटौती खासमा विगतमा कैयौँ स्थानीय क्षेत्रमा सामान्य बनिसकेको थियो । अहिले स्थानीय ‘ब्ल्याकआउट’ले देशव्यापी रूप लिएको मात्र हो । अहिले विद्युत् छिटपुट रूपमा मात्र आउँछ । ‘पानी तान्न वा फोन चार्ज गर्नेलगायत काम गर्न एक घण्टा पर्याप्त समय होइन,’ अधबैँसे अल्बर्टोले भने, ‘यसैले आममानिस सरकारले सुधारको दिशामा अहिले नै कदम चालिहालोस् भन्ने चाहन्छन् ।’ यद्यपि, सरकारले भने आफूसँग धेरै विकल्प नरहेको बताइरहेको छ । ‘हामीले पहिले नै भनिसकेका छौँ कि अहिले देशमा इन्धनको चरम अभाव छ । हामीले अहिले बिग्रिएका थर्मोइलेक्ट्रिक युनिटको पार्टपुर्जासमेत लिन सकिरहेका छैनौँ,’ ऊर्जामन्त्री भिसेन्टे डे ला ओ लेभीले केहीअघि भनेका थिए ।

जनवरी ३ मा अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गरेर सत्ताच्युत गरेपछि डोनाल्ड ट्रम्पले क्युबाको कम्युनिष्ट सरकार ढाल्ने चेतावनी दिएका थिए । त्यही उद्देश्यका लागि ट्रम्प प्रशासनले अहिले क्युबाका उद्योगलाई नष्ट गर्न प्रतिबन्ध थप कठोर बनाएको छ । इन्धन अभावबाट सिर्जित कठिनाइका कारण अहिले त्यस देशमा जति पनि विदेशी कम्पनी, होटेल सञ्चालक, वायुसेवादेखि खानी तथा ढुवानी कम्पनी सञ्चालनमा थिए, ती लगभग बाहिरिसकेका छन् । त्यस्तै, गत मे महिनामा फ्लोरिडाको एक अदालतले ९५ वर्षीय राउल क्यास्ट्रोलाई हत्याको आरोप लगाएको छ । नजिकैको मियामीबाट हवानामा पर्चा खसाल्न गएका क्यास्ट्रोलाई उक्त घटनामा संलग्न भएको आरोप लगाइएको हो । योसँगै अब राउल क्यास्ट्रोलाई पनि मदुरोलाई जस्तै अपहरण गरेर अमेरिकी अदालतमा सुनुवाइमा लाने बाटो खुलेको छ ।

उसो त अमेरिकाको पछिल्लो आर्थिक दबाब बढाउनुअघि नै क्युबाली राज्य कमजोर बन्दै गएको थियो । महामारीको समयमा ‘हाइपरइन्फ्लेसन’ (अति ठुलो दरको मुद्रास्फीति)को चपेटामा परेको क्युबामा अहिले सबै खालका सेवाको अवस्था दयनीय छ । विगतमा ल्याटिन अमेरिकाको सबैभन्दा सुरक्षित देशमध्ये एक रहेको क्युबामा अहिले आर्थिक कठिनाइले लुटपाट, आक्रमणका घटना ह्वात्तै बढेका छन् । एक समय जताततै देखिने प्रहरी अहिले फेला पार्न गाह्रो छ । अपराध नियन्त्रण कम प्राथमिकतामा परे पनि उही समयमा राजनीतिक धरपकड भने बढेको छ । म्याड्रिडमा मुख्यालय रहेको समूह ‘प्रिजनर्स डिफेन्डर्स’का अनुसार राजनीतिक बन्दीहरूको संख्या एक हजार ३०६ पुगेको छ । हेक्टर ओचोआ भेर्गाराजस्ता अभियन्ता सिएगो डे एभिला सहरमा लामो विद्युत् कतौती र पानीको अभावविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा भाग लिएको आरोपमा पक्राउ गरिएका छन् ।

क्युबाका सबैभन्दा परिचित राजनीतिक बन्दी, कलाकार लुइस म्यानुअल ओटेरो अल्कान्टारा अभद्र व्यवहारका लागि पाँच वर्षको जेल सजाय पूरा गरेर शनिबार अमेरिकातर्फ निर्वासन जाँदै थिए । भिसा प्रक्रियासमेत पूरा गरिसकेका अल्कान्टारालाई अन्तिम समयमा एक हप्ताका लागि नियन्त्रणमा लिने भन्दै अज्ञात स्थानमा राखिएको छ ।

महिनौँदेखि अमेरिकी दबाब अन्त्य गर्न गोप्य रूपमा वार्ता चलिरहेको छ । अमेरिकाले वार्ताका क्रममा राजनीतिक र आर्थिक सुधारबारे उठेका विषय मिडियामा चुहाइरहेको छ । क्युबाका तर्फबाट वार्ताको मध्यस्थता राउल क्यास्ट्रोका नाति राउल गुइलेर्मो रोद्रिगेज क्यास्ट्रोले गरिरहेका छन् ।

रोद्रिगेज क्यास्ट्रो सरकारी कागजातसमेत महँगो ‘साल्भाटोर फेरागामो’ झोलामा राखेर हिँडिरहेका थिए । ‘मलाई दुःख लाग्छ कि धेरै क्युबालीले मैले जस्तै जीवन बाँच्न सक्दैनन्,’ उनले अन्तरवार्तामा पत्रकारलाई भने । राजनीतिमा कुनै रुचि नभए पनि क्रान्तिले आफूलाई ‘आवश्यक ठान्यो भने राजनीति पनि गर्ने’ उनले बताए ।
रोद्रिगेज क्यास्ट्रोको अन्तरवार्ता बाहिरिएपछि कैयौँ क्युबाली रुष्ट बने । कैयौँ संगीतकार, शिक्षाविद्, पूर्वकूटनीतिज्ञ र आममानिसले समेत विरोध जनाए । धेरै क्युबाली ‘कुनै सार्वजनिक ओहोदामा नभएको’ व्यक्तिको यस्तो विलासी जीवनशैली र यति महŒवपूर्ण वार्ताको नेतृत्व गरेकोमा असन्तुष्ट देखिए । सबैभन्दा चर्को असन्तुष्टि सरकारी पेसामा रहेका युवा क्युबालीहरूबाट आयो । ‘यसरी कुनै सरकारी ओहोदामा नरहेको वा सार्वजनिक भूमिका ग्रहण नगरेका व्यक्तिले देशको नयाँ दिशाबारे भइरहेको वार्ताको नेतृत्व गर्ने अनुमति कसरी पायो ?’ क्युबाली टिभी प्रस्तोता सिशेल टोरेस कोरोनाले लेखे ।

पछिल्लो संकटको सुरुमै अमेरिकाले क्युबाली ‘डेल्सी’ बन्न चाहने व्यक्ति खोजिरहेको स्पष्ट पारेको थियो । डेल्सी अर्थात् भेनेजुएलामा मदुरो अपदस्थ भएपछि सत्ता चलाइरहेकी तत्कालीन भेनेजुयाली उपराष्ट्रपति र हालकी राष्ट्रपति डेल्सी रोड्रिगेज । डेल्सीले अहिले वासिंटनसँग सहकार्यमा सरकार चलाइरहेकी छन् । तर, मियामी विश्वविद्यालयमा ‘क्युबन एन्ड क्युबन अमेरिकन स्टडिज’का अध्यक्ष माइकल बुस्टामान्टे भने रोद्रिगेज क्यास्ट्रोको ‘युएसए टुडे’ अन्तरवार्तालाई जारी वार्ता सोचेअनुरूप अगाडि नढेबको संकेत मान्छन् । त्यस अन्तर्वार्तालाई उनी क्यास्ट्रोको ‘प्रासंगिकता’ पुष्टि गर्ने प्रयास मात्र मान्छन् । ‘अहिले खासमा यी नाति क्यास्ट्रोको वर्तमान क्युबाली शासकसँग सम्पर्कमा छन् कि छैनन् भन्ने नै प्रश्न उठाएको छ,’ उनले भने ।

फिफा विश्वकपको समयमा केही शान्त देखिको दुई देशको अवस्था पुनः तनावपूर्ण हुने निश्चित छ । यसको पूर्वसंकेत कोरल गेबल्स सहरको बिल्टमोर होटेलमा फ्लोरिडाका पूर्वगभर्नर जेब बुसको पत्रकार भेटघाटमै देखिएको थियो । त्यहाँ बुसले पत्रकारलाई क्युबा र इरानबिच घनिष्ठ सम्बन्ध रहेको बताउँदै केहीअघिदेखि चर्चामा रहेको क्युबाले ३०० इरानी आक्रमण ड्रोन किनेको (अपुष्ट) समाचार दोहोर्याए । ‘इरानले क्युबासँग नजिकमा रहेर काम गरिरहेको कुरा खतरनाक छ,’ बुसले भने । उता केहीपछि नै ह्वाइट हाउसमा ट्रम्पले बुसकै भनाइ पछ्याउँदै भने, ‘हामी त्यसो हुन दिनेछैनौँ ।’

यसैबिच क्युबाली सरकार भने अमेरिकालाई खुसी बनाउन अर्थतन्त्र उदार बनाउन लागिपरेको छ । उसले यस दिशामा निजी क्षेत्र विस्तार गर्ने र लगानी सहजीकरण गर्ने १७६ वटा (अझै लागू नभएका) कदमको घोषणा गरेको छ । उता अमेरिकी विदेश मन्त्रालयले भने यी कदमलाई जनताको आँखामा छारो हाल्ने प्रयास भन्दै खारेज गरेको छ । 

लामो समय विद्युत् अवरुद्ध भएपछि गत बुधबार बिहान ७ बजे ग्रिड पुनः जोडियो । धेरै मानिसले बिजुली आएकोमा हर्षोल्लास मनाए । तर, सबैलाई थाहा थियो कि यो केवल अस्थायी अवस्था मात्र हो । 

(निकोल अब्जर्भर म्यागजिनका पूर्वसम्पादक हुन्)
द गार्जियनबाट

See More On

सुझावित समाचार