गत साता यमन पुनः क्षेत्रीय तनावमा तानियो । केही वर्षदेखि नाजुक युद्धविराम लागू रहेको यमनको आकाशमा एक इरानी विमान प्रवेश गर्यो । त्यसपछि उत्पन्न विवाद उडानसम्बन्धी तनावमा मात्र सीमित रहेन । यस घटनाले यमन अमेरिका र इरानबिचको टकरावसँग कति हदसम्म जोडिएको छ भन्ने कुरालाई उजागर गरिदियो । त्यहाँ अहिले एक गम्भीर प्रश्न उठेको छ : के यमन कुनै पनि व्यापक क्षेत्रीय तनावबाट अछुतो रहिरहन सक्छ ?
राजधानी सानामा इरानी विमानले गरेको अवतरण प्रयास, अवतरण रोक्नका लागि विमानस्थलको धावनमार्गमा बमबारी र अन्ततः होदेइदाहमा विमान अवतरणले कुनै बेला साम्य भएको द्वन्द्व झन्डै सतहमा आयो । अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त यमनी सरकार र साउदी अरबले इरान विमानको अवतरण प्रयासलाई सार्वभौमिकतामाथिको हमलाको रूपमा हेरे । साथै, तिनीहरूले हुथी–नियन्त्रित क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने इरानको प्रयासलाई रोक्नुपर्ने बताए । उता हुथी र तेहरानले विमान अवतरणलाई राजधानी सानामा लगाइएको प्रतिबन्ध तोड्ने प्रयासको रूपमा प्रस्तुत गरे ।
साना विमानस्थलमा भएको आक्रमणको बदला साउदी अरबको आभा विमानस्थलमा भयो । यो आक्रमण मार्च २०२२ मा अनौपचारिक युद्धविराम सुरु भएपछि साउदी अरबमाथि हुथीले गरेको पहिलो आक्रमण थियो । साउदीले पूर्णस्तरको सैन्य अभियानमार्फत प्रतिक्रिया दिएको छैन । यसले संकेत गर्छ कि, बढ्दो तनावका बाबजुद, दुवै पक्ष अझै पनि सावधानीपूर्वक कदम चालिरहेका छन् ।
यसै सन्दर्भमा वासिङटनले साउदी अरबप्रति आफ्नो दृढ समर्थन जनाउँदै घटनामाथि निगरानी गरिरहेको बताएको छ । अझ महत्वपूर्ण कुरा, अमेरिकी विदेश मन्त्रालयले हुथी आक्रमणलाई यस भेगमा प्रमुख अमेरिकी चासोविरुद्धको चुनौतीसँग प्रत्यक्ष रूपमा जोडेको छ । अमेरिकाको प्रमुख चासो सबैभन्दा महत्वपूर्ण यमन जोडिएको लालसागरमा स्वतन्त्र आवगमन र आतंकवादको निर्यात रोक्नु हो । तथापि, हाल प्रयोग भएको भाषा हेर्दा अमेरिकाले अहिले नै हुथीविरुद्ध युद्धमा जाने निर्णय गरेको देखिँदैन । तर, पनि अमेरिकाले हुथीसम्बन्धी आफ्नो मूल्यांकन बदलिएको संकेत गर्दछ ।
हुथीलाई अब केवल यमनी शक्तिको रूपमा मात्र हेरिने छैन । समूहलाई अब इरानको प्रभाव सञ्जालको हिस्साको रूपमा हेरिएको छ, जो साउदी अरब र लालसागर दुवैलाई चुनौती दिन सक्षम छ । यमनमा विकसित पछिल्लो अवस्थालाई यस क्षेत्रको बृहत्तर तनावबाट अलग गर्न सकिँदैन । अमेरिकासँग पुनः टकराव सुरु भएपछि इरान अहिले प्रत्यक्ष दबाबमा छ ।
अहिलेको तनाव मुख्यतः स्ट्रेट अफ होर्मुजमा केन्द्रित छ । यमन पनि लालसागरलाई एडेनको खाडीसँग जोड्ने साँघुरो ‘बाब अल–मान्डव’मा जोखिम बढाउने शक्ति हो । यो जलमार्ग युरोप र एसियाबिचको महत्वपूर्ण व्यापार मार्ग तथा यस क्षेत्रको सबैभन्दा संवेदनशील भागमध्ये एक हो । यदि टकराब बढ्दै गयो भने हुथीहरू अमेरिकासँगको तनावमा इरानलाई सघाउन अघि आउन सक्छन् । त्यस्तोमा बाब अल–मान्डव तनावको अर्को स्थान बन्नेछ । यमन पुनः तनावमा तानिए देशको मारिब, अल–जौफ, हार्फ सुफियानलगायतका भागमा चलिरहेका सशस्त्र अभियानले समेत महत्व बढ्नेछ ।
क्षेत्रीय तनाव बढ्दै जाँदा, कुनै पनि आन्तरिक द्वन्द्व विस्तार हुने सम्भावना उच्च हुन्छ । उता तनावका बिच संयुक्त राष्ट्र संघका विशेष दूत हान्स ग्रन्डबर्ग मस्कट गए । त्यहाँ उनले ओमानी अधिकारी र हुथी वार्ता प्रतिनिधिमण्डलका प्रमुख मोहम्मद अब्दुल सलामसँग भेटघाट गरे । उनको प्राथमिक उद्देश्य अब व्यापक सम्झौता सुरु गर्नु रहेन । उनले खाली अहिलेको तनाव वृद्धिलाई नयाँ युद्धमा परिणत हुनबाट रोक्न खोजेजस्तो देखिन्छ ।
तनाव न्युनीकरणका लागि साउदी अरबमाथि आक्रमण, इरानी उडान र राजधानी सानाको विमानस्थल प्रयोगलाई नियन्त्रण गर्ने विषय हालको छलफलको केन्द्रविन्दु हुने सम्भावना छ । तथापि, वार्ताको विवरण सार्वजनिक गरिएको छैन । ती प्रयास सफल हुन वा नहुन पनि सक्छन् । तत्कालका लागि युद्ध नभड्किने सम्भावना पनि बलियो छ । साउदी अरब पहिले तनावग्रस्त क्षेत्रमा अर्को ठुलो युद्ध भड्कियोस् भन्ने चाहँदैन । झन् आफैँ प्रत्यक्ष फस्न युद्ध चर्कियोस् भन्ने चाहन्छ भन्ने कुरै छैन । त्यस्तै, हुथीहरूले पनि बुझेका छन् कि इरानमा अमेरिका–इजरायलले गरेजस्तै खुला आक्रमण भयो भने पूर्ण रूपमा फरक स्तरको दबाबमा पर्नेछ । यिनै आधारमा उसका प्रतिक्रिया मापन गर्न सकिन्छ ।
तनाव एक निश्चित विन्दुमा रोकिन पनि सक्छ । इरानी विमान घटनाले वर्तमान युद्धविरामका कमजोरीलाई उजागर गरेको छ । लामो समयपछि साउदी अरबको जमिनमा हुथीहरूले आक्रमण गरेर आफ्नो क्षमता देखाइदिए । हुथी समूहलाई इरान र लालसागरको सुरक्षासँग जोड्ने सम्बन्धमा पनि अमेरिकी अडान स्पष्ट बनेको छ । यसैबिच, यमनको धरातलीय यथार्थ हेर्दा भने सबै पक्षहरू सम्झौतानजिक भएको जस्तो व्यवहार गरिरहेका छैनन् । यी कारणहरूले गर्दा, टकराव तत्कालका लागि स्थगित भए पनि यो लामो समय रद्द हुनेछैन । त्यसैले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्व विस्तार भयो भने यमन अछुतो रहने सम्भावना निकै कमजोर छ ।
अलजजिराबाट (पत्रकार अल–सलाफी यमन मुद्दामा कलम चलाउँछन् )