सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका चारजना मन्त्रीलाई बर्खास्त गरेका छन्। सरकारको बजेटको विषयमा विवाद चर्किएपछि मुख्यमन्त्री शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्।
भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मलादेवी साउदलाई बर्खास्त गरिएको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ।
सुदूरपश्चिममा बजेट विवादले कांग्रेस–एमालेबिच सत्तागठबन्धन नै टुटेको छ। बजेट पुनर्लेखन हुनुपर्ने माग गर्दै आएको एमालेले प्रदेशका ६ वटै मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रदेश सभामा दर्ता गरेको छ। मन्त्री बर्खास्तीसँगै प्रदेश सरकारको बजेट पनि अलपत्र परेको छ।
असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ। तर, सत्तापक्षबिचको विवादले सदनमा बजेटमाथि दफावार छलफल नै हुन सकेको छैन। आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले गत १ असारको मध्यराति ३७ अर्ब ७० करोडको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए।