डेढ महिनादेखि त्रिपालमा बस्दै आएका हरिकवलका ४२ परिवार सबै हलिया हुन्
बाजुराको बुढिनन्दा नगरपालिका– १ हरिकवलका ४२ परिवार डेढ महिनादेखि त्रिपाल टाँगेर बस्दै आएका छन् । गत १४ जेठमा गएको बाढीपहिरोले बुढीनन्दा नगरपालिका– १ हरिकवल, मटेला, पाटतोला र भार्तिकौसाडीका दुई सय ४५ परिवार विस्थापित भएका थिए । तीमध्ये हरिकवलका ४२ परिवारका घर पूर्ण रूपमा क्षति भएका थिए ।
हरिकवल, मटेला, पाटतोल र साउनेका पूरै बस्ती उच्च जोखिममा पर्नुका साथै हजारौँ रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ । बस्तीका खानेपानी, विद्युत्, सडक, कुलो र पादुका बालविकास विद्यालयलगायतका संरचना पूर्ण रूपमा क्षति भएका छन् । ४२ परिवारको वास त्रिपालमुनि छ । हरिकवलका ४२ परिवार सबै हलिया हुन् ।
बुढीनन्दा नगरपालिका उपप्रमुख रामबहादुर बोहराले विस्थापित परिवारका लागि खाद्यान्न र नगरपालिकाको समन्वयमा जिल्ला रेडक्रस सोसाइटी र इन्टरनेसनल नेपाल फेलोसिप नामक गैरसरकारी संस्थाले सहयोग गरेको बताए ।
४२ परिवारहरू घरभित्र बस्न सक्ने अवस्था नहुँदा एक महिनादेखि त्रिपाल टाँगेर पालमुनि बस्दै आएका छन् । हरिकवल गाउँमा ४२ परिवारका २०३ जना बसोवास गर्छन् । तीमध्ये बालबालिका ३२, महिला ८०, पुरुष ८२, वृद्धवृद्धा ७, अपांगता दुईजनाको बसोवास छ । बुढीनन्दाको वडा नम्बर १, २, ३, ४ को बस्ती अति जोखिममा छ ।
बाढीपीडित २७ वर्षीया विमा ल्वारले बाढीले छियाछिया बनाएको घरमा बस्न सक्ने अवस्था नरहेको बताइन् । ‘रेडक्रसले दिएको त्रिपाल टाँगेर पालमुनि बसेका छौँ । त्रिपालले आकाशको पानी थामे पनि भुइँबाट पानी आउँछ । बिछ्याउन कपडा छैन । चिसोले बच्चा बिरामी हुनथालेका छन् । डेढ महिनासम्म सरकारले हेरेको छैन । वडा कार्यालयले दिएको ५० केजी चामल, दाल, नुन, तेल सकियो । अब के खाने भन्ने अवस्था आएको छ,’ उनले भनिन् ।
पादुका बालविकास केन्द्रका अध्यक्ष रंग ल्वारले बाढीपहिरोले विद्यालयको भवन र फिल्ड बगाएकाले पठनपाठनमा समस्या आएको बताए । ‘पादुका बालविकास केन्द्रमा ३० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । डेढ महिना भइसक्यो पढ्न पाएका छैनन् । स्थानीय, प्रदेश र संघ सरकारले मर्मतका लागि सहयोग गरेको भए तत्काल पुनर्निर्माण गरेर विद्यार्थीलाई पठनपाठन गराउन सकिने थियो । तर, कसैले सहयोग गरेको छैन,’ उनले भने ।
नौजनाले गुमाए ज्यान
बुढीनन्दा नगरपालिकामा ०६९ देखि पटक–पटक बाढीपहिरो आउने गरेको छ । २७ जेठ ०६९ मा आएको बाढीले वडा नम्बर १ पिपलडालीमा सात र ०७० मा कोल्टी बजारमा दुईजना गरी हालसम्म नौजनाको बाढीपहिरोबाट ज्यान गुमाइसकेका छन् ।
०७७ मा आएको बाढीले मानवीय क्षति नगरे पनि ३९ घरहरू पूर्ण रूपमा क्षति भएका थिए । ३९ मध्ये २६ घर स्थानीय प्रदेश संघ सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण भइरहेका छन् । ०८१ मा डोटी केन्द्रविन्दु बनाएर आएको भूकम्पबाट १६० परिवारहरूका घर पूर्ण क्षति भएका थिए ।