अमेरिकाले बुधबार दोस्रो रात पनि इरानमाथि ठुलो हवाई आक्रमण गरेको छ । योसँगै दुई देशबिचको कमजोर शान्ति प्रक्रिया टुट्ने जोखिम बढेको छ । अमेरिकाले बुधबार इरानको दक्षिणी भेगका धेरै सहरमा आक्रमण गरेको केही घण्टापछि बिहीबार बिहान इरानको राजधानी तेहरानमा पनि आक्रमण गर्यो । दुई रात भएको अमेरिकी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । मारिनेमा ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)’का कम्तीमा एक सदस्य पनि समावेश रहेको इरानी सञ्चारमाध्यमले जनाएको छ ।
अमेरिकी आक्रमणको जवाफमा इरानले छिमेकी खाडी देशमा रहेका अमेरिकी सैन्य आधार तथा पूर्वाधारमा जवाफी आक्रमण गरेको छ । सुरुमा स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजमाथि इरानले आक्रमण गरेपछि पछिल्लो चरणको हमला सुरु भएको हो । फेब्रुअरीमा युद्धको सुरुवाती मिनेटमा अमेरिकी–इजरायल हवाई आक्रमणमा मारिएका दिवंगत इरानी सर्वोच्च नेता अयातोल्लाह खामेनीको अन्त्येष्टि चलिरहेको समयमा अमेरिकी आक्रमण भएको छ ।
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीको अंकारामा जारी नेटो शिखर सम्मेलनमा पत्रकारसँग बोल्दै इरानसँगको समझदारी पत्र (एमओयू) ‘समाप्त’ भएको बताए । तथापि, ट्रम्पले शान्ति वार्तालाई अहिलेका लागि जारी राख्ने र ‘दीर्घकालीन’ सैन्य कारबाही सुरु नहुने बताएका छन् । तथापि, दुई देशबिच आक्रमण बढ्न सक्ने चिन्ताबिच मध्यपूर्व क्षेत्र फेरि एकपटक चिन्तामा परेको छ ।