शेखरले सहमतिका लागि २५ असारसम्म कुर्ने

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

कांग्रेस नेता डा. शेखर कोइराला र विमलेन्द्र निधिले संस्थापन पक्षले सहमति नचाहेकाले आन्तरिक एकता कठिन भएको निष्कर्ष निकालेका छन् । सहमतिका लागि २५ असारसम्म कुर्ने र त्यसपछि नयाँ ढंगले अघि बढ्ने निष्कर्ष दुई नेताले निकालेका छन् । छलफलका लागि कोइराला शनिबार निधिनिवास नयाँ बानेश्वर पुगेका थिए । दुई नेताबिच करिब एक घण्टा कुराकानी भएको थियो । वर्तमान परिवेश र भावी योजनाबारे छलफल भएको निधिले बताए । ‘अहिलेको परिस्थिति र भावी योजनाबारे छलफल भयो,’ निधिले भने ।

निधिसँग कोइरालाले विभिन्न नेताहरूसँग भएका छलफलबारे बताएका थिए । नेता कोइरालाले यो विचमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, महामन्त्री गुरुराज घिमिरेसँग भएको छलफलबारे सामान्य ब्रिफिङ गरेका थिए । कोइरालाले संस्थापनसँग सहमतिका लागि २५ असारसम्मको समय दिएको पनि बताएका छन् । १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनको कार्यसमितिबिच समायोजन गरेर १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने पक्षमा छन् । ‘दुवै पक्ष मिलाएर १५औँ महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, मिल्ने छाँट देखिँदैन,’ कोइरालाले निधिसँग भनेका छन् । कोइरालाले आफू विराटनगरबाट फर्केपछि इतर पक्षको सम्पर्क कार्यालय आउने पनि बताएका छन् । इतर पक्षले काठमाडौं चुनदेवीमा सम्पर्क कार्यालय खोलेको छ । सोमबार सम्पर्क कार्यालय उद्घाटन गर्ने तयारी छ ।

खड्काले बोलाएको शुक्रबारको इतर पक्षको बैठकमा कोइराला सहभागी भएका थिएनन् । बैठकले सहमतिका लागि संस्थापन पक्ष सकारात्मक नभएको निष्कर्ष निकालेको थियो । अर्को बैठक सोमबार सम्पर्क कार्यालय बस्ने तयारी रहेको नेता मीन विश्वकर्माले बताए । बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौंमा उपलब्ध जिल्ला सभापतिलाई बोलाइएको छ । उक्त बैठकले राष्ट्रिय भेलाबारे निर्णय गर्ने नेताहरूले बताएका छन् ।

सुझावित समाचार