बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८३/८४ को विनियोजन विधेयक पारित गराउन नेपाली कांग्रेसले आफ्ना प्रदेश सभा सदस्यहरूलाई ह्विप जारी गरेको छ। कांग्रेसभित्र बजेटलाई लिएर देखिएको विवादकाबिच संसदीय दलले सबै सांसदलाई अनिवार्य रूपमा बैठकमा उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक पुकार महर्जनले शनिबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकलाई लक्षित गर्दै तीन लाइन ह्विप जारी गरेका हुन्। ह्विपमा आर्थिक मामिला तथा योजना मन्त्रीले पेस गरेको आर्थिक वर्ष ०८३/८४ को विनियोजन विधेयक निर्णयार्थ पेस हुने भएकाले सबै सांसदलाई अनिवार्य रूपमा उपस्थित हुन, मतदानका क्रममा तटस्थ नबस्न र विधेयकको पक्षमा मत जाहेर गर्न निर्देशन दिइएको छ।
कांग्रेस संसदीय दलले बजेट पारित हुने निर्णायक चरणमा सांसदहरूको अनुपस्थितिले सरकारलाई अप्ठ्यारो पर्न सक्ने अवस्था देखिएपछि ह्विप जारी गरेको हो। पछिल्ला केही दिनदेखि कांग्रेसभित्र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूहबिच बजेट तथा सरकारको नेतृत्वलाई लिएर विवाद चर्किएको छ । लामा पक्षधर केही सांसद प्रदेश सभा बैठकमै अनुपस्थित रहँदै आएका थिए भने बजेट पारित प्रक्रियामा असहयोग गर्ने संकेतसमेत दिएका थिए।
यसैबिच, मुख्यमन्त्री बानियाँले यसअघि नै पार्टीको ह्विप जारी भएपछि सबै सांसद बजेट पारित प्रक्रियामा सहभागी हुने विश्वास व्यक्त गरेका थिए। कांग्रेसले तीन लाइन ह्विप जारी गरेसँगै पार्टीभित्रको विवाद तत्कालका लागि व्यवस्थापन गर्दै बजेट पारित गराउने प्रयास गरेको देखिएको छ। बागमती प्रदेश सभामा शनिबार बस्ने बैठकमा मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ टुंग्याएपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ।