विभिन्न सात विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले शुक्रबार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्। शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले उनीहरूलाई शपथ गराएका हुन्।
यसअघि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह (बालेन)ले विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा सात विश्वविद्यालयका उपकुलपतिहरू नियुक्त गरेका थिए।
शपथ लिने उपकुलपतिहरूमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयका श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयका देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयका सुजनबाबु मरहट्टा रहेका छन्।
शपथ समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयहरूको प्रशासन निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढंगले सञ्चालन गर्न निर्देशन दिए। उनले सबै विश्वविद्यालय तथा सम्भव भएका आंगिक क्याम्पसहरूमा १० प्रतिशत छात्रवृत्ति पारदर्शी रूपमा अनिवार्य कार्यान्वयन गर्न र विश्वविद्यालय तथा क्याम्पसभित्र रहेका ट्रेड युनियनका ब्यानर हटाउनसमेत आग्रह गरे।