जिल्ला प्रहरी कार्यालय सर्लाहीले धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गरेको आरोपमा एजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार ७ गते बिहान करिब १:४५ बजे बसबरिया गाउँपालिका– १, मानपुर टोलनिवासी ५३ वर्षीय होसनारायण राय यादव आफ्नै घरमा सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिहरूले मोटरसाइकलमा आई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय मानपुर, इलाका प्रहरी कार्यालय बरहथवाकाे टोली तथा कुकुरसहितको संयुक्त अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो। घाइते यादवको घाँटीको दाहिने भागमा गहिरो चोट लागेको अवस्थामा उद्धार गरी नगर अस्पताल बरहथवामा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले बसबरिया गाउँपालिका– १, मानपुरनिवासी करिब २५ वर्षीय सन्तोषकुमार रायलाई पक्राउ गरेको छ। उनीविरुद्ध कर्तव्य ज्यान तथा चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय बरहथवामार्फत घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्रसाद गौतमले घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।