गोर्खा टी स्टेट, फिक्कल, इलामका प्रमुख उदय चापागाईंलाई ३ प्रश्न

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

नेपाली चिया भारत निर्यातमा किन अवरोध भइरहेको छ ?
टी बोर्ड अफ इन्डियामा रहेका भारतीय चिया उद्योगीहरूले नेपाली उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि बोर्डलाई हतियार बनाएर नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा बदनाम गराउन चालिएको खेल हो यो अवरोध । बोर्ड कुनै प्रयोगशाला होइन, उसलाई नमुना संकलन र परीक्षण गर्ने ‘अथोरिटी’ पनि छैन । तैपनि, बोर्डले परीक्षणका नाममा हाम्रो चिया रोकिरहेको छ । हामीले उत्पादन गरेको चिया युरोपमा समेत फेल भएको रेकर्ड छैन । तर, अहिले भारतमा भने परीक्षणका नाममा फेल गराइएको छ । यो सब भारतीय उद्योगीले सरकारको आडमा नेपाली चिया रोकेर त्यहाँको बजारमा आफ्नो एकाधिकार जमाउने प्रपञ्च हो । 

यो अवरोधले कस्ता समस्या निम्त्याइरहेको छ ?
नेपाली चिया उद्योगसित १५ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी मजदुर जोडिएका छन् । भारतीय बजारमा चियामा अवरोध हुँदा अहिले नै ५० भन्दा बढी उद्योग बन्द भएका छन् । यसबाट त्यहाँ कार्यरत मजदुर मात्र नभई ती उद्योगसित जोडिएका चिया उत्पादक किसान र उनीहरूसित जोडिएका मजदुरसमेत ठुलो मारमा परेका छन् । उनीहरू सबैको रोजीरोटी खोसिएको छ । बालबालिकाको किताब, कापीमा समेत यसको नकारात्मक प्रभाव परेको छ । समयमै चिया निर्यातको बाटो खुलेन र अहिले मुना टिप्न पाइएन भने चिया उत्पादक किसान ठुलो ऋणमा डुब्नेछन् । 

यो अवरोध लम्बिँदै गए चिया उद्योग बचाउने विकल्प के हुन सक्छ ?
यतिखेर भारतीय मिडियाले नेपाली चिया गुणस्तर परीक्षणमा फेल भएको हल्ला फैलाएर हाम्रो गुणस्तरीय चियालाई बदनाम गराउँदै छन् । यस्तोमा प्रधानमन्त्री तहबाटै भारतसित कूटनीतिक संवाद गर्नुपर्छ । विदेशस्थित राजदूत र महावाणिज्य दूतहरूले आ–आफ्ना कूटनीतिक च्यानललाई सक्रिय बनाएर त्यहाँ बजार विस्तारको कोसिस गर्नुपर्छ । चीन चियाको ठुलो बजार भएकाले त्यता पनि पहल गर्नुपर्छ । युरोप, अमेरिकातिर पनि थप पहल गर्नुपर्छ । 

सुझावित समाचार