सुस्ताको घटनालाई लिएर संसद्‌मा हर्क साम्पाङको प्रश्न– रक्षामन्त्री कहाँ छन् ?

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सुस्तामा नेपाली नागरिकमाथि भारतीय सीमा सुरक्षा बलले दुर्व्यवहार गरेको भनिएको घटनाबारे संसद्‌मा सरकारको जवाफ माग गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले सुस्तामा देखिएको पछिल्लो  घटनाका सम्बन्धमा प्रधानमन्त्री उपस्थित नभए पनि रक्षामन्त्रीलाई संसद्‌मा बोलाएर स्पष्ट जवाफ दिनुपर्ने माग गरे। ‘प्रधानमन्त्रीज्यू आउनुहुन्न भने कम्तीमा रक्षामन्त्रीलाई सदनमा ल्याइयोस्। हामीसँग केही गम्भीर प्रश्न छन्,’ उनले सभामुखमार्फत आग्रह गरे।

साम्पाङले सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोहरू उल्लेख गर्दै सुस्तामा भारतीय सशस्त्र सीमा बलका सदस्यहरूले नेपाली नागरिकलाई हप्कीदप्की गरेको दाबी गरे। त्यस्ता गतिविधिले सीमावर्ती क्षेत्रका बासिन्दामा असुरक्षा बढाएको उनको भनाइ थियो।

उनले नेपाली भूमि र नागरिकको सुरक्षासम्बन्धी विषयमा सरकारले तत्काल धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याए। सीमासम्बन्धी संवेदनशील विषयमा संसद् र सरकारबिच स्पष्ट संवाद हुनुपर्ने उनको जोड थियो।

सुझावित समाचार