सभामुख डोलप्रसाद अर्यालले आइतबारको प्रतिनिधिसभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन गरेका छन् । प्रतिनिधिसभा सचिवको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन भएको हो ।
‘केही सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि–नोक्सानी एवं क्षति पुर्याउने कार्यसमेत गरेको व्यहोरा प्रतिनिधिसभा नियमावलीको नियम ३३(४) बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्कासमेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी संयोजक, संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्था महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको व्यहोरा जानकारी गराउँछु,’ उनले भने ।
प्रतिवेदन प्राप्त भएपछि नियमावलीको नियम ३३(४) बमोजिम आवश्यक कारबाही अगाडि बढाउने चेतावनी पनि सभामुख अर्यालले दिए । नियम ३३(४)मा बैठकमा आपत्तिजनक व्यवहार गरेर हानि–नोक्सानी पुर्याउने सांसदलाई १५ दिन निलम्बन र क्षतिपूर्ति भराउने व्यवस्था छ । आइतबारको बैठकमा प्रतिनिधिसभा नियमावली पारित गर्दा विरोधमा वेल घेराउ गरेका विपक्षी सांसदले सभामुखको आसनतर्फ जाने, टेबलमाथि चढ्नेलगायत गतिविधि गरेका थिए । यसमा सत्तापक्ष सांसदसमेत सामेल थिए ।
सोमबारको बैठकमा सभामुख अर्यालले बजेटको छलफलमा अगाडि बढ्नुपर्ने वेला विपक्षी बेन्चले सदन नचलाउन भनेको, तर संसद्मा नआएको गुनासो गरे । ‘हिजो पनि पटक–पटक संवाद गर्न बोलाएको थिएँ, समय दिनुभएन । आज पनि कार्यव्यवस्था परामर्श समिति बैठक बस्नका लागि सूचना गरेको थिएँ । समय दिनुभएन । सभामुखले गर्ने त्यही हो । सदन सञ्चालन गर्न दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतकसँग निरन्तर संवाद गर्न कोसिस गरेँ । त्यसमा सदस्यहरूले नजरअन्दाज गरेपछि सभामुखबाट प्रक्रिया रोकिँदैन । यो देशमा हामी सबै सदस्य कानुन निर्माणका लागि आएका हौँ । संविधान बनेको १० वर्ष पूरा भइसकेको र कानुन अझै नबनेको यहाँहरूले नै भनिरहनुभएको छ । त्यसोभए, यसैगरी कानुन बन्छ त सदस्यहरू ?’ उनले सोधे ।