आज शुक्रबार राति देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको चेतावनी बुलेटिन तथा ‘वार्निङ म्याप’ अनुसार तराई र पहाडी क्षेत्रका कतिपय स्थानमा हावाहुरीसँगै असिना पानी पर्ने सम्भावना छ।
महाशाखाले मौसमीय जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सतर्क रहन र मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिइरहन आग्रह गरेको छ। महाशाखाले तराई क्षेत्रका विभिन्न जिल्लालाई सुन्तला रङमा राखेको छ। ती क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्न सक्ने भएकाले सम्भावित भौतिक क्षति तथा दुर्घटनाबाट जोगिन पूर्वतयारी अपनाउन आग्रह गरिएको छ।
त्यस्तै, पहाडी क्षेत्रका धेरै भागलाई पहेँलो रङमा राख्दै मौसममा आउने परिवर्तनबारे निरन्तर जानकारी लिइरहन सुझाव दिइएको छ। उच्च हिमाली तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
हावाहुरी र असिनापानीका कारण यात्रा, कृषि कार्य तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। कच्ची घर, टहरा तथा खुला स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा बस्न र हावाहुरीका वेला अनावश्यक बाहिर ननिस्किन अनुरोध गरिएको छ।