मधेशकेन्द्रित दल इतिहासकै कमजोर स्थितिमा कसरी पुगे ?
विशेष परिस्थितिमा ०८४ मा हुनुपर्ने निर्वाचन २१ फागुनमै भयो, जुन हाम्रा लागि अप्रत्याशित र अनपेक्षित रह्यो । यद्यपि, निर्वाचनबारे विभिन्न कोणबाट विभिन्न प्रकारका शंका–उपशंका र प्रश्न उठी नै रहेका छन् । कालान्तरमा यसबारे प्रस्ट हुने नै छ । विषम परिस्थितिमा व्यवस्था जोगाउन निर्वाचनमा जानुपरेको थियो । साँच्चै मतदाताले यो स्थिति बनाउनुभएको हो वा अन्य कारण थिए भन्ने विषय कालान्तरमा पुष्टि हुँदै जानेछ । हामीले एउटा चुनाव हारेका हौँ । हामीले उठाएका राजनीतिक मुद्दा, हाम्रा एजेन्डा, सबैको साझा नेपाल बनाउने अठोट अझ दृढ संकल्पित भएर उठाउनेछौँ ।
मधेश सरकारबाट पनि बाहिरिने स्थिति कसरी बन्यो ?
मधेश प्रदेश सभामा सबैभन्दा ठुलो दल जसपा नेपाल नै हो । तर, कांग्रेस, एमाले र नेकपाले सिन्डिकेट गरेका कारण हामी सरकारबाहिर हुने स्थिति बनेको हो । पुराना पार्टीको सिन्डिकेटकै कारण ०८४ को निर्वाचन ०८२ मै भयो । तैपनि, उनीहरूले अझै चेतेको देखिएन । उनीहरूका लागि यो प्रत्युत्पादक हुनेछ । फगत सत्ताका लागि गरिएको गठबन्धन लोकतन्त्र र संविधानको मर्मविपरीत हो । हामी प्रदेश सभामा सशक्त प्रतिपक्षको भूमिका खेल्नेछौँ ।
मधेशकेन्द्रित दलबिच एकताको प्रयास कहाँ पुग्यो ?
मधेशका दुई ठुला दल जसपा नेपाल र लोसपाको एकता भइसकेको छ । हामी संगठनात्मक समायोजन प्रक्रियामा छौँ । भर्खरै सम्पन्न केन्द्रीय संयोजन समिति बैठकले रकम चेम्जोङ, रेणु यादव र म आफैँ रहेको वार्ता समिति गठन गरेको छ । पहिचानवादी दलसँग कार्यगत एकता, विचार मिल्ने दलसँग एकताका लागि पनि छलफल गर्दै छौँ । जनमत पार्टीसँग पनि एकताका लागि संवाद भइरहेको छ । मुलुक गम्भीर राजनीतिक संकटमा रहेकाले मुद्दा मिल्ने दलहरू एकताबद्ध भएर जानुको विकल्प छैन । पहिचानवादी, देशभक्त र लोकतान्त्रिक शक्तिबिच सहकार्य गर्दै अघि बढ्छौँ ।