लुम्बिनी विकास कोषको रिक्त पदमा नयाँ अनुहारको व्यक्ति छनाेट गरी पठाउन सरकारसँग स्थानीयले माग गरेका छन् । लुम्बिनी विकास कोषको रिक्त उपाध्यक्ष, कोषाध्यक्ष, सदस्यसचिव र योजना प्रमुख पदमा योग्य, विवादरहित र ऊर्जावान् व्यक्ति छनाेट गरी पठाउन लुम्बिनीवासीले माग गरेका छन् ।
‘वर्तमान सरकारले कोषको रिक्त पदमा पदपूर्तिका लागि आवेदन माग गरेकोमा अधिकांश पुराना व्यक्तिहरूले आवेदन भरेको जानकारी आएकाले सरकारले यसअघि नै लुम्बिनी विकास कोषसँग जोडिएर आर्थिक लाभ लिइसकेका व्यक्तिहरूलाई नियुक्ति प्रक्रियामा समावेश नगरी नयाँ अनुहारको छनाेट गरी पठाउन सरकारसँग माग गरेका छौँ,’ लुम्बिनी बचाऊ महाअभियानका सदस्य रामविकास चौधरीले भने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषका लागि आवेदन भरेकाको रोस्टर सार्वजनिक गरेको छ। जसमा ४६५ जनाले इच्छा देखाएका छन्। ‘लुम्बिनी विकास कोषभित्रको अनियमितताका विषयमा हामी पटकपटक सरकारसँग छलफलमा पनि बसेका छौँ । हामी लुम्बिनीमा नयाँ अनुहार देख्न चाहन्छौँ,’ चौधरीले भने।
लुम्बिनीमा एकपटक पसिसकेको व्यक्ति पुनः नियुक्ति भए लुम्बिनीवासीलाई सह्य नहुने उनले बताए। लुम्बिनी विकास कोषको गुरुयोजना कार्यान्वयन गर्न सक्ने सक्षम पदाधिकारी लुम्बिनीलाई आवश्यक रहेको स्थानीयको माग छ। लुम्बिनीमा काम गर्नेभन्दा पनि कसरी आर्थिक आम्दानी गर्न सकिन्छ भन्ने ध्येय राखेर पदाधिकारीहरू आउने गरेको लुम्बिनी विकास कोषका एक कर्मचारी बताउँछन्।
यहाँ आइसकेपछि पदाधिकारीहरूले कोषलाई बलियो बनाउनुभन्दा पनि कुन गुम्बासँग कसरी लाभ लिने, वैदेशिक भ्रमण कसरी गर्ने, आर्थिक लाभ कसरी लिने भन्ने मात्र सोच राख्दा ४५ वर्षसम्म पनि लुम्बिनी विकास कोषको गुरुयोजना पूरा हुन नसकेको ती कर्मचारीको भनाइ छ। धेरैको चाहना लुम्बिनी बनाऔँ भन्दा पनि कसरी व्यक्तिगत लाभ लिन सकिन्छ भन्ने आसय राखेर यसअगाडिका पदाधिकारीहरूले काम गरेको कारण ४५ वर्ष बितिसक्दा पनि लुम्बिनी गुरुयोजना पूरा हुन नसकेको कर्मचारीहरूकाे भनाइ छ।