सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। पक्राउको आधार र नखुलेको भन्दै न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो।
अनुसन्धानका लागि प्रचलित कानुनको अधीनमा रही विधिसम्मत रूपमा पक्राउ गर्न सकिने भए पनि पक्राउ स्वेच्छाचारी रूपमा हुन नहुने स्पष्ट पार्दै सर्वोच्चले भनेको छ, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति माग गर्दा र काठमाडाैं जिल्ला अदालतबाट अनुमति प्रदान गर्दा आधार र कारण खुलाएको देखिएन।’
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको सर्वोच्चले स्पष्ट पारेको छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी भएपछि देउवादम्पती अनुसन्धानका लागि सहयोग गर्न मन्जुर रहेको तथा क्षेत्राधिकारविहीन अदालतबाट पकाउ पुर्जी जारी भएको भन्दै सर्वोच्च गएका थिए।
‘...सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनुपूर्व काठमाडाैं जिल्ला अदालतबाट ०८२/१२/२४ मा पक्राउ पुर्जी जारी गर्न दिइएको अनुमति स्वतः निष्क्रिय हुने देखियो,’ आदेशमा भनिएको छ।