शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले ताप्लेजुङ र पाँचथरमा ठुलो क्षति पुर्याएको छ । ताप्लेजुङ र पाँचथर जोड्ने विभिन्न मोटरेबल पुल, झोलुंगे पुल, सडक तथा गाउँमा क्षतिपुगेको छ । ग्रामीण क्षेत्रमा जाने यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
तमोर करिडोरअन्तर्गत निर्माणको अन्तिम चरणमा रहेको ‘लिम्बुनी पुल’ बगाउँदा ठुलो क्षति भएको छ । ताप्लेजुङ र पाँचथर जोड्ने यो महत्वपूर्ण मोटरेबल पुल शनिबार बिहान करिब २:३० बजे आएको भीषण बाढीले पूर्ण रूपमा बगाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिए । पुल निर्माण सम्पन्न हुनै लागेको अवस्थामा बगाउँदा ठुलो क्षति हुन पुगेको उनको भनाइ छ । पूर्वी नेपालको समृद्धिसँग जोडिएको लिम्बुनी पुल उत्तर–दक्षिण राजमार्ग तमोर करिडोरको प्रमुख जीवनरेखा रहेको र सो मार्ग कालोपत्रे भइसक्न लागे पनि अहिले आठ वर्षमा पनि नबनेको पुल हो ।
त्यस्तै, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ४ साब्लाखु र पाँचथरको याङवरक गाउँपालिका– ४ थर्पु जोड्ने इन्द्रावती खोलामाथिको मोटरेबल पुलमा बाढीले क्षति पुर्याउँदा यातायात ठप्प भएको छ । शुक्रबार रातिको बाढीले पुलको साब्लाखुतर्फ करिब ६ मिटर भाग भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको हो । स्थानीय सञ्जय पन्दाकले पुलको पक्की संरचनासमेत जोखिममा परेको बताए । पुलमा क्षति पुगेपछि सिदिङ्वा गाउँपालिका तथा सिरिजंघा गाउँपालिकाको खेवाङ र याम्फुदिन क्षेत्रबाट सदरमुकाम फुङ्लिङ तथा पाँचथर, इलाम हुँदै लामो दूरीमा सञ्चालन हुने सवारीसाधन ठप्प भएका छन् ।
सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले साँझपछि इन्द्रावती खोलाको माथिल्लो क्षेत्रमा भारी वर्षा भएपछि अचानक बाढी आएको बताइन् । उनले सिदिङ्वातर्फ भित्रिने यात्रु तथा मालवाहक सवारीसाधनसमेत पाँचथरतर्फ नै रोकिएको जानकारी दिइन् । पाँचथरको याङवरक गाउँपालिकामा बाढी र पहिरोले ठुलो क्षति पुर्याएको छ । दोभाने खोला, तमोर खोला तथा मध्यपहाडी राजमार्गआसपासका क्षेत्रमा आएको बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा सर्वसाधारणका घरसमेत बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचरका प्रमुख डिएसपी अनिषकुमार कर्णले दोभाने खोलामा सञ्चालित जलविद्युत् आयोजनासहित दर्जनौँ संरचना प्रभावित भएको जानकारी दिए । याङवरक–३ र ७ को सीमावर्ती लाम्वाखोला ढाँड–एकराते क्षेत्रमा माथिबाट खसेको पहिरोले महमलाल खवास र कवीन्द्र खवासको घर बगाएको उनको भनाइ छ । बाढीले याङवरक– १, २ र ३ का विभिन्न खोलानालामा रहेका झोलुंगे तथा पक्की पुलमा समेत क्षति पुर्याएको छ । साथै, सडकमाथिबाट खसेको पहिरोका कारण मध्यपहाडी राजमार्गअन्तर्गत च्याङथापु–थर्पु सडकखण्ड अवरुद्ध बनेको छ ।