- कडा स्वरमा चर्किदै गुरुङले भने- ‘तपाईंले कसलाई धम्क्याएको ? के एमाले तपाईंको मात्र पार्टी हो ? के गर्न सक्नुहुन्छ ल गरेर देखाउनुस्’
लगातार राजीनामाको प्रसंग आएपछि शुक्रबारकाे सचिवालय बैठकको बिचमै आक्रोशित देखिएका एमाले अध्यक्ष केपी ओलीले राजीनामा नदिने अडान राखे । साथै, पार्टीको नीति र नेतृत्वविरुद्ध बोलेर विपक्षीलाई बल पुर्याउनेहरूलाई कुनै पनि जिम्मेवारी नदिइने बताएर अघोषित रूपमा कारबाहीको कडा चेतावनी दिएका छन् ।
ओलीले ‘पार्टीमा राम्रो र उपयुक्त जिम्मेवारी चाहिने भए पार्टी नीति, पार्टी हित र नेतृत्वको रक्षाका पक्षमा आवाज उठाउन र परिस्थितिको सही मूल्यांकन गरेर संकटबाट पार लगाउने भूमिका खेल्नुपर्ने’ धारणा राखेका थिए ।
राजीनामा र पुनर्गठनको विषयबाट उपाध्यक्षहरूलाई विषयान्तर गराउने प्रयास भएपछि उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टीमा सबैको योगदान उत्तिकै महत्वपूर्ण रहेको र अहिलेसम्म अनेकन् योगदान गरेरै पदाधिकारी तहसम्म आएकाले नधम्क्याउन भन्दै सजग गराएका थिए ।
गुरुङले जवाफ फर्काएपछि उनीहरूबिच केहीबेर नोकझोँक देखिने गरी सवाल–जवाफ नै चलेको एक नेताले बताए । ‘तपाईंले कसलाई धम्क्याएको ? के एमाले तपाईंको मात्र पार्टी हो ? के गर्न सक्नुहुन्छ ल गरेर देखाउनुस्,’ कडा स्वरमा चर्किएका गुरुङको जवाफ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘आजको एमाले तपाईंको योगदानबाट, तपाईंले मात्र बनाएको पार्टी हो कि, हाम्रो पनि उस्तै भूमिका छ ?’ गुरुङ प्रतिवादमा उत्रेपछि अरू नेताहरूको समेत आग्रहमा ओली केही मत्थर सुनिएका थिए ।