ब्याटरद्वय ईशान पाण्डे र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ मा शीर्ष स्थानको अमेरिकालाई १२२ रनले हराएको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३१८ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा अमेरिका ४१.२ ओभरमा अलआउट हुँदा मात्र १९५ रन बनायो।
यो खेलसँगै नेपालले घरेलु मैदानमा खेल्ने लिग– २ को खेल सकाएको छ। यो शृंखलामा नेपालले चारमध्ये तीन खेल जितेको छ। यसअघि नेपालले स्कटल्यान्ड र अमेरिकालाई नै हराएको थियो। स्कटल्यान्डविरुद्ध एक खेल हारेको थियो।
त्यसअघि युएई र ओमानसँग भएको शृंखलामा पनि नेपालले चारमध्ये तीन खेल जितेको थियो। लिग तालिकामा २८ खेलबाट ३८ अंकसहित अमेरिका शीर्ष स्थानमा छ। नेपाल समान खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ।
शुक्रबार अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ४४ बलमा ५६ रन बनाए। सायन जाहन्गिरले २७ तथा सेवामा जयासुरियाले २६ रनको योगदान दिए। नेपालका लागि सन्दीप लामिछानेले तीन तथा गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान दुई विकेट लिए। सोमपाल कामीले एक विकेट हात पारे।
त्यसअघि नेपालको इनिङ्समा ईशान पाण्डेले लगातार दोस्रो अर्धशतक बनाए। पाँचौँ नम्बर ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीले पनि आक्रामक अर्धशतक प्रहार गरे। ईशानले सर्वाधिक ८४ रन बनाए। उनले ८३ बलमै आठ चौका र एक छक्का हिर्काएका हुन्। तेस्रो नम्बर क्रिजमा आएका ईशानले यसअघि ६१ बलमा अर्धशतक बनाए। ईशानले दोस्रो खेलमै लगातार अर्धशतक बनाए। यसअघि अमेरिकाविरुद्ध नै इशानले अर्धशतक बनाएका थिए। ईशानले तीन खेलअघि मात्रै स्कटल्यान्डविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका हुन्।
यस्तै, पाँचौँ नम्बर क्रिजमा आएका दीपेन्द्रले पनि अर्धशतक बनाए। दीपेन्द्रले ३६ बलमा समान चार चौका र छक्कासहित ५९ रन बनाउँदा रनआउट भए। यसअघि दीपेन्द्रले मात्र २९ बलमा चार चौका र तीन छक्कासहित ५० रन बनाएका थिए।
यसअघि ईशान र कप्तान रोहितकुमार पौडेलले शतकीय अर्धशतक बनाएका थिए। दुई खेलाडीबिच ११० रनको साझेदारी भएको थियो। रोहितले ४६ रनको योगदान गरे। ५९ बलमा दुई चौका र एक छक्का हिर्काएका रोहितलाई मिलिन्द कुमारले एलबिडब्लू धरापमा पारेका थिए।
यसअघि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ६९ रनको साझेदारी गरेका थिए। आसिफले ४३ तथा कुशलले २९ रन बनाएका हुन्। यस्तै, गुल्सन झाले १२ बलमा १५ रन जोडे। आरिफ शेख १७ तथा नन्दन यादव एक रनमा अविजित रहे। सोमपाल कामी मात्र पाँच रन बनाएर आउट भए।
अमेरिकाका लागि सुभम रन्जनेले सर्वाधिक तीन विकेट लिएका थिए। रुसिल उगारकर र मिलिन्द कुमारले समान एक विकेट हात पारे।