पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरण धकेल्दै ओली

स्थानीय तहकेन्द्रित कार्यविभाजन प्रस्ताव गर्दै पार्टीलाई चुनावतिर मोड्ने प्रयास

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र निर्वाचन समीक्षाजस्ता महत्वपूर्ण मुद्दाहरू पछाडि धकेलेर एमाले अध्यक्ष ओलीले केन्द्रीय नेताहरूको कार्यविभाजन प्रस्ताव गरेका छन् । ओलीले ११औँ महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजन प्रस्ताव गरेर तत्काल पार्टी पुनर्गठन वा नेतृत्व हस्तान्तरणतिर नजाने प्रस्ट जनाउ दिएका छन् । स्थानीय तहकेन्द्रित कार्यविभाजन प्रस्ताव गरेर ओलीले पार्टीलाई चुनावतिर धकेल्ने रणनीति लिएका छन् । जेन–जी विद्रोह र २१ फागुनमा निर्वाचनमा इतिहासकै कमजोर प्रदर्शनपछि एमालेमा नेतृत्व हस्तान्तरणको बहस तीव्र भए पनि ओलीले पार्टी कमान्ड आफैँले राख्ने तयारी गरेका छन् । ओलीले नेताहरूको कार्यविभाजनसहितका एघार प्रस्ताव अध्ययनका लागि केन्द्रीय सचिवालयका नेतालाई वितरण गरेका छन् । शुक्रबार बिहान साढे ११ बजेबाट भक्तपुरको गुन्डुस्थित ओलीनिवासमा केन्द्रीय सचिवालय बैठक डाकिएको छ ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले समीक्षा प्रतिवेदन बनाएपछि जेठभित्र डाकिने केन्द्रीय कमिटी बैठकमा चुनावी समीक्षा गर्ने प्रस्ताव गरेका छन् । ‘मिसन लोकल इलेक्सन’ केन्द्रित कार्यविभाजनसँगै ओलीले पदाधिकारी तहका नेताको वरीयता पनि प्रस्ताव गरेका छन् । उपमहासचिव लेखराज भट्टले बैठकमा ११ वटा  एजेन्डामा छलफल हुने बताए । ४ जेठको बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो ।

पदाधिकारीको प्रस्तावित वरीयता
एमालेमा अध्यक्ष ओलीपछि पाँच उपाध्यक्षको वरीयता तोकिएको छ । जसअनुसार उपाध्यक्ष रामबहादुर थापा‘बादल’ पहिलो र रघुजी पन्तलाई पाँचौँ वरीयतामा रहने गरी प्रस्ताव गरिएको छ । दोस्रो वरीयतामा विष्णुप्रसाद पौडेल, तेस्रोमा पृथ्वीसुब्बा गुरुङ र चौथोमा गोकर्ण विष्टको वरीयता प्रस्तावित छ । 

महासचिव शंकर पोखरेल सातौँ वरीयतामा छन् । त्यसपछि आठौँमा उपमहासचिव लेखराज भट्ट छन् । उपमहासचिवभित्रको वरीयतामा भट्ट पहिलो, रघुवीर दोस्रो र योगेश भट्टराईलाई तेस्रो वरीयता प्रस्ताव गरिएको छ । त्यस्तै, ११औँ वरीयतामा सचिव छविलाल विश्वकर्मा छन् । उनको वरीयता सचिवहरूमध्ये पहिलो नम्बरमा छ भने १९औँ अर्थात् अन्तिम वरीयतामा रहेका महेश बस्नेत सचिवहरूमा पनि अन्तिम अर्थात् नवौँ नम्बरमा प्रस्तावित छन् । सचिवहरूमध्ये दोस्रो हुँदै क्रमशः आठौँ नम्बरसम्म पद्ममा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई र हिक्मत कार्की छन् ।

चुनावी समीक्षा प्रतिवेदन बनाउन बादल संयोजक 
अध्यक्ष ओलीले २१ फागुनमा सम्पन्न चुनावको समीक्षा प्रतिवेदन तयारीका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई संयोजक प्रस्ताव गरेका छन् । त्यस्तै, सदस्यहरूमा पृथ्बीसुब्बा गुरुङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप ज्ञवाली र आठै प्रदेशका इन्चार्जहरू तोक्ने प्रस्ताव गरिएको छ । केन्द्रीय कार्यालयमा प्राप्त प्रतिवेदनका आधारमा अर्को प्रतिवेदन बनाउने जिम्मा कार्यदललाई दिइएको छ । 

महासचिवको नेतृत्वमा ६ सदस्यीय केन्द्रीय कार्यालय टिम 
ओलीले महासचिव शंकर पोखरेलको नेतृत्वमा ६ सदस्यीय केन्द्रीय कार्यालय टिम बनाउने प्रस्ताव गरेका छन् । जसअनुसार सदस्यहरूमा भानुभक्त ढकाल, राजन भट्टराई, सूर्य पाठक, भीष्म अधिकारी र नीरज आचार्यको नाम प्रस्ताव गरिएको छ । 

ढकालको नेतृत्वमा ६ सदस्यीय संगठन विभाग 
संगठन विभाग प्रमुख भानुभक्त ढकाल रहने गरी विभागमा ६ सदस्यहरू प्रस्ताव गरिएको छ । जसअनुसार पार्वत गुरुङ, विशाल भट्टराई, सुजिता शाक्य, तिलकुमार मेयाङवो र माधव ढुंगेललाई रहनेछन् । 

पौडेलको नेतृत्वमा ६ सदस्यीय संविधान संशोधन कार्यदल 
ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा टीकाराम भट्टराई, अग्निप्रसाद खरेल, जुलीकुमारी महतो, महेश बर्तौला, कृष्णभक्त पोखरेल सदस्य रहने गरी ६ सदस्यीय संविधान संशोधन कार्यदल बनाउन प्रस्ताव गरेका छन् । 

ईश्वरलाई कमजोर विभाग, प्रदीपलाई विदेश, सुहाङ र सुनितालाई ‘मिसन लोकल इलेक्सन’
एमालेले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तुलनात्मक रूपमा सक्रिय भइरहनुनपर्ने कमजोर क्षेत्रको जिम्मेवारी प्रस्ताव गरेको छ । उनलाई पार्टीसम्बद्ध विभिन्न प्रतिष्ठान इन्चार्जको जिम्मेवारी प्रस्ताव गरिएको छ । पोखरेल ११औँ महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग पराजित भएका थिए । प्रायः पदाधिकारी तहका सिनियर नेताहरूले सम्हाल्ने विदेश विभाग प्रमुखमा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीलाई प्रस्ताव गरिएको छ । उनी पूर्वपरराष्ट्रमन्त्री पनि हुन् । महासचिवको उम्मेदवारीमा ओलीले नपत्याएपछि पछिल्लो महाधिवेशनमा ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका थिए । अन्तिमसम्म उपाध्यक्षमा मनाउन कोसिस गरिए पनि ज्ञवाली तयार भएनन् । त्यस्तै, इलामबाट निर्वाचित युवा सांसद सुहाङ नेम्वाङलाई इलाममै र काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोललाई काठमाडौंमै मिसन स्थानीय इलेक्सन संयोजनको जिम्मेवारी प्रस्ताव गरेको छ । 

मीनबहादुरलाई धन्यवाद दिँदै बल्खुमै कार्यालय बनाउने प्रस्ताव 
ओलीले पार्टीको पुरानो केन्द्रीय कार्यालयस्थल मदननगर बल्खुमै नयाँ केन्द्रीय कार्यालय भवन बनाउन प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतको पछिल्लो फैसलाले नदीकिनार नजिकका जमिन प्रयोग गर्न सकिने फैसला गरेको र पार्टीले गठन गरेको अध्ययन समितिले पनि आफ्नै जमिनमा पार्टी कार्यालय भवन निर्माण गर्न सम्भव भएको प्रतिवेदन दिएको कारण जनाउँदै ओलीले बल्खुमै भवन बनाउन प्रस्ताव गरेका हुन् । यस्तै, कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मीनबहादुर गुरुङलाई धन्यवादसहित प्रस्ताव फिर्ता गर्ने ओलीले बैठकमा छलफलका लागि तयार पारेको प्रस्तावमा छ । 

See More On

सुझावित समाचार